• १४ फागुन २०८०, सोमबार

जाडोमा सिओ ग्यासको जोखिम

blog

गाउँघरमा मात्र होइन, सहरबजारमै चिसो बढेसँगै कोही शौचालयमा, कोही कोठामा त कोही सडकपेटीमै मृत्यु भएको समाचार सुन्नु पर्छ । तराईमा बाक्लो हुस्सु पर्नुका साथै शीतलहर पनि आउँछ । यस्तो बेला सरोकारवाला निकायले कर्मकाण्डी रूपमा हरेक वर्ष दाउरा, कम्बल र खाद्यान्न बाँड्न सुरु गर्छ । तथापि प्रभावितहरूको अवस्था जस्ताको तस्तै रहने गरेको छ । जाडोबाट सबै प्रभावित भए पनि कमजोर तथा विपन्नमाथि धेरै असर पर्छ । ज्यानै लिन्छ । 

पहाडमा हिमपात र तराईमा शीतलहर सुरु भएपछि एकसरो लुगासमेत नपाउने गरिब जनता अझ बुढाबुढी, बालबालिका र महिलाका लागि चिसो अभिशाप बन्छ । मधेशमा अधिकांश समय गर्मी हुने भएकाले जाडोका लागि जोहो गरिँदैन । दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरूसँग नयाँ लुगा किन्ने क्षमता हुँदैन । भएको एकसरो लुगा पनि शीतलहरले चिसो हुन्छ । घाम लाग्ने त कुरै हुँदैन । काम पनि पाउँदैनन् । यसले खानपान र न्यानो लुगा पाउनबाट उनीहरू वञ्चित हुन्छन् । त्यसैले न्यानो बनेर बस्न खोज्दा निसास्सिएर धेरै जनाको ज्यान गएको दुःखद खबर सुन्नु पर्छ । 

चिसो मौसममा इन्फ्लुयन्जा, क्षयरोग र निमोनिया जस्ता सरुवा रोगका बिरामी बढ्छन्  । बसभित्र कोचाकोच गरी यात्रा गर्नुपर्ने बाध्यताले पनि एक व्यक्तिबाट अन्यमा विभिन्न रोग सर्छन् । छतमा यात्रा गर्नेहरूमा निमोनियाको जोखिम हुन्छ । हरेक १० जनामध्ये छ जनामा क्षयरोगका जीवाणु मात्र नभई श्वासप्रश्वास र सम्पर्कबाट अनगिन्ती रोगहरू यस्तो भिडभाडमा सर्छन् । भनिन्छ चिसोको हिसाबले पुस महिना फासफुस र माघ महिना बाघ हो । त्यसैले यस्तो बेला कति पीडित बन्छन् र ज्यान गुमाउँछन् भन्नै सकिँदैन । 

अत्यधिक चिसो र शीतलहरले शरीर कमजोर भएकाहरूमा झाडापखाला, निमोनिया हुन सक्छ । टाउको र छाती दुख्न सक्छ । हातखुट्टाका औँला र कान रातो हुन सक्छ । चिलाउने, सुन्निने र कहिलेकाँही घाउ हुन सक्छ । रुघाखोकी, दम र यसका जटिलताहरू देखिन सक्छ । छालासम्बन्धी समस्याहरू जस्तै दाद, अनुहारमा सेतो दाग, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, छाला सुक्खा हुने, फुस्रो हुने, फुट्ने पनि हुन सक्छ । चिसोको एलर्जी हुने, अपच, पखाला, आउँ जस्ता पाचनसम्बन्धी रोगहरू लाग्न सक्छ । हातखुट्टा र जोर्नी सुन्निन सक्छ । मुटु, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई चिसोले बढी सताउन सक्छ । शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात हुने सम्भावना हुन सक्छ । कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने र बालबालिकामा दादुरा, ठेउला पनि हुन सक्छ । 

जाडोमा शारीरिक सरसफाइको कमी हुनाले गुप्ताङ्गमा फोहोर जम्ने, कापमा सङ्क्रमण हुने, योनिबाट सेतो पानी बग्ने, यौनाङ्ग वरिपरि चिलाउने योनिरसको बहाव बढ्ने हुन सक्छ । मौसम भोजभतेरको समय पनि भएकाले बढी खाना, बोसो र गरिष्ठ खानाले अपच, ग्याष्ट्राइटिस, झाडापखाला हुन सक्छ । जन्डिस र टाइफाइड पनि धेरैलाई हुन सक्छ यो समयमा । जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप पनि बढ्न सक्छ । 

शरीरको भित्री तापक्रम ३० डिग्री सेल्सियसभन्दा कम हुन गई उत्पन्न हुने समस्यालाई हाइपोथर्मिया वा शिताङ्ग भनिन्छ । तुरुन्तै उपचारको जरुरत पर्ने यो एउटा मेडिकल इमरजेन्सी हो । शरीरको तापक्रम ३२ डिग्री सेल्सियस पुग्दासम्म शरीरले अनुकूल काम गर्दछ तर त्योभन्दा कम भए शरीरमा अक्सिजनको परिपूर्तिमा ह्रास तथा कार्बनडाइअक्साइडको मात्रामा वृद्धि भई शरीर काम्नुको साटो मांसपेशी कडा हुने, निदाउने, धमनी सङ्कुचन हुन्छ । रक्तचाप, मुटुको चाल र श्वासप्रश्वास घट्दै जान्छ । प्रभावित व्यक्तिलाई उपचारको क्रममा प्राथमिक उपचारको अपरिहार्य महìव छ । न्यानोपन नै प्रमुख उपचार हो । 

