• ६ जेठ २०८१, आइतबार

राष्ट्रपतिले उद्घाटन गरेको ढुङ्गेधाराको कन्तबिजोग

blog

काठमाडौंको भृकुटीमण्डपस्थित मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका निम्ति बनाइएको ढुङ्गेधाराको उद्घाटन गर्नुहुँदै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

काठमाडौं, पुस ४ गते । काठमाडौंको भृकुटीमण्डपस्थित मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका निम्ति बनाइएको हो यो  ढुङ्गेधारा । राष्ट्रिय गौरवअन्तर्गतको बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा वितरणको औपचारिक सुरुवात यही धाराबाट भएको थियो ।

करिब तीन वर्ष अघि २०७७ चैत २० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले यस धाराको औपचारिक शुभारम्भ गर्नुभयो । मेलम्चीको दैनिक १७ करोड लिटर पानी वितरण हुने भएपछि काठमाडौंवासीमा खुसी त छाएको थियो नै, यससँगै भृकुटीमण्डप क्षेत्रमा हिँडडुल गर्ने यात्रुसमेत यसबाट लाभान्वित हुनेमा आशावादी थिए ।

पहिलो चरणमा आर्थिक वर्ष २०५५/०५६ मा आयोजनाको सुरुवाती लागत १७ अर्ब रुपियाँ अनुमान गरिए पनि करिब ३५ अर्बभन्दा बढी रुपियाँको लागतमा मेलम्ची आयोजना सम्पन्न भयो ।

वि.सं.२०७८ असार १ र १७ गतेको अकल्पनीय बाढीका कारण पानी वितरणमा समस्या भयो । तर मेलम्ची खानेपानी आयोजना विकास समितिले बर्खाको समयमा समेत मध्यकालीन समाधानमार्फत बाह्रै महिना पानी ल्याउने डिजाइनका साथ काम अघि बढेको बताउँदै आएको छ ।


त्यसो त गत असार २ गते वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनमा पुग्नुभयो । त्यतिबेला प्रधानमन्त्री प्रचण्डले मेलम्ची आयोजनालाई व्यवस्थित बनाउन सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी, तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ को चुनावी भाषणमा मेलम्चीको पानी काठमाडौं ल्याइदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तीन वर्ष अघि तत्कालीन राष्ट्रपति भण्डारीसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्री तथा सरकारका उच्चपदस्थ व्यक्तित्वको उपस्थितिमा सुरुवात भएको यसखाले सार्वजनिक सम्पत्ति बेवास्तामा पर्नु कतिको जायज छ ?

तामझामका साथ उद्घाटन भएको यो धारामा खिया लाग्न थालिसकेको छ । व्यापारिक प्रयोजनले भरिभराउ भृकुटीमण्डपमा यो धारा मुस्किलैले जो कोहीको आँखामा पर्न सक्ला, किनकि छायाँमा पर्दै गएको छ । रङसमेत उडिसकेको याे धारा प्रयोगविहीन बनेको छ ।

यो पनि पढ्नुहोस
Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।