सहदेव बस्नेत
जाजरकोट, मङ्सिर २७ गते। जाजरकोटको छेडागाड नगरपालिका ५ चंखीलमा इलाका प्रशासन कार्यालयको उद्घाटन भएको छ। नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले एक कार्यक्रमका कार्यालयको उद्घाटन गर्नुभएको हो।
कार्यालयको उद्घाटन गर्नु हुँदै मन्त्री बस्नेतले नागरिकलाई सङ्घीयताको सुन्दर प्रत्याभूतिको लागि यस कार्यालयले महत्त्वपूर्ण हुने बताउनुभयो। यस क्षेत्रका नागरिक अब नागरिकता लगायतको सरकारी कामकाजको लागि ऋण खोजेर सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो।
जाजरकोटको पश्चिम क्षेत्रका नागरिकका लागि बहुप्रतिक्षित यो कार्यालयको सुरुवातसँगै नागरिकमा निकै राहत पुगेको छ। आफ्ना घरको खाना खाएर पनि बिना खर्चमा नागरिकता लगायत सेवा पाउँदा आफूहरू निकै खुसी भएको स्थानीय मानबहादुर बुढाले बताउनुभयो।
यस कार्यालयबाट पश्चिम क्षेत्रका छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिकाका चार वटा वडाका नागरिकले नागरिकता लगायतका सेवा पाउने भएका छन्। यसरी आफ्नै गाउँघरबाट नागरिकता लगायतका सेवा पाउने भएपछि नागरिक अत्यन्तै खुसी भएका भएका छन्।
कार्यक्रममा पूर्व शान्तिमन्त्री सत्य पहाडीले नागरिकको राज्यको सेवा सुविधा सुलभ रूपमा पाउने अधिकार अन्तरगत यस कार्यालयले सेवा नागरिकलाई दिने विश्वास व्यक्त गर्नुभयो।
छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले इलाका प्रशासन कार्यालय स्थापनासँगै अब यस क्षेत्रका नागरिकका लागि चार हजार रुपियाँ खर्च गरेर सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो। यस सेवाले आफूहरूमा निकै सेवा पुग्ने थापाको भनाइ छ।
कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले नागरिकलाई नागरिकता लगायत सरकारी सेवा सुविधा घर दैलोमा दिन यो कार्यालयबाट सेवा सुचारु भएको बताउनुभयो। कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।