बैतडी समाचारदाता
बैतडी, असोज ३१ गते । बैतडीमा धमाधम नयाँ मतदाता थपिन थालेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न सूचना जारी भएसँगै दुई हप्तामै २३४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीमा दैनिक ४० देखि ४५ जना नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउन आउने गरेको निमित्त कार्यालय प्रमुख पुरुषोत्तम जोशीले बताउनुभयो । तिहारपछि यो सङ्ख्या अझै बढ्न सक्ने उहाँले उहाँले बताउनुभयो । निर्वाचन आयोगले यही असोज ९ गतेदेखि आउँदो कात्तिक २८ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाएको छ ।
दसैँ बिदा सकिएलगत्तै कार्यालयमै पुगेर २३४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराउनु भनेको उत्साहजनक मान्नुपर्ने उहाँले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार बैतडीमा अद्यावधिक मतदाता सङ्ख्या एक लाख ६१ हजार ३१४ जना रहेका छन् । जसमध्ये महिला ७९ हजार १८४, पुरुष ८२ हजार १२८ जना र अन्य दुई जना रहेका छन् ।
गएको प्रतिनिधि सभा निर्वाचन २०७९ मा जिल्लामा एक लाख ५० हजार १५६ मतदाता रहेका थिए । सो निर्वाचनमा ७८ हजार ३६९ (५२ प्रतिशत) मत खसेको थियो । अघिल्लो प्रतिनिधि सभा निर्वाचनभन्दा आउने प्रतिनिधि सभा निर्वाचनमा मतदाता सङ्ख्या बढ्ने देखिएको छ । एक मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीमा दुई वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र, १० वटा स्थानीय तह र ८४ वटा वडा रहेका छन् ।
२०७९ को प्रतिनिधि सभाको निर्वाचनमा ७८ हजार ३६९ मत खसेको थियो । जिल्लाका २१० वटा मतदान केन्द्रबाट ३८ हजार २७७ पुरुष र ४० हजार ९२ महिलाले मतदान गरेका थिए । २०७८ सालको जनगणना अनुसार जिल्लाको कुल जनसङ्ख्या दुई लाख ४२ हजार १५७ रहेको छ । जसमध्ये पुरुष एक लाख १३ हजार ८६४ र महिलाको सङ्ख्या एक लाख २८ हजार २९३ रहेको छ ।