• ७ जेठ २०८१, सोमबार

नयाँ डिजाइनपछि ग्वार्को फ्लाइओभरको काम द्रुत गतिमा

blog

काठमाडौं, मङ्सिर २१ गते । पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएपछि केही महिना अघिदेखि रोकिएको ग्यार्को फ्लाइओभर (अण्डरपास) को काम अहिले भने द्रुत गतिमा अघि बढेको छ ।

प्राविधिक टोलि ले नयाँ–डिजाइन गरेपछि फ्लाइओभरको काम धमाधम भइरहेको छ । चक्रपथअन्तर्गत पर्ने कोटेश्वर–कलङ्कीको जाम कम गर्न फ्लाइओभरको निर्माण कार्य थालिएको हो ।

गत वर्षको माघबाट निर्माण कार्य थालिएको फ्लाइओभरको काम असारमा डिजाइन गलत भएको भन्दै रोकिएको थियो ।

निर्माणको जिम्मा पाएको आशिष् समानान्तर रेलिगर जेभीले फ्लाइओभरको काम फागुनमै सक्नेगरी काम भएको जनाएको छ । निर्माण कम्पनीका साइट इन्जिनियर रामकृष्ण रेग्मीले फागुनमा सक्ने गरी द्रुत गतिमा काम भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सम्झौता अनुसार ग्वार्को फ्लाइओभरको निर्माण सक्नुपर्ने फागुन मसान्तसम्मको समयसीमा रहेको छ । हामीले त्यो समय सम्म सक्नेगरी द्रुत गतिमा काम अघि बढाएका छौँ ।”  अहिले दैनिक १२ घण्टा काम गरिरहेको उहाँले बताउनुभयो ।

हालसम्म फ्लाइओभरमा दुवै साइडमा १३/१३ वटा गरी २६ वटा पाइल राख्ने काम सकिसकेको छ । कोटेश्वरतर्फको पाइलक्याप ढलानको काम समेत सम्पन्न भएको उहाँको भनाइ छ । अहिले सातदोबाटो क्षेत्रमा पाइलक्याप ढलान गर्ने गरी काम भइरहेको रेम्मी बताउनुहुन्छ ।

सुरुमा दुवैतर्फ गरेर आठ वटा पाइल हाल्ने गरी डिजाइन गरिएको यो फ्लाइओभरको हाल १३/१३ वटा गरी २३ वटा पाइल राखेर बन्ने गरी संशोधन गरिएको छ ।

उहाँले भन्नुभयो, ‘‘सबैभन्दा गाह्रो काम नै पाइलिङ्को काम हो । यो काम रातको समयमा पनि गर्न सकिने भएकाले २४ घण्टा नै तीन सिफ्टमा सकाएका छौँ । र्‍याम्प बनाउन दायाँबायाँ वाल लगाएर बिचमा माटो भरेर माथि ल्याउने काम गरिने छ ।’’ हाल यस आयोजनामा ४५ जना जनशक्तिले काम गरिरहेका छन् ।

१७ करोड ६८ लाख ८८ हजार ८०८ रुपियाँ लागतमा निर्माण सम्पन्न गर्नेगरी एम/एस आशिष्–समानान्तर जेभीले ठेक्का पाएको छ । काम सुरु भएको दुई वर्षमा निर्माण सक्ने गरी निर्माण भइरहेको छ । ४५५ मिटर लम्बाइ हुने गरी फ्लाइओभर चक्रपथको बिचमा रहेको चार लेनमा समानान्तर भएर निर्माण हुनेछ ।

निर्माण कम्पनीले निर्धारित मितिमै सकिने जनाए पनि अहिलेको प्रगति हेर्दा तोकिएको मितिमा सबै काम सक्न गाह्रो हुने देखिएको सडक विभागले जनाएको छ । विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर राकेश महर्जन फ्लाईओभर निर्माण कार्य समयमै सम्पन्न हुने आशङ्का व्यक्त गर्नुहुन्छ ।

उहाँले भन्नुभयो, “फ्लाइओभरको अहिलेको प्रगति ३० प्रतिशतको हाराहारीमा छ । त्यसैले फागुनमा फ्लाइओभर निर्माण कार्य सक्न मुस्किल देखिन्छ । निर्माण कम्पनीले तोकिएको समयमा सक्यो भने त राम्रै भयो ।”

आफूहरूको आङ्कलन अनुसार आगामी जेठ पहिलो हप्तासम्म निर्माण कार्य सम्पन्न भएर सवारी नै गुडाउन सकिने अवस्था रहने उहाँको भनाइ छ ।

भिडियो :केशब गुरुङ

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।