• १२ साउन २०८१, शनिबार

चिनी उद्योग सञ्चालनको तयारी

blog

इन्दुशङ्कर चिनी उद्योग सञ्चालनका लागि गरिएको डोङ्गा पूजामा उखुको लाक्रा बोकेर उभिएका किसान र अन्य । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, मङ्सिर २१ गते । उखुको मूल्य तोक्न ढिलाइ भइरहँदा चिनी उद्योगहरू भने सञ्चालनको तयारी गरिएको छ । उद्योगीले उखु क्रसिङ सिजन २०८०-०८१ को उखु क्रसिङ सुरु गर्ने तयारी गरेका हुन् । 

सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले उखु क्रसिङ सुरु गर्न बिहीबार डोङ्गा पूजा गरेको छ । उखु क्रसिङ सुरु गर्नुअघि बर्सेनि प्रत्येक चिनी उद्योगमा डोङ्गा पूजा गरिन्छ । इन्दुशङ्करका उखु प्रबन्धक योगनारायण रजकले यो वर्ष उद्योगले ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । 

उद्योगले भोलीदेखि किसानलाई चलान अर्थात् उखु ल्याउने अनुमति पत्र बाँडेर मङ्सिर २६ गतेदेखि उखु क्रसिङ (पेल्ने) काम सुरु गर्ने तयारी गरेको हो । यो उद्योगले गएको वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएकोमा २८ लाख २० हजार क्विन्टल मात्रै उखु क्रसिङ गरेको थियो । 

चिनी उद्योगले गरेको उखु खेतीको सर्भेमा गत वर्षकै हाराहारीमा खेती भएको पाइए पनि यो वर्ष होचोँ जग्गामा उखु उत्पादन राम्रो भएकाले १० देखि १५ प्रतिशतसम्म उखुको उत्पादन बढेको पाइएकाले उद्योगले क्रसिङको लक्ष्य बढाएको उखु प्रबन्धक रजकले बताउनुभयो । आगामी चैतको दोस्रो सातासम्म उद्योग सञ्चालनको लक्ष्यसहित उखु क्रसिङ गरिने इन्दुशङ्करले जनाएको छ । 

इन्दुशङ्करले गएको वर्ष किसानलाई दिनुपर्ने सम्पूर्ण भुक्तानी दिइसकेको छ । धमाधम चिनी उद्योग सञ्चालनको तयारी भइरहँदा यो सिजनका लागि उखुको मूल्य नै तय नभएकाले उखु खेती गर्ने किसान भने निराश बनेका छन् । 

हरिवन नगरपालिका–५, घुर्कौली कुशवाह टोलका किसान रामचरित्र सिंहले मूल्य तय नभएपनि उखु काट्नेबेला भइसकेकाले अब उधारोमै भएपनि उद्योगलाई ल्याएर उखु बुझाउने बताउनुभयो । “अब उखु नकाटे दिनप्रतिदिन सुकेर जान्छ, त्यसैले मूल्य निर्धारण नभएपनि उद्योगलाई ल्याएर उखु बुझाउनै पर्‍यो,” डोङ्गा पूजाका लागि एक टायर उखु लिएर उद्योगमा आउनुभएका सिंहले भन्नुभयो, “उखु किसानका लागि यो बर्सेनिको बाध्यता हो ।” 

सरकारले गएको वर्ष बिक्री गरेको उखुको अनुदान रकम समेत अहिलेसम्म नदिएको सिंहले दुःखेसो पोख्नुभयो । उखुमा प्रतिक्विन्टल ७० रुपियाँ अनुदान दिने सरकारले निर्णय गरेपनि सर्लाहीका किसानले २१ रुपियाँ मात्रै पाएका छन् । 

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीले अर्थ मन्त्रालयबाट अधुरो रकम निकासा भएकाले किसानलाई ३० प्रतिशत अर्थात् ७० रुपियाँमध्ये २१ रुपियाँ मात्रै वितरण गरेको हो । किसानले गत वर्षको प्रतिक्विन्टल ४९ रुपियाँ अनुदान रकम प्राप्त गर्न बाँकी छ । 

नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखुको मूल्य तय गर्न गएको आइतबार कृषि मन्त्रालयमा वार्ता भएपनि सहमति हुन नसकेको बताउनुभयो । वार्तामा गएको वर्ष भन्दा ११ रुपियाँ मूल्य बढाउने उद्योगी र सरकारकातर्फबाट प्रस्ताव आएको तर त्यसलाई आफूहरूले अस्वीकार गरेको मैनालीले बताउनुभयो । 

“गएको वर्ष उद्योगीले ५४० र सरकारले प्रदान गर्ने ७० रुपियाँ गरेर उखुको मूल्य ६१० रुपियाँ थियो, आइतबारको बैठकमा उहाँहरूले यो वर्ष उद्योगीले दिने पैसा ११ रुपियाँ बढाएर ५५१ पुर्‍याउने भन्नुभयो, हामी किसानले त्यो मूल्य स्वीकार गरेनौँ,” मैनालीले भन्नुभयो । उक्त वार्तामा आफूहरूले उखुको गत वर्षको पूरा भुक्तानी नपाएसम्म वार्तालाई प्राथमिकता नदिने र वार्ता नै बहिष्कार गर्ने भनेर बैठकबाट बाहिरिएको मैनालीले जानकारी दिनुभयो । 

गएको वर्ष ६५ रुपियाँ चिनीको मूल्य हुँदा किसानले ७० रुपियाँ उखुको अनुदान रकम पाएको र यो वर्ष सरकारले अहिले चिनीको मूल्य नै ९५ रुपियाँ तय गरेकाले सोही अनुसार उखुको अनुदान रकम वृद्धि हुनुपर्ने माग राखिएको मैनालीले बताउनुभयो । उखुको मूल्य तय र चिनी उद्योगलाई उखु दिनेबारे बिहीबार र शुक्रबार किसानबिच छलफल हुने उहाँले बताउनुभएको छ । 

मैनालीका अनुसार सर्लाही, नवलपरासी र कञ्चनपुर जिल्लाका उखु किसानले गएको वर्षको उखुको अनुदान रकम प्राप्त गर्न बाँकी छ ।