• २१ वैशाख २०८१, शुक्रबार

दस कलाकारको चित्रकला

blog

काठमाडौँ, मङ्सिर २५ गते । हिलिङ जाजरकोटलाई निरन्तरता दिन, स्वस्तिश्री गुरुकुल आइबी वल्र्ड विद्यालयले चित्रकला प्रदर्शनीको आयोजना गरेको छ । देशका दस अग्रणी भिजुअल कलाकारले विद्यालय परिसरभित्र हिलिङ जाजरकोट विषयमा केन्द्रित रहेर चित्रकला बनाउनुभएको हो ।

कलाकार किरण मानन्धर, मुकेश मल्ल, सङ्गी श्रेष्ठ, एरिना ताम्राकार, आशा डङ्गोल, चिराग वाङ्देल, कपिलमणि दीक्षित, मनिषलाल श्रेष्ठ, सागर मानन्धर र सरिता डङ्गोलले आआफ्नो चित्र कोर्नुभएको हो । कलाकार किरण मानन्धरले यस्तो प्रदर्शनी केवल पैसाका लागि मात्र नभएर आफूमाथि नै परेको दुःख वेदना हो भनेर कलकारले बुझ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मैले यस्तो कार्यक्रम कलाकारले किन गर्नुभएन भनेर कल्पना मात्र गरिरहेको थियो तर आज स्वस्तिश्रीले सम्पन्न गर्‍यो । यस्तो कार्यक्रमले अवश्य नै जाजरकोटका भूकम्पपीडितको लागि केही मात्र भए पनि सहयोग पुग्ने छ ।” कलाकारहरूबाट सृजित चित्रकला पुस ७ गतेदेखि जिजी मचन रेस्टुरेन्ट, ललितपुरमा प्रदर्शनीमा राखिने विद्यालयको प्रधानाध्यापक नेहा केसीले जानकारी दिनुभयो । प्रदर्शनीमा बिक्रीबाट उठेको रकम जाजरकोट भूकम्पपीडितको सहयोगार्थ प्रयोग गरिने उहाँको भनाइ छ ।