• १२ साउन २०८१, शनिबार

‘लिभिङ टुगेदर’पुरुषका घातक बन्दै

बाहिर आउँदैनन् पुरुष हिंसाका तथ्याङ्क

blog

काठमाडौं, मंसिर २२ गते । घरपरिवार वा समाजमा पुरुषमाथि हुने हिंसाको यकिन तथ्याङ्क बाहिर आएको पाइँदैन ।

पितृसत्तात्मक चिन्तनको प्रभाव महिला, पुरुष र समाजका सबै तप्कामा पर्ने भएकाले यसखाले घटना बाहिर आउन नसकेको सरोकारवालाले बताएका छन् । 

मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले महिला हिंसाको घटना बढी आउने भन्नुहुँदै हिंसा भन्नेबित्तिकै महिलामाथि मात्रै हुन्छ भन्ने मन, मस्तिष्कमा गढेर बसेको बताउनुभयो ।

पोखरेलले भन्नुभयो, “पुरुषमाथि पनि हिंसा हुन्छ भनेर त आइरहेको छ । समाजको बुझाइ हिंसा भन्नेबित्तिकै महिलामाथि मात्रै हुन्छ भन्ने मन, मस्तिष्कमा बसेको छ ।”

उहाँले पुरुषमाथि हुने हिंसा पीडाको रुपमा अभिव्यक्त हुन नसकेका कारण यस्ता घटना बाहिर आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुरुष हिंसाका घटना अलि–अलि आउँछन् तर, लुकाउँछन् । किनभने, न्याय पाइँदैन, यो लिएर गयो भने आफैं हाँसोको पात्र भइन्छ भन्ने छ । महिलाले हेप्यो भन्ने ! यो कस्तो पुरुष होला भनेर सोच्लान् भनेर ।”

खासगरी, वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमती परपुरुषसँग सम्बन्धमा रहेर सम्बन्ध, सम्पत्ति केही पनि नरहेको अवस्थामा उनीहरु बढी पीडित हुने गरेको उहाँको भनाइ छ । 

यस्तै, आयोगका उपसचिव नितु बर्तौलाले पुरुषले रुन हुँदैन, जे जस्तो भए पनि पैसा कमाउनैपर्छ भन्ने पितृसत्तात्मक सोचका कारण पुरुष मारमा पर्ने गरेको बताउनुभयो ।

बर्तौलाले भन्नुभयो, “एउटा, दुइटा मुद्दा श्रीमतीले झुट्टा आरोप लगाएको भन्ने छ । अरु हाम्रासामु आएको छैन । अहिले कस्तो छ भने लिभिङ टुगेदरमा बस्ने । डबल स्ट्याण्डर्ड । विवाहित छ भन्ने सबै कुरा थाहा पाएर पनि बसेको हुन्छ”, लिभिङ टुगेदरमा बसेपछि केटीले विवाह गर्न चाहेमा पुरुषले गर्नुपर्ने र केटीले नचाहेमा विवाह नहुने कुराले पुरुष मारमा परेको जस्तो लागेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “महिलाले चाहिन् भने पुरुषले विवाह गर्नैपर्छ । महिलाले चाहिन् भने फेरि पुरुषले छोडिदिनै पर्‍याे । यस्ता खालका कुराले पुरुषलाई मार परेको छ कि जस्तो लाग्छ”, यद्यपि गल्ती दुवै पक्षको रहेको उहाँले बताउनुभयो ।

घरेलु हिंसाको घटना बाहिर ल्याउन पुरुषलाई लाज हुने हो कि भन्ने जिज्ञासामा उहाँले सामाजिक दबाबका कारण यसो हुने गरेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “सामान्यतया घर श्रीमानको हुन्छ । महिलाले भने घरबाट निस्कनै पर्ने अवस्था हुन्छ । महिलाको जस्तो साह्रै नराम्रो, अप्ठ्यारो वातावरण नभएर पनि हो कि । हामीलाई कसले सुन्छ र ? भनेर पनि हुन सक्छ ।” उहाँले मानवअधिकार आयोगमा आएका यस्ता उजुरीहरुमाथि पुरुष वा महिला कसैमाथि हिंसा हुनहुँदैन भन्ने कोणबाट प्रमाणित गरेर मात्रै अरु प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

यससँगै, पुरुषले नै कमाउनुपर्छ भन्ने कुराले आर्थिक रुपले बलियो बनाउनुका साथै यसको प्रतिफलस्वरुप उसलाई प्रतिष्ठा र सशक्तीकरण मिल्ने भएकोले महिलाको जस्तै अपमानित हुन पर्ने अवस्था नआएका कारण पनि पुरुष हिंसाका घटना कम हुने गरेको धारणा उहाँले राख्नुभयो । 

पुरुषमाथि भएका हिंसा :

यही मङ्सिर महिनाभित्र पुरुषमाथि भएका केही हिंसा तथा अपराधलाई हेरौं ।

गत १९ गते कोशी प्रदेश अन्तर्गत उदयपुरमा श्रीमानको हत्या गरेको अभियोगमा ४० वर्षीय निरकुमारी रैनीलाई प्रहरीले पक्राउ गर्‍याे । 

उनले ६० वर्षीय श्यामकुमार राईको घाँटी थिची हत्या गरेकी थिइन् भने श्रीमानको शव घर नजिकै जङ्गलमा माटोले पुरी स्याउलाले छोपिएर राखेको अवस्थामा प्रहरीले फेलापारेको थियो ।

मङ्सिर ११ गते मधेश प्रदेशअन्तर्गत वीरगञ्ज पर्साको ठाेरी गाउँपालिकामा ३६ वर्षीय नाति कृष्णबहादुर खड्काको कुटाइबाट ८२ वर्षीय आफ्नै हजुरबुबा लक्ष्मण लामाले ज्यान गुमाउनुपर्‍याे । 

इलाका प्रहरी कार्यालय, ठोरीका अनुसार छिमेकीको घरमा छोरीका छोरा नाति खड्काले कोदो चुटिरहेका बेला हजुरबुबा लक्ष्मण त्यहाँ पुगी छाडिदेऊ म कोदो चुट्छु भन्दा आवेशमा आएर उनले लाठी प्रहार गरेका थिए ।

यस्तै, मङ्सिर ७ गते सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ शिखरडाँडा निवासी ३२ वर्षीय दावा घिसिङले फलामको रड प्रहार गरी बुबा ७२ वर्षीय बुद्धिमान घिसिङको हत्या गरे ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार पारिवारिक झगडाका कारण राति ९ बजे दावाले बुबाको हत्या गरेका हुन् ।

मङ्सिर ७ गते नै सार्वजनिक भएको घटना हो धनकुटा नगरपालिका १ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी  आत्महत्या गरे ।

श्रीमान ३५ वर्षीय टीकाराम गुरुङले ३६ वर्षीय श्रीमती भीमा गुरुङ र दश वर्षीय छोरा आयुष गुरुङको हत्या गरी घरमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले  जनायो । 

मानवअधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले पुरुष, महिला वा कोही पनि मानवमाथि हिंसा हुन गलत रहेको बताउनुभयो । जब कोही व्यक्ति अमानवीय रुपमा प्रकट हुँदा हिंसा हुने गरेको उहाँको भनाइ छ ।

जो कोहीमाथि हुने विभिन्न किसिमका हिंसाको प्रतिकार एवम् दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक छ । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।