धनगढी समाचारदाता
धनगढी, असोज ३१ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित निजी अस्पतालमा कार्यरत नर्स आन्दोलित भएका छन् ।
अस्पतालमा श्रमशोषण भएको भन्दै उनीहरू सङ्घर्षमा उत्रेका हुन् । आन्दोलित नर्सले श्रमशोषण र दमन अन्त्यका लागि दबाब दिन जिल्ला प्रशासन कार्यालय कैलालीअगाडि धर्ना दिएका छन् । ‘नर्स बाहिर, समस्या भित्र’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरूले धर्ना दिएका थिए ।
नर्सले करार नियुक्ति सम्झौता गरेर मात्रै काममा राख्नुपर्ने, तोकिएको समयभन्दा बढी समय काम गरेमा अतिरिक्त भत्ता दिनुपर्ने, पारिश्रमिक बैङ्किङ प्रणालीबाट मात्र भुक्तानी गर्नुपर्ने माग राखेका छन् । यसै गरी सक्कल शैक्षिक लब्धाङ्कपत्र अस्पतालले राख्न नपाउने पनि उनीहरूको माग छ । निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई न्यनतम पारिश्रमिक सरकारी सरह दिनुपर्ने सरकारको निर्देशन कार्यान्वयन हुनुपर्नेलगायतका माग राखेर सङ्घर्षमा उत्रेको स्टाफ नर्स आस्मा नेगीले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीका लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागु गर्न सामुदायिक, निजी अस्पताललाई निर्देशन दिएको छ ।
यस्तै तोकिएको भन्दा बढी समयका लागि अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने, करार नियुक्ति गरेर मात्रै काममा राख्नुपर्ने निर्देशन दिइएको छ । अनुभवको पत्र प्रदान गर्नुपर्ने, पारिश्रमिक बैङ्किङ प्रणालीबाट मात्र भुक्तानी गर्नुपर्ने मन्त्रालयको निर्देशन छ तर निजी स्वास्थ्य संस्थाले त्यसलाई कार्यान्वयन नगरेको नर्सको भनाइ छ । उनीहरूले माग पूरा नभएसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
धनगढीमा एक दर्जन निजी अस्पताल सञ्चालनमा रहेका छन् । सेवाशुल्क महँगो रहेका निजी अस्पतालले नर्सलगायतका स्वास्थ्यकर्मी कर्मचारीलाई निकै न्यून पारिश्रमिक दिने गरेको बताइएको छ । पारिश्रमिक बारे आवाज उठाउँदा उल्टै अस्पतालले विभिन्न धाकधम्की दिने गरेको नर्सको गुनासो छ ।