• १२ साउन २०८१, शनिबार

बजेट अभावमा सडक स्तरोन्नति ठप्प

blog

रजनी योगी

सुर्खेत, मङ्सिर २२ गते । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ जोड्ने सडक स्तरोन्नतिको काम ठप्प भएको छ । बजेट अभाव हुँदा स्तरोन्नतिको काम अघि बढ्न नसकेको हो ।

सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय जुम्लाले उक्त सडक विस्तारको जिम्मा लिएको छ । कार्यालयले जुम्लाको छिनासाँगुदेखि डोल्पाको सिमाना मौरेलेखसम्म ४५ किलोमिटर सडकको काम गरिरहेको छ । उक्त खण्डमा ट्र्याक खोलिए पनि स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन ।

रकम अभाव हुँदा काम अवरुद्ध भएको जनाइएको छ । गत वर्ष सडक स्तरोन्नतिका लागि २३ करोड बजेट विनियोजन भएको थियो तर समयमै काम हुन नसकेपछि बजेट फ्रिज हुन गयो । चालु आर्थिक वर्षमा एक करोड मात्र विनियोजन भएको छ । न्यून बजेटका कारण कुनै पनि काम गर्न नसकिएको सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर चित्र चौलागाईंले बताउनुभयो । उहाँका अनुसार तीन वर्षअघि नै सडकको ट्र्याक खोलिए पनि बजेट अभावमा स्तरोन्नतिको काम हुन सकेको छैन । गत वर्ष तीन किलोमिटर सडक ढलानको काम भए पनि यो वर्ष कुनै काम सुरु भएको छैन ।

सङ्घीय सरकारले कर्णाली प्रदेशको डोल्पा र मुगु तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ गरी चार जिल्ला जोड्ने उद्देश्यले सडक निर्माण योजना अघि बढाएको थियो तर बर्सेनि बजेट घटाउँदै जाँदा सडक निर्माणको काम सुस्ताएको छ । जुम्लाको छिनासाँगुदेखि डोल्पाको सिमाना मौरेलेखसम्मको काम रोकिए पनि सोही सडक अन्तर्गत सडक डिभिजन चौरजहारीले डोल्पाको मौरेलेखदेखि त्रिपुराकोटसम्म ट्र्याक खोल्ने काम गरिरहेको छ । दुई खण्डमा गरी कार्यालयले १२० किलोमिटर सडक निर्माणको काम गर्ने छ । जसमध्ये पहिलो खण्डका रूपमा मौरेलेखदेखि त्रिपुराकोटसम्म ६० किलोमिटर ट्र्याक निर्माण गर्ने छ ।

त्रिपुराकोटदेखि ल्यासीक्यापसम्म भेरी कोरिडोरले ओपरल्याप गरेको छ । ल्यासीक्यापदेखि मुस्ताङको सिमानासम्म कार्यालयले ६० किलोमिटर सडक निर्माण गर्ने छ । बीच खण्डमा भेरी कोरिडोरले ट्र्याक खोलेपछि मात्र ल्यासीक्यापदेखि मुस्ताङको सिमानासम्म काम अघि बढाइने जनाइएको छ । कार्यालयका इन्जिनियर दिलीपकुमार यादवका अनुसार चालु आवमा एक करोड बजेट विनियोजन भएको छ । उहाँले भन्नुभयो, “न्यून बजेट हुँदा नयाँ ठेक्काका काम अघि बढ्ने छैनन् । अघिल्लो वर्षबाट दायित्व सरेर आएका काम हुनेछन् ।’’

डोल्पा र मुस्ताङ जोड्न १६५ किलोमिटर सडक निर्माण हुने छ । जसमध्ये सडक डिभिजन कार्यालय जुम्लाले छिनासाँगुदेखि मौरेलेखसम्म ४५ किलोमिटर निर्माण गर्ने छ । यसै गरी सडक डिभिजन कार्यालय चौरजहारीले दुई खण्डमा काम गर्ने जनाइएको छ । जुम्ला र डोल्पाको सिमाना मौरेलेखदेखि त्रिपुराकोटसम्म ६० किलोमिटर र ल्यासीक्यापदेखि मुस्ताङको सिमानासम्म ६० किलोमिटर सडक निर्माण गर्ने छ । त्रिपुराकोटदेखि ल्यासीक्यापसम्म भेरी कोरिडोरसँग ओभरल्याप भएको छ ।

