• १९ असार २०८१, बुधबार

नगर प्रहरी र चालकमाथि हातपात गर्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

blog

फाइल तस्विर ।

लीलाधर वली

घोराही, मङ्सिर २५ गते । दाङमा नदीजन्य पदार्थ नियन्त्रण गर्न खोज्दा नगर प्रहरी र गाडी चालकमाथि हातपात भएको छ । लमही नगरपालिका–२ बटकहवास्थित राप्ती नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको ट्याक्टर नियन्त्रण गर्दा लमही नगरपालिकाका नगर प्रहरी छवि चौधरी, विनोद शर्मा र चालक मेघराज गिरीमाथि हातपात भएको हो  । 

राप्तीबाट आइतबार राती आठ बजेको समयमा बालुवा चोरी गर्दै गरेको रा १ त ४४३४ नम्बरको ट्याक्टरलाई नियन्त्रण गर्न खोज्दा हातपात भएको लमही नगरपालिका १ का अध्यक्ष दामोदर पौडेलले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, "रातीको समयमा राप्ती नदीबाट अवैध रूपमा नदीजन्य पदार्थको चोरी हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी र चालकमाथि आक्रमण भएको थियो ।"

हातपात गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । नगर प्रहरी चालकमाथि हातपात गर्नेलाई पक्राउ गरेर अभद्र व्यवहार गरेको आरोपमा मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, "नगर प्रहरी र गाडी चालकलाई हातपात गर्नेलाई पक्राउ गरेर अभद्र व्यवहारको मुद्धा चलाएको छौँ ।" 

पक्राउ पर्नेमा गढवा गाउँपालिका–५ का मनिराम चौधरी, सन्दीप चौधरी, संजिप चौधरी र नीरज चौधरी छन् । ट्याक्टरमा बालुवा लोड गरी लैजान लागेको अवस्थामा हातपात गरेर ट्याक्टर छोडेर चालक र बालुवा लोड गर्ने मजदुर भागेपछि नगरपालिकाको प्रहरी टोलीले नियन्त्रण लिएको थियो ।