• १२ साउन २०८१, शनिबार

पर्यटन ऐन संशोधन हुन्छ : राज्यमन्त्री सिर्पाली

blog

पर्यटकीय क्षेत्र टिमुरी तालको अवलोकन गर्नुहुँदै राज्यमन्त्री सिर्पाली ।

तिलाचन पाण्डे

तम्घास, मङ्सिर २५ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटकीय क्षेत्रको बिकासका लागि केही कानुनी अड्चन रहेकाले संशोधन गरिने बताउनुभएको छ । 

चन्द्रकोट गाउँपालिकामा चक्रेश्वर मेलाको उद्घाटन गर्दै मन्त्री सिर्पालीले कानुनी अड्चनहरु रहेकाले पर्यटन ऐनलाई संशोधन गर्नेगरी सरकार लागेको बताउनुभयो । 

पुराना ऐनले संघीयताको मर्मलाई बुझन नसक्ने भएकाले आवश्यकता अनुसार परिमार्जन गर्नुबाहेकको विकल्प नरहेको उहाँको भनाइ छ । यस्तै, मन्त्री सिर्पालीले संस्कृति  ऐन निर्माण गर्ने चरणमा रहेको बताउनुभयो ।  

नेपालमा संघीयता आएपश्चात् पर्यटन क्षेत्रले थप गति लिएको दाबी गर्दै सिर्पालीले पुराना संस्कृति र पर्यटकीय क्षेत्रको जगेर्नाको साथमा विकास आवश्यक रहेको बताउनुभयो । उहाँले विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणका क्रममा अध्ययन अनुगमन गरेर आफू पर्यटकीय क्षेत्रको विकासका लागि प्रतिबद्ध भएको बताउनुभयो ।

चन्द्रकोट गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । सोमबार बालाचतुर्दशीको अवसर पारेर राज्यमन्त्री सिर्पालीले पर्यटकीय क्षेत्रको अवलोकन गर्नुभएको हो । चन्द्रकोट गाउँपालिका –४ रेमीमा रहेको पर्यटकीय क्षेत्र टिमुरे ताल तथा वडा –१ मा रहेको धार्मिक तथा ऐतिहासिक स्थल दिब्रुङ्ग शिवालय मन्दिर, दिबु्रङ्ग दह, चक्रेश्वर मन्दिर लगायतका ठाउँको अवलोकन गर्नुभयो । 

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसी लगायतको जनप्रतिनिधिले मन्त्री सिर्पालीलाई स्वागत गर्दै चन्द्रकोटका महत्वपूर्ण एवम् सम्भावित पर्यटकीय क्षेत्रको भ्रमण गराउनुभएको थियो ।