• ३१ असोज २०८२, शुक्रबार

कुराकानी गर्न छानामाथि मोबाइल

blog

फोन सम्पर्कका लागि घरको छानामा ठड्याएर राखेको मोबाइल । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता 

कालीकोट, असोज ३१ गते । कालीकोट जिल्लाका केही ठाउँमा मोबाइल सेवा सहज नचल्दा नागरिक अझै पनि मोबाइल फोन सम्पर्कभन्दा बाहिर छन् । जिल्लामा फाइब जी सेवा सञ्चालन भए पनि जिल्लाका केही ग्रामीण ठाउँमा फोन सेवासमेत सहज रूपमा चल्न सकेको छैन । फोन सेवा सहज नहुँदा आफन्तसँग कुरा गर्न घरको छाना वा बसेको स्थानबाट माथि अग्लो पाखातिर जानुपर्ने बाध्यता छ ।

खाँडाचक्र नगरपालिका–८, पाँखाको सेराबाडा बजार, तिलागुफा नगरपालिकाको बाली बजार, नाग्म बजार, धनाडा गाउँ र पलाँता गाउँपालिकाको बाख्रे बजार, पचालझरना गाउँपालिकाको जारकोट बजार क्षेत्रमा समेत मोबाइल सेवा भनेको समयमा चल्दैन । आफन्तसँग मोबाइल फोन सम्पर्कमार्फत कुरा गर्नका लागि केही ठाउँमा घरको छानामाथि पिटपिटे सामान्य मोबाइल राख्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् । 

खाँडाचक्र नगरपालिका–८ को सेराबाडा बजारको मल्ल होटेलमाथि छानामा जहिले पनि मोबाइल फोनको सादा सेट राखिएको हुन्छ । होटेलमा खाना खान आउनेदेखि सुर्खेतमा रहेका छोराछोरी तथा आफन्तसँग सम्पर्क होस् भनेर होटेल सञ्चालकले घरको छानामा बिहानदेखि साँझसम्म मोबाइल सेट ठाडो पारेर राख्दै आउनुभएको छ । होटेल सञ्चालक खगेन्द्र मल्लले कालीकोटमा मोबाइल सेवा सुरु भएको २०६४ सालदेखि नै यहाँ यसरी छानामाथि सेट राखेर सम्पर्क गर्ने गर्नु परेको बताउनुभयो । मोबाइलको टावर राख्नका लागि धेरै पटक माग गरिए पनि सरोकारवाला पक्षले चासो नदिएपछि सेराबाडालगायत धनाडा, नाग्म र बाली बजारका नागरिक फोन गर्नका लागि कि माथि गाउँतिर जानुपर्ने अवस्था रहेको कि घरको छानामा जानुपर्ने उहाँले जनाउनुभयो । 

कर्णाली प्रदेश सभा सदस्य दुर्गबहादुर रावतले २०७६ सालतिर तत्कालीन सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामार्फत कालीकोटमा छ ठाउँमा मोबाइलका टावर निर्माण गर्ने कुरा भए पनि लगत्तै मन्त्रीले राजीनामा दिएकाले अहिलेसम्म काम हुन नसकेको बताउनुभयो । उहाँले टावर राख्नका लागि आफूहरूले प्रयास गरिरहेको भन्दै दुई ठाउँमा टावर बन्यो तर भने अनुसार सहज रूपमा सम्पर्क नहुने समस्या भएको उल्लेख गर्नुभयो । नाग्ममा भने जुम्ला जिल्लाको टावरले काम गरिरहेको छ । फोइमहादेवमा पनि टावर त बनेको छ तर त्यसले तिलानदी किनारमा काम नगरेका कारणले अझै नागरिक सञ्चार सेवाबाट वञ्चित हुँदै आएका छन् ।