• १२ मंसिर २०८१, बुधबार

अस्थायी आवास बनाउन रकम दिन सुरु

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, मङ्सिर १८ गते । भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि अनुदान रकम उपलब्ध गराउन सुरु गरिएको छ । सरकारले गरेको निर्णय अनुसार आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम प्रभावित परिवारको बैङ्क खातामा पठाउन थालिएको हो । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले स्थानीय विपत् व्यवस्थापन समितिको खातामा रकम जम्मा गर्न थालेपछि स्थानीय तहले लाभग्राहीको खातामा अनुदान रकम उपलब्ध गराउन थालेका हुन् । 

त्रिवेणी गाउँपालिकाले ६४ जना लाभग्राहीको खातामा रकम जम्मा गरिसकेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले ६४ जना प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि प्रतिआवास २५ हजारका दरले १६ लाख रुपियाँ लाभग्राहीको खातामा जम्मा गरिसकेको बताउनुभयो । त्यस्तै थप रकमसमेत आइरहेकाले आइतबारदेखि थप लाभग्राहीले पहिलो किस्ताबापतको रकम पाउने उहाँले जानकारी दिनुभयो । जिल्लाका अन्य स्थानीय तहले पहिलो किस्ताबापतको रकम लाभग्राहीको खातामा जम्मा गर्न सुरु गर्ने जनाएका छन् । 

पहिलो किस्तामा ३६ करोड निकासा

अस्थायी आवास निर्माण गर्न हालसम्म ३६ करोड ४३ लाख ७५ हजार रुपियाँ स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा पठाइएको जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । 

उहाँका अनुसार बुधबार, बिहीबार र शुक्रबार गरी १४ हजार २२४ लाभग्राहीलाई पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाइएको हो । अस्थायी आवास अनुदान कार्यविधि, २०८० (दोस्रो संशोधनसमेत) बमोजिम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट पहिचान भई स्वीकृति भएर आएका लाभग्राहीका लागि पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाइएको हो । 

प्रजिअ पन्तका अनुसार अस्थायी आवास निर्माण गर्न आठबिसकोट नगरपालिकाका चार हजार पाँच सय लाभग्राहीलाई पहिलो किस्ताबापत ११ करोड २५ लाख रुपियाँ पठाइएको छ । त्यस्तै चौरजहारी नगरपालिकाका छ हजार ७६९ लाभग्राहीलाई १५ करोड ६९ लाख ७५ हजार, त्रिवेणी गाउँपालिकामा एक हजार १२४ लाभग्राहीका लागि दुई करोड ८१ लाख र सानीभेरी गाउँपालिकामा दुई हजार ३२१ लाभग्राहीका लागि पाँच करोड २५ लाख २५ हजार रकम पठाइएको छ ।

स्थानीय तहबाट अस्थायी आवास निर्माण गर्नुपर्ने पूर्ण विवरण भने अझै आइसकेको छैन । स्थानीय समितिबाट पहिचान भई आएका लाभग्राहीलाई पहिलो किस्ताबापतको रकम पठाएको र थप विवरण आउने कार्य जारी रहेको प्रशासन कार्यालयले जनाएको छ । भूकम्पबाट घर क्षति भएकालाई सरकारले अस्थायी आवास निर्माणका लागि दुई चरणमा गरी ५० हजार नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ ।