• १२ मंसिर २०८१, बुधबार

प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा औषधि अभाव

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर २२ गते । झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा आवश्यकता अनुसार जनशक्ति, बजेट र औषधि अभावले पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । औपचारिक रुपमा १४ महिनाअघि नै सञ्चालनमा आएको आयुर्वेद अस्पतालमा इमरजेन्सी सेवासमेत सुरु हुन सकेको छैन ।

अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरका अनुसार अहिले अस्पतालमा ओपिडीसहितका केही सेवाहरुलाई सुचारु गरेर आएका बिरामीहरुलाई सेवा प्रदान गरिंदै आएको छ । "अहिले निशुल्क वितरण गर्नुपर्ने आर्युवेदिक औषधिको समेत अभाव खड्किएको छ", ठाकुरले भन्नुभयो । "औषधि नपाएपछि बिरामीहरु नआउने र अस्पतालप्रतिको दृष्टिकोण नकारात्मक बन्ला भन्ने चिन्ता छ", उहाँले भन्नुभयो ।

५० शैयाको क्षमताको प्रोदेशिक आयुर्वेद अस्पतालमा स्थायी र अस्थायी गरेर १९ जनामात्र कार्यरत छन् । "कम्तीमा पनि ५० जना जनशक्ति हुने हो भने इमरजेन्सी लगायतका सेवा सुचारु गर्न सकिन्छ", डा.ठाकुरले भन्नुभयो । अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार इमरजेन्सी लगायतका सेवा सुचारु गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।

आवश्यकता अनुसार दरबन्दी कायम गरेर जनशक्ति राख्नका लागि र आवश्यक औषधिको माग सम्बन्धित स्वास्थ्य मन्त्रालयमा गरेको ठाकुरको भनाइ छ । २५ करोडभन्दा बढीको लागतमा बनेको सुविधा सम्पन्न भवनको २० प्रतिशत पनि अहिले प्रयोगमा आउन नसकेको उहाँले जनाउनुभयो । एकैपटक सेवा विस्तार गर्ने भन्दा पनि दिइरहेका सेवालाई प्रभावकारी बनाउने र सेवा थप्दै जाने आफूहरुको योजना रहेको ठाकुले बताउनुभयो ।

यस आर्युवेद अस्पताललाई प्रदेशकै प्रेषण अस्पताल तथा भरपर्दो अस्पतालको रुपमा विकास तथा विस्तार गर्ने भनेर कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेकाले यसै अनुसार आगामी दिनमा बजेट र जनशक्ति उपलब्ध हुने विश्वास रहेको डा.ठाकुरले बताउनुभएको छ । जनशक्ति, बजेट र औषधि अभाव नभएमा अस्पतालले चाँडै नै फड्को मार्ने अवस्था रहेको छ ।

"थोरै जनशक्ति भए पनि पञ्चकर्म, भिडियो एक्स रे, ल्याब लगायतको सेवा सरु गरिएको छ । दैनिक ५० जनासम्म बिरामी आउन थालेको र सेवा विस्तार भएपछि बिरामीको सङ्ख्या बढ्ने अपेक्षा रहेको उहाँको भनाइ छ । आर्युवेद उपचार पद्धतिमा जनविश्वास बढ्दो छ तर त्यस अनुसारको सेवा दिन भने चुनौती छ", उहाँले भन्नुभयो ।

नयाँ सेवा सुरु गरिंदै

यसैबीच शुक्रबार अस्पतालले पत्रकारल सम्मेलन गरेर पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्वारमा हुने रोगको उपचार सुरु गरिने जनाएको छ । अहिले यसको उपचार गर्ने भन्दै भारतीय चिकित्सक भन्नेहरुले ठगी रहेकाले यसको उपचार सहज रुपमा यहाँ गरिने बताइएको हो । 

सेवा सुरुवातको अवसरमा आँउदो मङ्सिर २५ र २६ गते पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्वारमा हुने रोगको उपचारका लागि अस्पताल परिसरमा नै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरमा आउने बिरामीहरुको जाँच उपचार पूर्णरुपमा निःशुल्क हुने डा.ठाकुरले बताउनुभएको छ । "ल्याबदेखि लिएर औषधिसम्म कुनै पनि खर्च लाग्दैन", उहाँले भन्नुभयो ।