• १४ असार २०८१, शुक्रबार

राजनीतिक दललाई विद्यालयका कक्षाकाेठा प्रयोग गर्न नदिने

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर २० गते । झापाको कमल गाउँपालिकाले विद्यालय हल तथा कोठाहरू कुनै पनि राजनीतिक दलहरूलाई कार्यक्रम गर्न तथा बैठक बस्न उपलब्ध नगराउने निर्णय गरेको छ । गाउँपालिकाले कुनै पनि राजनीतिक कार्यक्रमहरू विद्यालय परिसरमा गर्ने कार्यलाई रोक लगाउने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष एवम् गाउँ शिक्षा समितिका संयोजक हुकुमसिंह राईका अनुसार गाउँपालिकाको शिक्षा समितिले गरेको यो निर्णय कार्यान्वयन गरिने छ । विद्यालयहरूमा राजनीतिक दलका भेला तथा बैठकहरू भइरहने र यसले विद्यार्थीमा नकारात्मक असर पर्न सक्ने भएर यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो । 

"निजी र सामुदायिक दुवै विद्यालयहरूले यसको कार्यान्वयन गर्नुपर्नेछ । गाउँघर तथा ग्रामीण क्षेत्रमा कार्यक्रम गर्ने हल तथा भेला गर्ने सार्वजनिक स्थलको रूपमा विद्यालयलाई प्रयोग गरिन्छ । सम्पूर्ण विद्यालयहरूलाई परिपत्र गर्दै राजनीतिक दलका कार्यक्रमहरूका लागि हल तथा कक्षाकोठा उपलब्ध नगराउन भनेका छौँ", राईले भन्नुभयो ।

कमल गाउँपालिकाले यसअघि सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरुले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा नै आफ्ना छोराछोरी पढाउनुपर्ने निर्णय पनि गरेको थियो । सबै विद्यालयहरूलाई परिपत्र गरिएको र यसको प्रभावकारी अनुगमन गरिने समेत पालिकाले जनाएको छ ।