त्रिदेशीय सडक निर्माण सुस्त

ठेकेदारको लापरबाहीका कारण त्रिदेशीय सडक निर्माणको कामसमेत सुस्ताएको छ । भारतीय सीमासँग जोडिएको बाँकेको जमुनाहादेखि चीनसँग सीमा जोडिएको डोल्पाको नाग्चेनाग्ला पुग्ने सडक अन्तर्गत दैलेख खण्ड निर्माणमा ढिलासुस्ती भएको छ । 

त्रिदेशीय सडक अन्तर्गत दैलेख बजारदेखि महाबुसम्मको ४० किलोमिटर क्षेत्रको काम समयमै नसकिएपछि सडक अस्तव्यस्त बनेको छ । सो मार्ग हुँदै यात्रा गर्ने सर्वसाधारणले सास्ती भोग्नु परेको छ । समयमै काम नहुँदा सडकमा थुपारिएका ढुङ्गा र गिट्टीले समेत स्थानीयलाई आवतजावत गर्न समस्या भइरहेको छ ।

महाबु सडकखण्डलाई सरकारले कर्णालीको सुर्खेत, दैलेख, कालीकोट जुम्ला, हुम्ला, मुगु, डोल्पा हुँदै चीनको सिमाना नाग्चेनाग्लासम्म विस्तारका लागि प्राथमिकतामा राखेको छ । भारतीय सीमा जमुनाहा नाकासँग जोडिएको यो सडक निर्माण सम्पन्न भएमा प्रदेशको समग्र विकासमा सहयोग पुग्ने जनाइएको छ तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम समयमा हुन सकेको छैन । सडक डिभिजन कार्यालय सुर्खेतले दैलेख बजारदेखि महाबुसम्मको ४० किलोमिटर सडक विस्तारको काम गरिरहेको छ । 

पहिलो खण्ड अन्तर्गत खुर्सानीबारीदेखि माथि एक किलोमिटर र भैँसीखोरअघिको साढे एक किलोमिटर खण्डमा कालोपत्रेका लागि आजीवन जिटी पिएस जेभी सुर्खेतले कामको जिम्मेवारी पाएको छ । २०७९ साल फागुन १५ मा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८० साल फागुन १५ मा निर्माण सम्पन्न गर्नुपर्ने छ । 

निर्माण सम्पन्न गर्न करिब चार महिना मात्र बाँकी रहँदा ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ । खानेपानीका पाइपलाइन, विद्युत्का पोल स्थानान्तरण गर्नुपर्ने भएकाले काममा ढिलाइ भएको जनाइएको छ । नाला निर्माण, टेवा पर्खाल निर्माणलगायतका काम भइरहेका छन् । साढे दुई किलोमिटर कालोपत्रेका लागि छ करोड ५३ लाखमा सम्झौता भएको छ । काम भने कछुवा गतिमा भइरहेको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।

दोस्रो खण्ड अन्तर्गत रहेको भैँसीखोरदेखि भवानी गेटसम्म साढे चार किलोमिटर क्षेत्र कालोपत्रे कामको जिम्मा लिएको कश्यप निर्माण एन्ड सप्लायर्स काठमाडौँले काम अलपत्र छोडेको छ । ४८ प्रतिशत काम सकेर बाँकी काम निर्माण कम्पनीले अलपत्र छोडेको हो । २०७९ साल चैतसम्म कालोपत्रे सक्नुपर्ने गरी पाँच करोड ५८ लाखमा उक्त ठेक्का सम्झौता भएको थियो । 

निर्माण कम्पनीले विभिन्न बहाना बनाएर काम नगरेपछि सडक डिभिजन कार्यालय सुर्खेतले लगातार पत्राचार गरेको कार्यालयका इन्जिनियर सुरेन्द्र सिंहले जानकारी दिनुभयो । भवानी गेटदेखि ओखरबाससम्मका विभिन्न तीन खण्डमा तिरुपाते लालशुभो मेनरो जेभीले कामको जिम्मा लिएको छ । 

सम्झौता अनुसार एउटा खण्डको काम सम्पन्न भएको छ । तीन किलोमिटरको पहिलो प्याकेजको काम सम्पन्न भएको हो । कम्पनीले पहिलो खण्डको काम सकेको छ । एउटा खण्डमा ८० प्रतिशत र अर्को खण्डमा ५० प्रतिशत काम सम्पन्न गरेको छ ।