• ३१ असोज २०८२, शुक्रबार

स्थानीयस्तरमै उत्पादित फूलको माला खरिद, बिक्री गर्न आग्रह

blog

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ।

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, असोज ३१ गते ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आसन्न तिहार र छठ पर्वमा प्राकृतिक फूल तथा फलफूलको माला मात्र प्रयोग गर्न आग्रह गरेको छ । यस्तो सूचना जारी गर्ने पश्चिम नवलपरासीका स्थानीय तहहरूमध्ये यो पहिलो स्थानीय तह हो ।

बर्दघाट नगरपालिकाले सार्वजनिक सूचनामार्फत् चाडपर्वहरूमा स्थानीयस्तरमै उत्पादित प्राकृतिक फूलको माला खरिद, बिक्री र प्रयोग गर्न आग्रह गरेको हो ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार, चाडपर्वहरूमा स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले प्राकृतिक फूलको माला मात्र प्रयोग गर्न सम्पूर्ण नगरवासीहरूलाई अनुरोध गरेको हो ।

उहाँका अनुसार, “यस वर्ष तिहार र छठमा हामीले विदेशबाट आयात हुने महँगो फूलको प्रयोगलाई निरुत्साहित गर्दै स्थानीय किसानले उत्पादन गरेको गोदावरी, सयपत्री र अन्य फलफूलको मालालाई प्राथमिकता दिएका छौँ । यसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउँछ ।’’ उहाँले यस अभियानबाट स्थानीय उत्पादनको संरक्षण र उपयोग बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सूचनामा उल्लेख भए अनुसार, यस पर्वहरूमा स्थानीयस्तरमै उत्पादन गरिने फूल तथा फलफूललाई संरक्षण गर्न र प्रोत्साहन दिनको लागि सबै नगरवासी, सरकारी तथा गैरसरकारी कार्यालय, सङ्घसंस्था एवम् पुष्प व्यवसायीहरूलाई अनुरोध गरिएको छ ।

यता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलका अनुसार, यसको कार्यान्वयन पक्षलाई कडाइका साथ कार्यान्वयन गर्न बजारमा अनुगमनको व्यवस्था गरिएको छ। यस सूचनाले स्थानीय कृषि उपजको प्रवर्धनमा टेवा पुग्ने र आयातित फूलमाथिको निर्भरता घट्ने विश्वास नगरपालिकाले लिएको छ ।