• १२ साउन २०८१, शनिबार

फेरियो तानसेन डबलीको मुहार

blog

सरसफाइपछि फेरिएको तानसेन डबली । तस्विर : विन्दु थापा

बिन्दु थापा 

पाल्पा, मंसिर २३ गते । तानसेनको बतासेडाँडाको ‘श्रीनगर सांस्कृतिक डबली’ चिटिक्क बनेको छ ।  गोरखापत्रमा प्रकाशित समाचारपछि तानसेन नगरपालिकाले डबलीको सरसफाइ गरेपछि डबलीको मुहार फेरिएको हो ।

स्थानीय जाति, समुदायको मौलिक सांस्कृतिक प्रदर्शन गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सांस्कृतिक डबली (खुल्ला नाचघर) को निर्माण गरिएको थियो । 

सांस्कृतिक डबलीभित्र स्टेडियम, कफी हाउस, पार्किङस्थल, बाउण्ड्री, बस्ने स्थल, हरियाली बगैँचा निर्माण गरिएको छ । डबलीभित्र स्वास्थ्य जाँच केन्द्र, टिकट घर तथा सुरक्षा गार्ड बस्ने घरको निर्माण भएको छ । सांस्कृतिक डबलीभित्र बसेर पाँचसय जना मानिसले विभिन्न जातजाति तथा भाषाभाषीको नाच तथा सांस्कृतिक प्रस्तुति अवलोकन गर्न सक्ने तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । 

 जिल्लाभित्र भित्रिने आन्तरिक तथा बाह्य मुलुकका पर्यटकलाई लक्षित गरेर सांस्कृतिक डबलीको निर्माण गरिएको भए पनि उचित संरक्षण नहुँदा डबलीमा झार उम्रिएको थियो । डबली सञ्चालनले जिल्लाभित्र पर्यटक आकर्षित गर्न सहयोग पुग्ने तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिनुभयो । 

कार्कीले भन्नुभयो, “सांस्कृतिक डबली सञ्चालनपछि स्वदेश तथा विदेशबाट पर्यटक आवागमनमा बृद्धि हुने र आन्तरिक रोजगारी समेत बढ्ने अपेक्षा गरिएको छ । सांस्कृतिक डबलीभित्र लोप हुँदैगएका जातजातिको नाचको प्रदर्शन गर्न सके परम्परागत संस्कृतिको संरक्षण हुने र त्यसबाट जिल्लाको पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।”