• १२ साउन २०८१, शनिबार

नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ लोकार्पण

blog

नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ लोकार्पण गर्नुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर : सुजन गुरुङ

काठमाडौं, मंसिर २४ गते। नेपाली कांग्रेसको मुखपत्र 'नेपाल पुकार’ पुनः लोकार्पण भएको छ।  कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले सानेपास्थित बिपी स्मृति भवन केन्द्रीय कार्यालयमा आइतबार एक कार्यक्रम गरेर पुस्तक लोकार्पण गरेको हो।  

कार्यक्रममा सम्बोधन गर्नुहुँदै कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘नेपाल पुकार’ ले पार्टीको मुखपत्रको रूपमा २००७ सालदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। 

उहाँले भन्नुभयो, “नेपाल पुकार धेरै वर्षपछि विमोचन भयो त्यसका लागि सबैलाई धन्यवाद।  कांग्रेसको मुखपत्रको रूपमा २००७ सालदेखि नै नेपाल पुकारको महत्त्वपूर्ण भूमिका छ।  यति मात्र होइन, नेपाली कांग्रेसले भन्ने कुरा के हो भनेर नेपाल पुकार हेर्न गरेको कुरा इतिहासमा पढ्दा थाहा पाइन्छ। ” उहाँले सच्चा मानेमा पार्टीलाई कसरी लोकप्रिय बनाउने र जनस्तरसम्म समर्थनका लागि यो पुस्तक पढ्न लगाउनुपर्ने उहाँको भनाइ छ। 

कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यो पुस्तक अहिले पाँच हजार प्रति प्रकाशन भएको र केही समयभित्रै २० हजार प्रति छपाइ हुने बताउनुभयो।  यससँगै विभागले रेडियो, अनलाइन पोर्टल अगाडि बढाउने योजना रहेको उहाँको भनाइ छ। 

कांग्रेस महामन्त्री गगनकुमार थापाले यसखाले मुखपत्र जस्ता पुस्तकले सुशासनको पक्षमा जोडदार आवाज उठाउनुपर्ने भनाइ राख्नुभयो। 

थापाले भन्नुभयो, “नागरिक कुशासनले आजित भएका छन्।  यसअघि सुन, शरणार्थी काण्ड थियो त्यसपछि एनसेल काण्ड आयो।  एउटा सेलाउन नपाइ अर्को काण्ड आउँछ।  हामी सरकारमा भएको बेला, सरकार हाम्रो नियन्त्रण, प्रभावशाली भएको बेलामा कुशासनका घटना किन भइरहेको छ ? यसको जरामा के छ ? समस्या के छ ?” मुलुकले अर्थतन्त्र सुधारको अपेक्षा गरेको बेला त्यसतर्फ पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ।