• ३१ असोज २०८२, शुक्रबार

नारायणखोलामा चार महिनापछि बस सञ्चालन

blog

लालबन्दी बजारबाट नारायणखोलासम्म सञ्चालन हुने बस । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, असोज ३१ गते ।
सर्लाहीको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा चार महिनापछि बल्ल बस सञ्चालन हुन थालेका छन् ।

सडक सञ्जालमा नजोडिएको नारायणखोलामा पानी पर्न रोकिएसँगै खोलाको बाटो मर्मत गरेर बस सञ्चालन गर्न थालिएको हो । वर्षायाम सुरु भएर खोलामा बाढी आउन थालेपछि गत मध्य जेठदेखि बस सञ्चालन हुन छाडेका थिए ।

लालबन्दी १४ को वडा कार्यालय र बस व्यवसायीको समन्वयमा करिव एक हप्ता लगाएर जेसिबी प्रयोग गरी खोलामा बाटो बनाएपछि गएको बुधबारदेखि बस सञ्चालन हुन थालेका लालबन्दी १४ का वडाध्यक्ष एवम् बस व्यवसायी छेनामसिंह घिसिङले जानकारी दिनुभयो । भौगोलिक हिसाबले विकट र चुरेको ठुलो भू–भाग पर्ने नारायणखोलाको पश्चिमी भेगमा डाइनीखोला र पूर्वी भेगमा लखन्देही खोला भएर आवतजावत गर्नुपर्ने हुन्छ ।

लालबन्दी बजारबाट लखन्देखी खोला हुँदै सिन्धुलीको मरिणसम्म एउटा, लालबन्दी १४ नारायणखोला कामिटारसम्म एउटा र डाइनीखोला तर्फबाट नारायणखोलाकै मगनीदोभानसम्म एउटा गरी तीनवटा बस सञ्चालन भएका वडाध्यक्ष घिसिङले बताउनुभयो । “अब हिउँदयामभर खोलाको बगरबाटै भएपनि सबै गाडी चल्छन्,” वडाध्यक्ष घिसिङले भन्नुभयो, “वर्षायाम सुरु भएपछि भने फेरि उस्तै समस्या दोहोरिन्छ ।”

प्रमुख चाड तिहारको मुखमा बस सञ्चालन हुन थालेपछि नारायणखोलाका स्थानीय खुुसी भएका छन् । भारी वर्षा भएर दसैँमा कुनै पनि सवारी साधन सञ्चालन नहुँदा स्थानीयलाई आफन्तकहाँ आउजाउ गर्न असाध्य समस्या परेको थियो । 
बाढीमा हेलिएर आउजाउ गरे । खोलामा बाढी आइरहँदा दसैँको किनमेलसमेत प्रभावित भएको थियो ।

अब भने बस सञ्चालन हुन थालेसँगै सिन्धुलीको मरिणदेखिका स्थानीय दैनिकी उपभोग्य वस्तु र खाद्यान्न खरिद गर्न लालबन्दी बजार आइपुग्ने वडाध्यक्ष घिसिङले बताउनुभयो । लालबन्दी बजारदेखि लालबन्दी १३ पत्थरकोट छेडासम्म सडक पुगेपनि त्यहाँदेखि उत्तर नारायणखोलातर्फ जान लखन्देही र डाइनी खोलाको बगर प्रयोग गर्नुपर्ने बाध्यता छ ।

हिउँदका महिनामा खोलाबाट बस, बोलेरो, ट्याक्टर, मोटरसाइकल सञ्चालन हुने गरेपनि वर्षायाममा बाढी आएर पैदल हिँड्नसमेत नसकिने हुँदा नारायणखोलाका स्थानीयले औषधि उपचारसमेत नपाउने अवस्था आउने गरेको छ । नारायणखोलाका स्थानीय लालबहादुर पाख्रिनले गाडी चल्न थालेसँगै लालबन्दी बजारमा दैनिक उपभोग्य वस्तु किन्न र बिरामी पर्दा उपचारका लागि आउजाउ गर्न सहज भएको बताउनुभयो ।