• १२ मंसिर २०८१, बुधबार

धुलियाबिट–भेडाबारी सडक

ठेक्काको म्याद थप्ने तयारी

blog

मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाबिट–भेडाबारी सडकखण्ड ।तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, मङ्सिर १८ गते । मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाबिट–भेडाबारी सडकको सम्झौता अवधि सकिन एक महिना मात्रै बाँकी छ । सम्झौता अनुसार सडकको काम सम्पन्न गर्न भने अझै ४५ प्रतिशत बाँकी छ । पुस १३ गते ठेक्काको सम्झौता सकिँदै छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७८ असार २८ देखि योजना सुरु भएको थियो । अहिलेसम्म ५५ प्रतिशत मात्र कार्यप्रगति भएको बताइन्छ । वित्तीय प्रगति ४८ प्रतिशत हासिल भएको छ ।

धुलियाबिट–भेडाबारी ३५ किलोमिटर सडक स्तरोन्नतिका लागि एक अर्ब ९४ करोड ८४ लाख २३ हजार छ सय रुपियाँ लागत अनुमान गरिएको छ । ठेक्का सम्झौता एक अर्ब तीन करोड २३ लाख ७८ हजारमा भएको छ । लागत अनुमानभन्दा ४१ प्रतिशत कममा निर्माण कम्पनीसँग सम्झौता भएको हो । निर्माणको जिम्मा कालिका के एस बेदान्सी जेभी कैलालीले लिएको छ । अहिलेसम्म ४७ करोड बजेट मात्र खर्च भएको मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतले जनाएको छ ।

यो दुई वर्षमा साढे पाँच किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । २९ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । एक किलोमिटर सडक कालोपत्रेका लागि तयार पारिएको, दुई किलोमिटरमा बेस निर्माण गरिएको, पाँच किलोमिटरमा सब–बेस निर्माणको काम सम्पन्न भएको राजमार्ग कार्यालयले जनाएको छ । अहिले सडकमा बेस र सब–बेसको काम भइरहेको कार्यालयका इन्जिनियर रामसागर हरिजनले जानकारी दिनुभयो । सडकको नाला, पर्खाल, कल्भर्ट जस्ता काम सकिएर अब कालोपत्रेलगायतका काम गर्न मेसिनरी उपकरण प्रयोग हुने कार्य मात्र बाँकी रहेको बताइन्छ ।

तोकिएकै मितिमा काम सम्पन्न नहुने भएपछि मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले म्याद थप गर्ने तयारीसमेत गरेको छ । अझै डेढ वर्ष म्याद थप गर्ने मनसायमा कार्यालय रहेको छ । कार्यालयका इन्जिनियर हरिजनले काम सम्पन्न गर्न अझै एक वर्ष लाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्झौताको म्याद सकिन एक महिना मात्र बाँकी छ । ४५ प्रतिशत काम बाँकी रहेकाले म्याद थप गर्न लागिएको हो ।”

पछिल्लो समय सडक निर्माणको काम भने धमाधम अघि बढेको उहाँको भनाइ छ । बोटेचौरदेखि चिङ्गाडसम्मको करिब २५ किलोमिटर सडकखण्डको स्ट्रक्चरको काम ९५ प्रतिशत सकिएको छ । उक्त खण्डमा ८५ प्रतिशत ग्राभेलको काम सम्पन्न भएको छ । अब मेसिनको काम मात्र बाँकी छ । राजमार्गमा कालोपत्रे भइरहेको सडक दुई लेनको बन्ने छ । अहिले औसत चार मिटर चौडाइ रहेको सडक स्तरोन्नति गरेर नौ मिटर बनाउन लागिएको हो ।

सडक क्षेत्रमा पर्ने रुख कटानको काम भने अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । केही ठाउँमा रुख कटानको काम सकिएलगत्तै निर्माणको काम थालिएको आयोजनाका इन्जिनियर हरिजनले जानकारी दिनुभयो । सुर्खेत र गुर्भाकोट खण्ड तथा लेकबेँसी खण्डमा रुख कटानको काम सकिएको छ । अहिले रुख कटान सकिएका ठाउँमा निर्माणको काम भइरहेको जनाइएको छ । आयोजनाको आधा क्षेत्र जङ्गल पर्ने भएकाले रुख कटानसँगसँगै निर्माणको काम थालिएको हो । स्तरोन्नति भइरहेको सडकखण्डले पूर्वी सुर्खेतका मुख्य व्यापारिक केन्द्रलाई जोड्छ । यस क्षेत्रमा वीरेन्द्रनगर, लेकबेँसी र गुर्भाकोट नगरपालिकाका भूभाग पर्छन् । राजमार्ग अन्तर्गत ३५ किलोमिटर क्षेत्र पूर्वी सुर्खेतमा रहेको छ । पहिल्यै बनेका सडक जोडेर स्तरोन्नतिको काम भइरहेको हो ।

नेपालका पूर्वपश्चिम जोड्ने राजमार्गमध्ये मदन भण्डारी राजमार्गलाई चौथो राजमार्गका रूपमा घोषणा गरिएको छ । यो राजमार्गले एक हजार दुई सय किलोमिटरमा पूर्वपश्चिम जोड्ने छ । विभिन्न १० वटा टुक्रे सडक एकीकृत गरेर पूर्वदेखि पश्चिमसम्म पु¥याउने गरी मदन भण्डारी राजमार्ग बनाइएको हो ।