• १९ वैशाख २०८१, बुधबार

मौसम परिवर्तनले निमोनियाकाे सम्भावना बढी हुन्छ: डा. लामिछाने

blog

काठमाडौं, मङ्सिर २४ गते । नेपालमा बालबालिकामा सबैभन्दा बढी हुने स्वास्थ्य समस्या निमोनिया हो । निमोनिया सबै उमेर समूहका मानिलाई हुने चिकित्सक बताउँछन् । बाल रोग विशेषज्ञ डा. मिरा लामिछानेका अनुसार नवजात शिशु, पाँच वर्षका बालबालिका, वृद्धवृद्धा, रोगप्रतिरोधात्मक क्षमता कम भएका बालबालिकालाई निमोनियाले बढी दु:ख दिन्छ । यो समस्या जुनसुकै मौसममा पनि हुने गरेपनि मौसम परिवर्तन हुँदा कीटाणु सक्रिय हुने हुँदा बढी दु:ख दिने चिकित्सक बत्ताउँछन् । 

बाल रोग विशेषज्ञ डा. लामिछानेका अनुसार निमोनिया फोक्सोमा हुने सङ्क्रमण रोग हो । निमोनिया ब्याक्टेरिया, फङ्गल र भाइरसको कारणले हुने बालरोग विशेषज्ञ डा. लामिछाने बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “निमोनिया ब्याक्टेरिया, फङ्गल र भाइरस जस्ता कीटाणुले हुने गर्छ । श्वास लिँदा चिसो हावाका माध्यमबाट कीटाणु फोक्सोमा पुगी सङ्क्रमण भई निमोनिया हुन्छ ।” डा.लामिछानेका अनुसार उच्च ज्वरो आउने, छिटो छिटो सास फेर्ने, कोखा हार्ने, बच्चाले दुध चुस्न नसक्ने, नाक थुनिएर मुखबाट सास फेर्ने जस्ता निमोनियाका प्रमुख लक्षणहरू हुन् । 

निमोनियालाई हेलचेक्राइँ गर्दा छातीमा सङ्क्रमण फैलिएर मृत्युसमेत हुनसक्छ । निमोनिया सुरुवाती चरणमा उपचार गरेमा छिटो निको बनाउन सकिन्छ । यदि उपचारमा ढिला गरेमा फोक्सोमा पानी जम्ने, पिप जम्ने, फोक्सोमा सङ्क्रमण फैलिएर अक्सिजन कम भई अस्पतालमा भर्ना गरी अक्सिजन बाफ चढाउनुपर्ने अवस्था सिर्जना हुने डा.लामिछाने बताउनुहुन्छ ।  

उहाँ भन्नुहुन्छ, “निमोनिया बिग्रियो भने औषधिले काम नगरी आइसियु भेन्टिलेटरमा राखेर औषधि नसाबाट चढाउनुपर्ने हुन्छ ।” 

डा.लामिछानेका अनुसार बालबालिकालाई निमोनियाबाट बचाउन चिसोबाट बचाउने, तातो झोलिलो  खानेकुरा खुवाउने, नवजात शिशुलाई बेलाबेला दुध चुसाउने र बच्चालाई न्यानो बनाएर राख्नुपर्छ । 

बालबालिकाहरूलाई बढी मात्र देखिने निमोनिया के हो?, निमोनिया हुनुका कारण, लक्षण, निमोनियाबाट बालबालिकालाई कसरी बचाउनेलगायतका विषयमा केन्द्रित भई गोरखापत्र अनलाइनका लागि बालरोग विशेषज्ञ डा.मिरा लामिछानेसँग गरिएको भिडियो संवाद :

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।