• १६ असार २०८१, आइतबार

तानसेनमा मेयर कप सुरु

blog

उद्घाटनमा खेलाडीलाई बल प्रदान गरिँदै । तस्बिर : गोरखापत्र

रेखीराम राना

तानसेन, मङ्सिर २० गते । तानसेनमा प्रथम मेयर कप प्रतियोगिता सुरु भएको छ । तानसेन नगरपालिकाको आयोजनामा बुधबारदेखि सुरु भएको कप प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा वडा नम्बर १४ अर्गलीलाई वडा नम्बर ९ दमकडाले ५–० गोलले पछि पारेको छ । 

दमकडाका लागि आशिष् राना र अङ्कित मश्राङ्गीले दुई दुई गोल गरे भने जोन मश्राङ्गीले एक गोल थपेका थिए । अर्गलीका खेलाडीले गोल गर्नबाट चुकेका छन् । बिहीबार ७ र ३, शुक्रबार ५ र १ (ख), शनिबार ४ र २, आइतबार ६ सँग ५ र १ (ख) को विजेता, सोमबार १ (क) सँग ४ र २ को विजेता बिच प्रतियोगिता हुने नगर खेलकुद समितिका अध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिनुभयो । 

मेयर कप प्रतियोगिता अन्तर्गत फुटबल, क्रिकेट र व्याडमिन्टन प्रतियोगिता हुने नगर खेलकुद विकास समितिका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । फुटबल प्रतियोगितामा प्रतियोगितामा विजेतालाई नगद एक लाख, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । उपविजेताले नगर ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ ।

पहिलो पटक प्रतियोगिता गरेको मेयर कप अन्तर्गत फुटबल प्रतियोगिताको लुम्बिनी प्रदेशसभा सदस्य वीर बहादुर रानाले उद्घाटन गर्नुभयो । उहाँले खेलाडीलाई हौसला प्रदान गर्न र नयाँ खेलाडी उत्पादन गर्न मेयर कप प्रभावकारी बन्नुपर्ने बताउनुभयो । 

नगरभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाएको यस प्रतियोगितामाले खेलाडीमा थप हौसला बढाउने र नयाँ खेलाडी उत्पादन हुने प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनुभयो । 

प्रतियोगिताको व्यवस्थापन जिल्ला फुटबल सङ्घले गरेको नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । नगर क्षेत्रमा क्रियाशील खेलाडीहरूको अन्तर्निहित क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।