• १२ साउन २०८१, शनिबार

राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता

blog

घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भएर स्वदेश फर्किनुभएपछि उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का । तस्बिर : उपप्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, मङ्सिर २४ गते। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्कनु भएको छ। 

मङ्सिर १८ देखि २० सम्म आयोजित सम्मेलनमा उपप्रधानमन्त्री खड्का नेपाली टोलीको नेतृत्व गर्दै सहभागी हुनुभएको थियो। टोलीमा रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाली सेनाका उच्च पदाधिकारीको सहभागिता थियो। 

सम्मेलनले अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी विविध विषयमा छलफल गरेको छ। सम्मेलनले हालसम्म भएका कामको समीक्षा गर्दै भविष्यका लागि मार्ग तय गर्ने र सदस्य राष्ट्रको तर्फबाट यस कार्यमा सहयोगसम्बन्धी प्रतिबद्धता समेत व्यक्त गरिएको थियो। 

‘पिस बिगिन्स विथ मि’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा विश्वभरका ९० देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो। सम्मेलनले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनलाई थप प्रभावकारी बनाइ विश्वशान्ति स्थापनाका लागि सहकार्य, समन्वय र सहयोग अभिवृद्धि गर्न जोड दिनुका साथै सम्मेलनमा व्यक्त गरिएका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनमा जोड दिएको थियो। 

अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वका लागि नेपालले सन् १९५८ देखि नै संयुक्त राष्ट्र सङ्घका विभिन्न शान्ति मिसनमा नेपाली शान्ति सैनिक खटाउँदै विश्व शान्तिका लागि महत्त्वपूर्ण योगदान दिँदै आएको छ। हाल १६ वटा शान्ति मिसनमा छ हजार दुई सय ७८ नेपाली शान्ति सैनिक कार्यरत छन्। अहिले नेपाल शान्ति सैनिक खटाउने दोस्रो ठुलो र महिला शान्ति सैनिक खटाउने मुलुकमा पहिलो स्थानमा छ। हालसम्म अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि विभिन्न शान्ति मिसनमा सेवारत रहँदा ८६ जना नेपाली सैनिकले वीरगति प्राप्त गरेको र ६६ जना घाइते भएका छन्। 

सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताका लागि संयुक्त राष्ट्र सङ्घले विशेष महत्त्व दिँदै सराहना गरेको थियो। सम्मेलनमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र सङ्घको सुधार प्रयासमा नेपाल सधैँ सकारात्मक र प्रतिबद्ध रहेको, महासचिवको ‘एक्सन फर पिसकिपिङ’को कार्यान्वयनमा सदैव तयार रहेको, सर्वसाधारणको सुरक्षाप्रति नेपाल सरकार र नेपाली शान्ति सैनिकहरू सदैव संवेदनशील रहँदै आएको  बताउनुभएको थियो। 

नेपाल सरकारले संयुक्त राष्ट्र सङ्घको आह्वानमा बिना कुनै सर्त विश्वका जुनसुकै द्वन्द्वरत मुलुकमा शान्ति सैनिक खटाउने गरेको उहाँको  भनाइ थियो। 

नेपाली शान्ति सैनिक अनुशासन एवम् कार्यसम्पादनमा अब्बल रहेको बताउँदै उपप्रधानमन्त्री खड्काले यौन शोषण र दुर्व्यवहारप्रति नेपालले शून्य सहनशीलता नीति अवलम्बन गर्दै आएको जानकारी गराउनुभयो। 

उपप्रधानमन्त्री खड्का मङ्सिर १७ गते राति घाना जानु भएको थियो।