• ११ मंसिर २०८१, मङ्गलबार

समायोजन भएका विद्यालयका ७५ जना शिक्षकको दरबन्दी मिलान

blog

भावना जोशी 

अत्तरिया, मङ्सिर २१ गते । धनगढी उपमहानगरपालिकाले विद्यालय समायोजनको कामपछि शिक्षक दरबन्दी मिलानको काम पनि सम्पन्न भएको छ । यही साउन महिनादेखि उपमहानगरपालिकाले विद्यालय समायोजनको काम सुरु गरिएको थियो । विद्यार्थी सङ्ख्या न्यून रहेका विभिन्न १४ वटा विद्यालयमा तह र कक्षा समायोजन गरेको उपमहानगरले मङ्सिरमा दरबन्दी समायोजन गरेको हो । १४ वटा विद्यालयको तह र कक्षा समायोजन गरेको उपमहानगरपालिकाले ७५ जना शिक्षकको दरबन्दी मिलान गरेको छ ।

बाल विकासका र प्राथमिक तहमा २९÷२९ जना, निम्न माध्यमिक तहमा ११ र माध्यमिक तहमा ६ जना शिक्षक दरबन्दी मिलानमा परेका उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले  जानकारी दिनुभयो । त्यस्तै, ४ जना विद्यालय सहयोगीको पनि दरबन्दी मिलान गरिएको छ । सामुदायिक विद्यालयको सुधारका लागि यो वर्षबाट धनगढीमा नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम लागू भएको छ ।

जस अन्तर्गत ग्रामीण क्षेत्रका पाँच वटा विद्यालयलाई नमुना विद्यालय बनाउने योजना अगाडि बढेको महाशाखा प्रमुख खातीले जानकारी दिनुभयो । विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गरी शिक्षकहरूको पदस्थापन समेत भइसकेको उहाँले बताउनुभयो । उपमहानगरले विभिन्न सहयोगी संस्थासँगको साझेदारीमा सामुदायिक विद्यालय सुधारको योजनासमेत अगाडि बढाएको छ  ।