• ११ मंसिर २०८१, मङ्गलबार

उर्लाबारीमा चासोक तङ्नामको तयारी

blog

हरि कोइराला

उर्लाबारी, मङ्सिर २६ गते । लिम्बू समुदायको मुख्य पर्व चासोक तङ्नामको तयारी सुरु गरिएको छ । हरेक वर्ष धान्य पूर्णिमाको दिन मोरङको उर्लाबारीका लिम्बू समुदायले नयाँ अन्न खान सुरु गरेर चासोक तङ्नाम मनाउने गर्छन् । 

यो वर्ष चासोक तङ्नाम पुस १० गते मनाइँदै छ । उर्लाबारी –९ स्थित आम्बारीमा ५ दिने सांस्कृतिक कार्यक्रमसहित महोत्सवको आयोजना गरिन लागिएको किरात याक्थुम चुम्लुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बाले बताउनुभयो । कृषि उत्पादनको सुरुवात भएदेखि नै लिम्बु समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएका छन् । 

हिउँदमा अन्नबाली पाक्न थालेदेखि थन्क्याउने समयभरि यो चाड मनाइने गरिएको छ । चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुज्ने र  बाली उब्जाइदिने प्रकृति–जल, जमिन, वायु, अग्नि सूर्यलाई विशेष प्रकारले पूजा गरी चासोक तङ्नाम मनाउने गरिएको लिम्बू समुदायका अगुवा जीवन लिम्बूले बताउनुभयो । मानिसलाई बचाउने अन्नको सम्मान गर्ने विशेष दिन चासोक भएको उहाँको भनाइ छ । 

लिम्बू जाति अन्नलाई एक प्रकारले माङ् (देवता)नै मान्छन् । पैँयु फुल्ने समयमा चराहरू जाडो छल्न दक्षिणतिर लागेपछि उँधौली याम सुरु हुनेगर्छ । लिम्बू भाषामा ‘चासोक’को अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरा निङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नु भन्ने हुन्छ । तागेरानिङ्वाभुमाङ जल, जमिन, वायु, अग्नि वा सूर्यका जन्मदाता मानिन्छ । ‘तङ्नाम’ भनेको पर्व,चाड अर्थात् उत्सव भन्ने हुन्छ । 

लिम्बू मुन्धुमशास्त्र अनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङले काँचो कन्दमूल खोजी खाने गर्दथे । काँचो कन्दमूलबाट उन्मुक्ति पाउन उनै पुर्खाले तपस्या गर्नुभयो । यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर), क्यावो (फापर), फामु (कागुनी) लगायत बिज दिएको लिम्बूशास्त्रमा उल्लेख गरिएको छ । प्राप्त बिज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बू महिला) ले संरक्षण गरेर कृषियुगको सुरुआत गरेको लिम्बू समूदायको मान्यता छ । 

त्यसपछि मानिस खाद्यान्न पकाएर खान अभ्यस्त भएको लिम्बू समूदायको भनाइ छ । धान र कोदो पाकेपछि लिम्बू जातिले चासोक गर्नैपर्ने चलन छ । चासोक पूजा आ–आफ्नो घरमा फेदाङ्मा (लिम्बू पुरेत) बोलाई गर्ने गरिन्छ । 

फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुकार्दै नयाँ अन्न खान पाउने अनुमतिको माग गर्छन् । नयाँ अन्न खाँदा, रोगव्याध नलागोस्, स्वस्थ जीवन बाँच्न पाइयोस् भन्ने कामना पनि गरिन्छ । चासोकका बेला कलात्मकरूपमा चिटिक्कको पुतली झलक दिने धानका बाला बुनिन्छ । यसलाई घरको पनि शोभा बढ्ने गरी ढोकाको छेयेउमा झुण्ड्याउने गरिन्छ ।

मङ्सिर पूर्णिमाको दिन यसलाई सामूहिक रूपमा मनाउने चलन छ । यो समय पूर्वेली लिम्बू बस्ती चासोक तङ्नाममय हुने गरेका छन् । राई, सुनुवार र याक्खा जातिले समेत यो पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलन छ । 

चासोकको अवसरमा परम्परागत छेलो हान्ने, हाँडी फुटाउने, धनुष हान्ने खेलहरू खेलाइने गरिएको छ । लिम्बू समूदायले सामूहिक रुपमा धान नाच्ने गरेका छन् ।