• १२ साउन २०८१, शनिबार

प्रदेश निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयक पारित

blog

कोशी प्रदेश सभा । फाइल तस्बिर

विराटनगर, मङ्सिर २५ गते । कोशी प्रदेश सभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतिले पारित भएको छ । कोशी प्रदेशको प्रदेशसभा नियमावली (पहिलो संशोधन समेत), २०७४ को नियम १०८ बमोजिम मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले सो प्रस्ताव पेस गर्नुभएको थियो ।

सो विधेयक सम्बन्धित विषयगत समितिबाट दफावार छलफल भई सुशासन तथा योजना समितिका ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बूले सदनमा आइतबार पेस गर्नुभएको हो । प्रस्तावित विधेयकको कोशी प्रदेशसभाका सदस्य रेवतीरमण भण्डारी, नारायण बुर्जा मगर, कमला दर्नाल, गोम्बु शेर्पा, रामदेव यादव, भक्तिप्रसाद सिटौला र प्रदीपकुमार सुनुवारले उपादेयता, सान्दर्भिकता, सकारात्मक तथा नकारात्मक पक्षमा बोल्नुभएको थियो ।

विधेयकको विषयमा उठेका जिज्ञासाका सम्बन्धमा मन्त्री राईले मुलुकमा प्रशासनिक सङ्घीयतालाई सुदृढ एवम् बलियो बनाउन यो विधेयक आवश्यक छ भत्रुभयो । उहाँले विधेयकमा कुनै कमी तथा त्रुटि भएमा अविलम्ब सच्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

विशेष समय

नेकपा एमाले संसदीय दलका तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारीले नेकपा एमालेले मङ्सिर १४ गतेदेखि पश्चिम नेपालबाट थालेको समृद्धिको सङ्कल्प यात्राको सफलताको शुभकामना दिनुभयो । उहाँले यो यात्राले एकता, धार्मिक, सांस्कृतिक सद्भाव कायम राखी मुलुकमा विकास गर्न मद्दत पुग्ने बताउँदै मुलुकको अर्थतन्त्र सुधार गर्न सङ्घीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

शून्य समय

कोशी प्रदेशसभाका सदस्य खिनु लङ्वा लिम्बूले किसानले उत्पादन गरेको दूध र दुग्धजन्य पदार्थको बजार र बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । सदस्य गीतादेवी रेग्मीले उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित एक ग्यारेजमा भएको आगलागीको छानबिन गर्नुपर्ने माग गर्नुभयो । उहाँले यस किसिमको हानी-नोक्सानीबाट जोगाउन त्रियुगा नगरपालिकामा वारुणयन्त्र राख्ने व्यवस्था मिलाउन प्रदेश सरकारसँग माग गर्नुभयो ।

सदस्य गीत तिमल्सेनाले प्रदेशमा रिक्त रहेका पदमा सरकारले अविलम्ब पदपूर्ति गर्नुपर्ने माग गर्दै कोशी प्रदेशसभाको सभामुख छनौट गर्ने प्रक्रिया पनि अघि बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य तिलचन पाठकले विराटनगरको एक अस्पतालमा मृत घोषणा गरेको व्यक्ति जीवित नै रहेकाले यस विषयमा सरकारले छानबिन गर्नुपर्ने माग गर्नुभयो ।

अर्की सदस्य ललिताकुमारी चौधरीले सरकारले सामुदायिक विद्यालयमा व्यावसायिक प्रतियोगिता गराई विद्यार्थीहरूलाई स्वरोजगार हुने विषय लागू गर्नुपर्ने बताउनुभयो । सदस्य सपना दर्जीले विराटनगरको एक अस्पतालमा सुनसरी इनरुवा नगरपालिका-३ निवासी प्रताप सदालाई मृत घोषणा गरेको अस्पताललाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सभाको अर्को बैठक आगामी पुस ४ गते अपराह्न १ बजे बस्ने उपसभामुख सिर्जना दनुवारले जानकारी दिनुभयो । अपराह्ने १ बजे बस्ने भनिएको बैठक केही समय ढिला गरी सञ्चालन भएपछि बिचमा ३० मिनेटका लागि स्थगन भएको बैठक ३ः१० मा पुनः प्रारम्भ भएको थियो । रासस