• १२ मंसिर २०८१, बुधबार

जनताको सुझाव सङ्कलनका लागि पहाडको बाटो हिँडेका छौँ : अध्यक्ष ओली

blog

एमालेले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको क्रममा सल्यानको सल्लीबजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपा (एमाले) अध्यक्ष केपी ओली । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा 

सल्यान, मङ्सिर १९ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताका समस्या समाधानका लागि पहाडै पहाडको बाटो जनताको  सुझाव सङ्कलन गर्न हिँडेको बताउनुभएको छ ।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको क्रममा सल्यानको सल्लीबजारमा  आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरूले जनताको  समस्या अध्ययन र समाधानको लागि अभियानमा हिँडेको बताउनुभयो । उहाँले भन्नुभयो,  ‘‘अभियानका क्रममा जनताको समस्याको स्थलगत अध्ययन  ग्रामीण क्षेत्रका जनताका सुझाव सङ्कलन गर्नुको साथै त्यहाँको विकासको अवस्थालाई राम्रोसँग नियालिएको  छ ।’’

एमाले सरकार हुँदाका बखत थालिएका परियोजना अहिलेको गठबन्धन सरकारले रोकेको छ । उहाँले भन्नुभयो, ‘‘विकास, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणको अवस्था बिग्रँदो रहेको छ । हामीले अघि सारेका स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायतका अनेक क्षेत्रको विकास रोकिएको छ ।’’ 

‘‘राजनीतिक अस्थिरता, आर्थिक सामाजिक र सांस्कृतिक रूपमा देश ओरालो लागेको छ’’, ओलीले भन्नुभयो । 

राष्ट्रिय एकता कायम गर्न, देशको स्वाधीनता र सार्वभौमिकतालाई जोगाउन एमाले नेतृत्वको तीन वर्षे सरकारले समृद्धि र विकासको लहर चलाएको तर्क गर्दै अध्यक्ष ओलीले मुलुकमा अहिले देखिएका समस्याको हल एमालेबिना असम्भव रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अहिलेको राजनीतिक अस्थिरता, अराजकता र बेथिति रोक्न एमालेले मात्र सक्छ । विकास र समृद्धिले गति दिन्छ ।’’