• १२ साउन २०८१, शनिबार

राष्ट्रिय एकता र सुशासन कायम राख्न सरकार सफल : महासचिव गुरुङ

blog

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ । फाइल तस्बिर

भक्तपुर, मङ्सिर २५ गते । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले वर्तमान गठबन्धन सरकार राष्ट्रिय एकता र सुशासन कायम राख्न सफल भएको बताउनुभएको छ ।

आज भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको सञ्चार संवादमा महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले यसैगरी अगाडि बढ्दै देशलाई समाजवादतर्फ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

महासचिव गुरुङले भन्नुभयो,“देश सफल रूपमा अगाडि बढी रहँदा धार्मिक राज्य स्थापना गर्नेदेखि समाप्त भइसकेको सामन्तवादको ‘मुद्दा’ लिएर केही तत्त्व अस्थिरता र अराजकता फैलाइरहेका छन्, यसले देशलाई कमजोर बनाएर बाह्य हस्तक्षेप बढाएर सधैँ अस्थिरता कायम गर्न खोजिरहेका छन्, यसतर्फसचेत हुनुपर्छ ।”

मुलुकबाट भ्रष्टाचार, तस्करी, कमिसनतन्त्रको अन्त्य गर्दै सुशासन कायम गर्ने विषयमा गठबन्धन सरकारले नीति नै बनाएर अगाडि बढेको उहाँको दाबी थियो । सोही कारणले पछिल्लो समय धमाधम सुन तस्करी पक्राउ पर्न थालेको उहाँको भनाइ छ । महासचिव गुरुङले एनसेल शेयर खरिदबिक्री प्रकरणमा छानबिन गर्न सरकारले समिति नै गठन गरेको भन्दै दोषी उपर कारबाही भएरै छाड्ने दाबी गर्नुभयो । 

सरकारले आफ्ना कमीकमजोरीलाई सुधार गर्दै जनपक्षीय काममा अगाडि बढेर अराजक तत्त्वलाई विस्थापित गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले गणतन्त्रको स्थायित्वदेखि मुलुकको समग्र समस्या समाधानका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो । आवश्यकता अनुसार देशको व्यवस्था र प्रणालीलाई सुधार्दै लैजानुपर्नेमा जोड दिँदै व्यवस्था नै परिवर्तन गर्छु भन्ने अराजक तत्त्व असफल हुने बताउनुभयो ।

कम्युनिष्ट पार्टीहरूबिचको एकीकरणलाई मूर्तरूप दिन छलफल चलिरहेको बताउँदै महासचिव गुरुङले समाजवादी मोर्चालाई अगाडि बढाउने र मोर्चाभन्दा बाहिर रहेकालाई समेटेर संयोजन समिति बनाएर एकीकरण अगाडि बढाइने उहाँको भनाइ छ । रासस