• १४ मंसिर २०८१, शुक्रबार

नयाँ वृन्दावन धार्मिक पर्यटकीय स्थल बन्दै

blog

नयाँ वृन्दावनमा निर्माण गरिएको गाईको प्रतिमा । तस्विर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला

उर्लाबारी, मङ्सिर २९ गते । पश्चिम मोरङको सुन्दरहरैंचा –५ स्थित नयाँ वृन्दावन धार्मिक पर्यटनको रुपमा विकसित हुँदैगएको छ । नयाँ वृन्दावनको भौतिक एवम् धार्मिक महिमा उच्च भए पनि प्रचार प्रसार हुन नसकेको संरक्षक दीनबन्धु शास्त्रीले बताउनुभयो । 

नयाँ वृन्दावनको २०६५ सालमा स्वामी दीनबन्धु शास्त्रीले श्री राधेश्याम सेवा ट्रष्टको गठनगरी धार्मिक एवं पुरातात्विक महत्वको खोजी सुरु गर्नुभएको हो । बर्सेनी धार्मिक भ्रमणका नाममा हजारौं नेपाली भारतका चारधामको दर्शनमा जाने गरेका छन् ।

दर्शनका क्रममा लाखौं नेपाली रुपियाँ खर्च हुनेगरेको छ । त्यति मात्र होइन, धेरै नेपाली लुटिने पनि गरेका छन् । नयाँ वृन्दावन गौशाला भनेको नेपाली धार्मिक पर्यटकलाई नेपालमै रोक्ने र भारतीय पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित निर्माण भइरहेको शास्त्रीले बताउनुभयो । 

नयाँ वृन्दावन गौशालाको सबैभन्दा आकर्षण संसारको ठूलो गाईको प्रतिमा हुने शास्त्रीको भनाइ छ । उहाँका अनुसार जमिन सतहबाट १३ फिट अग्लो संरचना बनाएर त्यसमाथि ३६ फिट ३ इन्च अग्लो गाईको प्रतिमा निर्माण गरिएको छ । 

३९ लाख ३२ हजार रुपियाँमा निर्माण गरिएको बाच्छोसहितको गाईको प्रतिमा राखिसक्दा १ करोड ५० लाख रुपियाँ खर्च भएको छ । प्रतिमा बनाउनुभन्दा प्रतिमा राख्ने जग निर्माणमा धेरै खर्च भएको उहाँको भनाइ छ । 

इटहरी पूर्व कानेपोखरीसम्मको क्षेत्र धार्मिक महत्वले प्रसिद्ध भएको शास्त्रीको भनाइ छ ।  महाभारतमा उल्लेख भएका ठाउँहरू मोरङको यही भूगोलमा पर्ने बताउँदै उहाँले भीमचौरी, गोठगाउँ, विराटचौक, इन्द्रपुर, कानेपोखरीजस्ता ठाउँहरू महाभारतको कथासँग जोडिएका पवित्र भूमि भएको उल्लेख गर्नुभयो । 

यही भूगोलमा अझै पनि महाभारतकालीन गरगहना, हतियार, ढुङ्गाका प्रतिमाहरू भेटिने गरेको शास्त्रीको भनाइ छ । बूढीगङ्गा तटमा रहेको नयाँ वृन्दावन गौशालाले भारतको वृन्दावनको झल्को दिने मात्र होइन,  महाभारतकालीन ठाउँसँग जोडिएको यस क्षेत्रमा धार्मिक रुपमा सबैथोक छ ।

तर हामीसँग स्रोतसाधन छैन । पुरातात्विक महत्वका सामग्रीहरू संरक्षण भएको छैन । उहाँले भगवानको क्रीडास्थल भएकाले नयाँ वृन्दावनका लागि उक्त स्थानको छनाेट भएको बताउनुभयो । 

शास्त्रीका अनुसार नयाँ वृन्दावनमा हाल सामाजिक एवं धार्मिक अगुवाको सहयोगमा भौतिक संरचना निर्माण कार्य भइरहेको छ । कृत्रिम गर्भाधान र दूधको व्यापारले स्थानीय जातका गाईहरू हराउँदै गएकोप्रति उहाँले खबरदारी गर्दै भन्नुभयो, ‘नयाँ वृन्दावनको गौशालामा सबै स्थानीय जातका गाई मात्र पालिएको छ । 

उहाँले स्थानीय जातका गाई मासिन नदिन अभियान नै सुरु गरेको बताउनुभयो । हाल गौशालामा ४० वटा गाई छन् । हाल वृन्दावनमा धमाधम निर्माण कार्य भइरहेको छ । सुरुमा गोपालबहादुर न्यौपानेबाट प्राप्त १४ कट्ठा जमिनमा नयाँ वृन्दावनको निर्माण भएको थियो । 

हाल आएर दाताहरूले नै सोही जग्गामा जोडिएको जग्गा दान गर्नुभएपछि हाल १२ बिघा जमिनमा पूर्वाधार निर्माण भइरहेको छ । दुईवटा आश्रम निर्माण भइसकेका छन् । पाँच हजार भक्तजन अटाउने अनुष्ठान भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

यस्तै, पोखरीको वरिपरि उद्यान निर्माण सम्पन्न भएको छ । नयाँ वृन्दावनको मुख्य आकर्षणका रुपमा सबै गोत्रका प्रवर्धक ऋषिहरूको धातुको प्रतिमा निर्माण भइरहेको छ । हालसम्म १० ऋषिको प्रतिमा निर्माण गरी राख्ने काम सम्पन्न भएको छ ।   

वृन्दावनमा वैदिक गुरुकुलसमेत पढाइ हुनेगरेको छ । गुरूकुलमा देशभरका ४० जना बटुक आवासीय रुपमा अध्ययन गरिरहेका छन् । बालबालिकाका लागि अनाथालय र वृद्धाश्रम निर्माण गर्ने महत्वाकांक्षी कार्यक्रम रहे पनि निर्माण सुरु भएको छैन । आश्रममा विपन्न परिवारका बालक पढ्दै सामान्य काम सघाइरहेका छन् ।  

१५ वर्षको बिचमा १० करोड रुपियाँ पूर्वाधार निर्माणमा खर्च भएको छ । हालसम्म निर्माण भएका पूर्वाधारमा सरकारी सहयोग छैन । दाताहरूकै अनुग्रह हो, शास्त्रीले भन्नुभयो । 

नयाँ वृन्दावनमा दैनिक १२ देखि १५ सयसम्म धार्मिक पर्यटकहरू आउने गरेका छन् । स्वामी दीनबन्धु शास्त्रीले भन्नुभयो, “यहाँसम्म आउने सडक निर्माणमा नगरपालिकाले सहयोग गरेको छ । बूढीगङ्गा खोलामा तटबन्ध र विद्युत् प्रसारण लाइन विस्तारमा सरकारी सहयोग भएको छ । तर टाढाबाट आउने ठूलो टोलीलाई बस्ने व्यवस्था भइसकेको छैन ।” 

शास्त्रीले धार्मिक पर्यटनको प्रसस्त सम्भावना भए पनि पूर्वाधार सम्पन्न नभएकाले अप्ठ्यारो परिरहेको बताउनुभयो । अबको ४–५ वर्षपछि सबै पूर्वाधार तयार हुने उहाँले बताउनुभयो । त्यसपछि दैनिक पाँच हजार धार्मिक पर्यटक आउने अनुमान गरेको उहाँको भनाइ छ ।