दोलखा समाचारदाता
दोलखा, मङ्सिर १८ गते । शैलुङ गाउँपालिका–५ ले सदरमुकाम चरीकोट आवतजावत गर्ने मुख्य चरङ्गे–शैलुङ सडकखण्डको चर्नावती हाइड्रो पावरदेखि २१० मिटर सडक सोलिङ गरेको छ ।
चालु आर्थिक वर्षमा राखिएका १७ वटा योजनामध्ये यो सडक चार लाख रुपियाँ लागतमा सोलिङ सम्पन्न गरिएको वडाध्यक्ष दिलकुमार तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार तीन महिनामै सम्पन्न गरिएको हो । सोलिङले सडकमा आवतजावत गर्न सहज भएको छ । सो वडाले असारमै काम सक्ने चटारो हुने र गुणस्तरीय काम नहुने परिपाटीलाई अन्त्य गर्ने जनाएको छ ।
वडाध्यक्ष तामाङले भन्नुभयो, “एक करोड पाँच लाख रुपियाँका १७ वटा योजना आगामी वैशाखमै सम्पन्न गर्ने गरी काम भइरहेको छ । सोही योजनामा ११ वटा सडक, तीन वटा सिँचाइ र तीन वटा भवन निर्माण गर्नुपर्ने छन् ।”
यो आर्थिक वर्षबाट वीरेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थीका अभिभावकले मात्र काम गर्न पाउने गरी १६ लाख रुपियाँ लागतमा ३१ सय घनमिटर सडक सोलिङ गर्ने व्यवस्था मिलाइएको छ । यसबाट ‘एक पन्थ दोकाम’ भन्ने उक्तिलाई सार्थक बनाउने छ, उहाँले भन्नुभयो, “सडकको काम पनि हुने काम गरेबापतको ज्याला पाएपछि अभिभावकलाई स्टेसनरी, पुस्तकलगायत खर्च बेहोर्न सहज हुने छ ।”