• १२ साउन २०८१, शनिबार

यस वर्ष मलखाद आपूर्ति सहज हुने

blog

मल स्थानीय डिलरबाट किसानहरूले मलखाद खरिद गरेर लैजाँदै । तस्वीर : ललिता साह

ललिता साह 

बोदेवर्साइन (सप्तरी), मंसिर २२ गते । सप्तरीका किसानलाई गहुँलगायतको हिउँदे वालीको समयमा मलखाद अभाव हुन नदिन  सरोकारवालाले चासो दिएपछि यस वर्ष मल अभाव नहुने भएको छ । 

मलखाद आपूर्ति तथा अभाव हुन नदिन तोकिएभन्दा बढी मुनाफा नलिन तथा कृत्रिम अभाव हुने कुनै प्रकारको गतिविधि नगर्न डिलर संचालकलाई प्रमुख जिल्ला अधिकारी किरण थापाले निर्देशन दिनुभएको छ ।

जिल्लामा हुने ७२ हजार हेक्टरमा गरिने खेतीका लागि एक लाख २५ हजार बोरा अर्थात् ६ हजार मेट्रिक टन मलखाद आवश्यक हुन्छ । यद्यपि यो वर्षको गहुँ सिजनको समय आइसक्दासम्म जिल्लामा मलखाद आपूर्ति गर्न विगतको तुलनामा सहज भएको साल्टट्रेडिङ कर्पोरेसन सप्तरीका कार्यलय प्रमुख शत्रुधन साहले बताउनुभयो । 

जिल्लामा एकमुठी मल नपाएर किसानले खेत बाँझै राख्नुपर्ने पीडा थियो । त्यो अवस्था आउन नदिन त्यस्ता अनुभवबाट सिक्दै सरोकारवाला निकायले आगामी योजना बनाएर काम गर्नुपर्ने निर्णयसहित यस्तो निर्देशन गरेको उहाँले भन्नुभयो ।

हिउँदे बालीको लागि मात्र जिल्लाभरीलाई एक लाख २५ हजार बोरा मलखाद चाहिए पनि  १९ हजार ४० बोरा डिएपी, १५ हजार दुईसय बोरा युरिया र एक हजार ६० बोरा पोटास रहेको मौज्दातमा १८ हजार सातसय बोरा डिएपी १५ हजार दुईसय बोरा युरिया नौ सय ८० बोरा पोटास खपत भएको साल्टट्रेडिङ कर्पोरेशन सप्तरीको तथ्याङक छ । 

त्यस्तै, कृषि सामग्री केन्द्र सप्तरीको तथ्याङकअनुसार युरिया २४०.७५० मेट्रिक टन, ४६२.८०० मेट्रिक टन डिएपि, १७.६ मेट्रिक टन पोटास मौज्दात रहेको छ जसमध्ये ५.७५० मेट्रिक टन युरिया, ७४५.६ मेट्रिक टन डिएपी र ९१.६५ मेट्रिक टन पोटास डिलरलाई वितरण गरिसकिएको कृषि सामग्री केन्द्र राजविराज कार्यालयका प्रमुख सोनेलाल मुरमुरले जानकारी दिनुभयो ।

त्यस्तै, कृत्रिम अभाव, कालोबजारी अस्वभाविक मूल्य बृद्धिजस्ता काम हुन नदिन स्थानीय तह र स्थानीय प्रहरीमार्फत नियमित अनुगमन गर्ने र बढी मूल्य लिइ बेचेको पाइएमा कानुन बमोजिम कारवाही गर्ने भनिएको छ । 

यसैगरी सहकारीले बिक्री बितरण गर्दा अनिवार्य रुपमा बिल बिजक, पान नं र सार्वजनिक मूल्यसूची राख्नुपर्ने । हिउँदे वालीको लागि कृषि सामग्री कम्पनी लि र साल्टट्रेडिङ कम्पनिले जारी गरेको सूचनामा उल्लेख गरेको मितिभित्र मलखाद खरिद गर्न सबै पालिकाले समन्वय गरी स्थानीय तह र सहकारी संस्थाले सार्वजनिक रुपमा मौज्दात र बिक्री मूल्य सार्वजनिक गर्ने तथा जिल्लामा अपुग हुने मलखाद प्राप्त गर्न नियमित पहल गर्ने तथा कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ् कम्पनीले प्राप्त भएको मल खादको विवरण, सहकारीलाई बितरण गरेको मूल्यसहितको परिणाम विवरण जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कृषि ज्ञान केन्द्रलाई नियमित रुपमा उपलब्ध गराउने भनी आवश्यक निणर्यसहितको परिपत्रसम्बन्धित कार्यालयलाई गरिसकिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो ।