• १२ मंसिर २०८१, बुधबार

उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

blog

फाइल तस्विर ।

काठमाडौं, मङ्सिर २४ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँका निजी चिकित्सक डा‍‍‍.सुरज बज्राचार्यका अनुसार उहाँलाई आइतबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । 

अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको डा. बज्राचार्यले जानकारी दिनुभयो । डा. बज्राचार्यले भन्नुभयो, "आज उहाँलाई डिस्चार्ज गरिएको छ । अहिले उहाँको स्वास्थ्य स्थिति सामान्य छ । केही दिन आराम गरेपछि उहाँ नियमित काममा फर्किन सक्नुहुन्छ ।" 

उहाँलाई गत मङ्गलबार राति छातीमा असहज महसुस भएपछि शहीद गङ्गालाल हृदयरोग केन्द्रमा लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको थियो । सचिवालयका अनुसार यसअघि चीन भ्रमणको क्रममा उहाँको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो ।

यस्तै, गृह मन्त्रालयका सहसचिव/प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ती जारी गर्नुहुँदै उपचारमा संलग्न हुनुभएका डा. अरुण मास्के सहितको चिकित्सक टोली,नर्सहरु र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक लगायत अस्पताल परिवारप्रति आभार व्यक्त गर्नुभएको छ । 

साथै, मन्त्री श्रेष्ठ उपचाररत रहँदा अस्पतालमा पुगी स्वास्थ्य लाभको कामना गर्नुहुने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड),राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, पूर्व राष्ट्रिपति विद्यादेवी भण्डारी, मन्त्रीहरु लगायत राजनीतिक, प्रशासनिक र कुटनीतिक क्षेत्रका व्यक्तिहरु एवम् विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्नुहुने शुभचिन्तकहरुमा सचिवालयले धन्यवाद व्यक्त गरेको छ ।