बन्दकोठामा हिटर बाल्दा अक्सिजनको कमी हुन्छ । वातावरणमा भएको आद्रता घटाउँछ । श्वासनलीको भित्री भागमा हुने म्युकस लेयरलाई सुक्खा बनाउँछ । म्युकस सुक्खा हुँदा विभिन्न ब्याक्टेरिया, भाइरसहरू सिधै फोक्सोमा छिर्न सक्छन् । लामो समय हिटर बाल्दा खकार सुक्खा बनाउने, नाक सुक्खा, बन्द, पिनासको समस्या पनि आउन सक्छ । म्युकस लेयर सुन्निँदा दम, ब्रोन्काइटिसका समस्या देखिन सक्छ । खकार सुक्खा भए शरीरभित्रै खकार टाँसिने र अक्सिजन नली बन्द तथा निमोनियाको खतरा पनि बढाउँछ ।  

सहरी क्षेत्रमा करोडौँ खर्चेर बनाइएका अधिकांश पक्की घरमा भेन्टिलेसन राखिएको हुँदैन । संरचनागत यो सानो त्रुटिले ठुलो मानवीय क्षति भइरहेका छन् । प्रहरीको तथ्याङ्कमा हरेक जाडोमा कोठामा हिटर, कोइला बालेर सुत्दा अक्सिजन कम भएर बर्सेनि १५ जनाभन्दा बढीको मृत्यु हुने गरेको छ । विगत पाँच वर्षमा ३८ जनाले अनाहाकमा यसरी नै ज्यान गुमाएका छन् । प्रहरीमा नआएका यस्ता घटना अझ कति होलान् । 

कुनै पनि इन्धन प्राकृतिक ग्यास, प्रोपेन, पेट्रोल, तेल, मटितेल, काठ वा कोइला डढाउ“दा कार्बनमोनोअक्साइड (सिओ) ग्यास उत्पन्न हुन्छ । पेट्रोल, डिजल, ग्यासबाट चल्ने इन्जिन तथा स्टोभ, हिटिङ सिस्टमलगायतका उपकरणबाट सिओ ग्यास निस्कन्छ । वाटर हिटर, कुकर जस्ता उपकरण गलत तरिकाले राख्दा तथा रेखदेख नहुँदा पनि सिओ ग्यास निस्केर कोठमा जम्मा हुन्छ । सिओ रङ्गहीन, गन्धहीन त्यस्तो विषालु ग्यास हो, जसलाई न देख्न सकिन्छ न त चाख्न वा सुघ्न सकिन्छ । 

सिओको सामान्य सम्पर्कमा आउँदा सुरुसुरुमा अलि अलि टाउको दुख्छ । निरन्तर सम्पर्कमा रहदा तीव्र टाउको दुखाइ, रिङ्गटा, थकान, वाक्वाकी, चिटचिट हुने जस्ता समस्या देखिन सक्छ । त्यस्तै निर्णय क्षमता, स्मरण शक्ति र अङ्गमा तालमेलको कमी हुन्छ । स्नायु तन्त्रमा दीर्घकालीन हानि, सिक्ने र सम्झने क्षमतामा अभाव हुन्छ । प्रारम्भिक लक्षणहरूमा ध्यान नदिँदा प्रभावित व्यक्ति बेहोसीको अवस्थामा जान्छ तर कहिलेकाहीँ बिना कुनै लक्षण बेहोस हुन सक्छन् । न्यून मात्राको सिओको निरन्तर सम्पर्कमा रहँदा वा एकै पटक धेरै मात्रामा सम्पर्कमा रहँदा स्रोत हटाएपछि पनि स्वास्थ्यमा दीर्घकालीन नोक्सान पुग्न सक्छ ।

रगतमा सिओ नाप्न मिल्ने गरी छोटो समय मात्र रहन्छ, तुरुन्तै निस्किहाल्छ । रगतमा सिओको मात्रा ३० प्रतिशत पुग्दा टाउको दुख्ने, थकाइ लाग्ने हुन्छ, ४० प्रतिशत पुग्दा बेचैनी बढ्छ । रगतमा सिओको मात्रा ६० प्रतिशत हुँदा मान्छेले चेतना गुमाउँछ, बेहोस बन्छ र मात्रा ८० प्रतिशत पुग्दा मानिसको मृत्यु हुन्छ । 

चिसोका कारण उत्पन्न हुन सक्ने रोगको समस्यालाई न्यून गर्ने तथा लाग्न नदिन भने धुवाँ धुलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसम अनुसारका ताजा फलपूmल तथा सागपात खानु पर्छ । सरसफाइमा बढी ध्यान दिनु पर्छ । प्रशस्त मात्रामा झोल पदार्थ खानु पर्छ । धुलो, धुवाँ, चिसो र सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क लगाउनु पर्छ । जाडोबाट बच्न पूरै झ्याल ढोका बन्द गरी बाथरुममा नुहाउँदा, कोठामा आगो बाल्दा विषालु ग्यासले बढी मानवीय क्षति हुन सक्छ । त्यसैले सबै जना यस्तो काममा सचेत हुनु पर्छ ।   

Author

डा. प्रकाश बुढाथोकी