• १९ असार २०८१, बुधबार

किसानले पाएनन् दुधको २२ करोड भुक्तानी

blog

फाइल तस्बिर

चितवन, मङ्सिर २३ गते । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्रीबापतको २२ करोड रकम पाउन सकेका छैनन् । यहाँ रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले दूधको मूल्य पाउन नसकेका हुन् ।

असोजदेखिको भुक्तानी रकम नपाउँदा किसान चिन्तित बनेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले बताउनुभयो । उहाँले भन्नुभयो, “दुग्ध विकास संस्था र निजी दुग्ध उत्पादक कम्पनीले दुध गलेबापतका रकम अहिलेसम्म नदिँदा किसानलाई समस्या भएको छ ।” हरेक १५-१५ दिनमा दुधको भुक्तानी पाउनुपर्ने भए पनि लामो समयसम्म दुधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसानले पशुलाई आहार खुवाउनसमेत कठिन बन्दै गएको उहाँको भनाइ छ ।

दुग्ध विकास बोर्डबाट यहाँका किसानले ११ करोड, पोखरामा रहेको सुजल डेरी उद्योगले दुई करोड र अन्य निजी डेरी कम्पनीको गरेर २२ करोड रकम बाँकी छ । यहाँ दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन हुँदै आएको बगालेले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दुध खपत हुन कठिन भएको छ, तर जेनतेन गइरहेको छ ।”

यहाँ उत्पादित दुधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ । अन्य दुध जिल्लामै खपत हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “किसानले भुक्तानी नपाउँदा समस्या भएको छ, अन्य जिल्लामा ‘मिल्क होडिडे’ मनाउन थाले, यहाँ अहिले नै त्यस्तो नहोला भन्नेमा छौँ ।” उत्पादित दुध बिक्री गर्न कठिन हुने गरेको उहाँले बताउनुभयो । अघिल्ला वर्षको तुलनामा यस वर्ष यो समयमा कम दूध बिक्री भएको उहाँले जानकारी दिनुभयो । रासस