• १२ साउन २०८१, शनिबार

तरकारीको उचित मूल्य नपाउँदा कृषक चिन्तित

blog

चितवनमा लगाइएको तरकारी बाली । तस्विर : शान्ता अधिकारी

शान्ता अधिकारी

चितवन, मङ्सिर २० गते । पछिल्लो समय तरकारीको मूल्य ओरालो लागेर लागत मूल्यसमेत नपाउने अवस्थामा पुगेपछि कृषकहरु चिन्तित बनेका छन् । बजार मूल्य ओरालो लाग्दै लागतसमेत नउठ्ने भएपछि यहाँका कृषक बारीमा तयारी भएको तरकारी टिप्नु कि नटिप्नुको अवस्थामा पुगेका छन् । 

राप्ती बैरनीका कृषक चूडामणि बस्नेत भन्नुहुन्छ केही दिन भयो बन्दा त टिपेकै छैन । उहाँले एक बिघाभन्दा बढी जमिनमा बन्दा, भान्टा र गोलभेँडा लगाउनुभएको थियो । सबै बालीको यतिबेला उत्पादन लिने अवस्था छ । उहाँ भन्नुहुन्छ, "बन्दा एक किलोग्रामको १० रुपियाँ पनि पर्दैन । गोलभेँडाको १२ देखि १५ रुपियाँ छ । टिप्ने कि बारीमै छोड्ने ? केही दिन भयो बन्दा र भाण्टा त टिपेकै छैन ।"

अघिल्लो महिनासम्म दैनिक ४० देखि ५० टन तरकारी सङ्कलन गर्ने गरेको राप्तीको जनजागृति हरियाली ताजा तरकारी तथा फलफूल सहकारी संस्थामा हिजो आज दैनिक चार पाँच टन मात्र तरकारी सङ्कलन हुने गरेको छ । सहकारीका अध्यक्ष धर्मराज कँडेलका अनुसार कृषकको लागत समेत नउठने अवस्था सिर्जना भएपछि सङ्कलन कम भएको हो । "बिक्री पनि छैन र सङ्कलन पनि छैन", उहाँ भन्नुहुन्छ, "माग भए सङ्कलन पनि हुन्छ । कृषकको बारीमा तरकारी कुहिएर जाने अवस्था छ । बजारमा न त भाउ छ, न त माग नै । माग पनि नहुने भाउ पनि नपाउने भएपछि किसानले तरकारी नै टिप्न छोडेका छौं ।" उहाँका अनुसार सहकारीबाट एक क्रेट गोलभेँडा (२३ किलोग्राम) पाँच सय रुपियाँमा बिक्री भएको छ । यसमा किसानले प्रति किलोग्राम १२ देखि १५ रुपियाँ पाउँछन् । एक केजी गोलभेँडा उत्पादन गर्न सालाखाला २० रुपियाँ लागत लाग्ने गरेको उहाँ बताउनुहुन्छ । त्यस्तै एक किलोग्राम काँक्रोको १० रुपियाँ, काउलीको २० देखि २५ रुपियाँ, बन्दाको १० रुपियाँ भन्दा कम र च्याउको ४० रुपियाँमा किसानले चित्त बुझाउनुपर्ने अवस्था छ ।

राप्तीमा जीविकोपार्जनको लागि करेसाबारीदेखि १५ देखि २० बिघा जमिनमा व्यवसायिक तरकारी खेती गर्नेसम्मका किसान छन् । राप्तीको ठूलोमध्यको यो सहकारीले चितवनबाहेक काठमाडाैंकाे कालीमाटी, बल्खु, पोखरा, बाग्लुङलगायतका बजारमा तरकारी पठाउने गर्दछ ।

चितवन र मकवानपुर कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र चितवनका बाली विकास अधिकृत उमराज अर्यालको भनाइमा बाली विविधीकरणको अभावले कृषक ठूलो मारमा परेका छन् । उनीहरु बिचमै एक आपसमा कसले सस्तोमा बेच्ने भन्ने प्रतिस्पर्धा छ । उहाँका अनुसार पूर्वी चितवनमा बन्दा, काउली, भान्टा, गोलभेँडा, क्याप्सिकन जस्ता तरकारी लगाएका छन् भने पश्चिम चितवनका अधिकांश कृषकले काउली, बन्दा, गाजर अलावा लौका, बोडी, करेला, सिमी जस्ता लहरे बाली लगाउने गरेका छन् । यतिबेलाको अवस्थामा पालुङको काउलीबाहेक अन्य उत्पादनमा चितवनभन्दा मकवानपुरका कृषकले केही राम्रो मूल्य पाएको उहाँले बताउनुभयो ।

प्रत्येक वर्ष तरकारी बिक्री नभएपछि सडकमा फाल्ने गरेका चितवनका कृषक यतिबेला पुनः त्यस्तै अवस्थामा पुगेका छन् । कतिपय कृषकले अर्को बाली लगाउनको लागि उत्पादन हुँदै गरेको जमिन जोत्न थालेका छन् ।

चितवनमा सात हजार सात सय र मकवानपुरमा चार हजार २५० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरेको अनुमानित तथ्याङ्क कृषि ज्ञान केन्द्रको छ ।