• २१ वैशाख २०८१, शुक्रबार

विद्यार्थीद्वारा गुरु अभिनन्दित

blog

काठमाडौँ, मङ्सिर २३ गते । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नंं ९ आरुबारीमा अवस्थित अरुणोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक पुरुषोत्तमप्रसाद ढुङ्गानालाई अभिनन्दन गरिएको छ ।

ढुङ्गानालाई शनिबार सोही विद्यालयका पूर्व विद्यार्थीहरूको संस्था ‘अरुणोदय पूर्व विद्यार्थी समाज’ का तर्फबाट ढुङ्गानाले सो विद्यालयको शैक्षिक स्तर उकास्न र शिक्षणकार्यलाई पेसाका रूपमा नलिई सामाजिक जिम्मेवारीका रूपमा ग्रहण गरेर सेवा गरेबापत अभिनन्दन गरिएको हो ।


वि.सं. २००५ सालमा आरुबारीमा माता भीमकुमारी ढुङ्गाना र पिता डोलकेश्वर ढुङ्गानाका पाँचौँ सन्तानका रूपमा जन्मनुभएका ढुङ्गाना २०२८ सालदेखि विद्यालयमा शिक्षकका रूपमा प्रवेश गर्नुभएको थियो । उहाँले २०३७ फागुनदेखि २०६२ श्रावणसम्म प्रधानाध्यापकका रूपमा सेवा गरी सो विद्यालयलाई उपत्यकाकै नमुना सामुदायिक विद्यालयका रूपमा स्थापित गर्न ठुलो योगदान दिनुभएको छ ।

आफ्नो कार्यकालमा निम्नमाध्यमिक तहसम्म मात्र पढाई हुने अरुणोदयलाई निजी स्रोतबाट माध्यमिक तहको अध्यापन कार्य सुरु गराउनुभएका ढुङ्गानाले सो क्षेत्रका शिक्षित र सरकारी सेवामा रहेका विषयगत व्यक्तित्वहरूलाई स्वयंसेवी शिक्षकका रूपमा सेवा गराउन सफल हुनुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक भए पनि शिक्षण कार्यलाई निरन्तरता दिनुभएका ढुगानाको कार्यकाल विवादरहित, निष्पक्ष, निर्भीक, पारदर्शी र जनउत्तरदायीपूर्ण रहेको अहिले पनि चर्चाको विषय बन्ने गरेको छ । 

पूर्व प्रधानाध्यापक ढुङ्गानालाई समाजका पदाधिकारी लगायत सोही विद्यालयका पूर्व विद्यार्थी तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, काठमाडौँ क्षेत्र नं. ३ का प्रतिनिधिसभा पूर्व सदस्य कृष्ण राई, गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष राजीव थापाले अभिनन्दन गरेका थिए ।

अनौपचारिक रूपमा ढुङ्गानाको निवास आरुबारीमा सम्पन्न समारोहमा अरुणोदय पूर्व विद्यार्थी समाजका अध्यक्ष त्रिलोचन पौड्याल, उपाध्यक्ष रूपक थापा, सचिव यादव देवकोटा, कोषाध्यक्ष सुभाष आचार्य लगायत पदाधिकारी तथा साधारण सदस्यहरूको बाक्लो उपस्थिति थियो ।