• १० मंसिर २०८१, सोमबार

विस्मृतिका शिखर व्यक्तित्व जगदीश

blog

जगदीश नेपाली भाषासेवी महानन्द सापकोटाका छोरा हुन् । यसो भन्दा उनको व्यक्तित्वलाई पिताको व्यक्तित्वले थिचेको महसुस हुन्छ । नेपालमा यस्ता प्रतिभा धेरै छन् जसलाई पिता, पति, दाजुुभाइ, सन्तानको व्यक्तित्वले छायामा पारेको छ । सामाज सुधारक, शैक्षिक आन्दोलक, साहित्य सर्जक, साहित्यसेवी र राजनीतिक आन्दोलकका धेरै व्यक्तित्व एकैमा देखिने व्यक्ति हुन् जगदीश नेपाली । यस अर्थमा उनी बहुआयामिक व्यक्तित्व हुन् । भनिए जस्तै मोफसलका किनारीकृत प्रतिभा हुन्, पिताका कारण पनि छोपिएका व्यक्तित्व हुन् । 

जगदीश नेपालीको पहिला साहित्यिक व्यक्तित्व नियालौँ । घर परिवार र सङ्गत साहित्यिक भएको कारण जगदीश साहित्य सिर्जनामा सजिलै लाग्ने वातावरण बन्यो । जन्मदा मानिस समान भए पनि परिवेश र सङ्गतले असमान बनाउने गर्छ भन्ने भनाइ उनको सन्दर्भमा पनि मिल्न जान्छ । महानन्द सापकोटा साहित्य र व्याकरणको मानक व्यक्तित्व थिए, जदीशलाई पिताश्रीको प्रभाव र सङ्गत लाग्ने नै भयो । उनले लघुकथालाई साहित्य सिर्जनाको विधा बनाए । महान अरबी कथाकार खलिल जिब्रानबाट प्रभावित नेपालीलाई नेपालका खलिल जिब्रान पनि भन्ने गरिन्छ । नेपाली लघुकथाको दोस्रो चरणका महान् कथाकार जगदीशका कथाहरू फुटकर रूपमा प्रकाशित हुन्थे । २०२१ देखि २०३७ लेखिएका कथाहरूको सङ्ग्रह ‘जगदीश नेपालीका केही लघुकथा २०३९ मा प्रकाशित छन् । वरिष्ठ समालोचक प्राडा कुमारप्रसाद कोइरालाले सामाजिक विकृतिप्रति व्यङ्ग्य, नारी भेदभावप्रति व्यङ्ग्य, राजनीतिक/प्रशासनिक विकृतिप्रति व्यङ्ग्य, नीतिमूलकता/उपदेशात्मक, यथार्थवादी, विषयगत विविधता, लघुतम रूपाकार, प्रतिनिधिमूलक पात्रको प्रयोग र यथार्थवादी भाषाशैली भनी उनको कथा प्रवृत्तिमा विश्लेषण गरेका छन् । वरिष्ठ साहित्यकार आर डी ‘प्रभास’ चटौत जगदीशका लघुकथामा शब्द शब्दमा शास्त्र र दर्शन देख्छन्, शब्दका गुजुल्टो नभई रोचक र घोचक छन् । व्यङ्ग्यात्मक प्रस्तुति तत्कालीन राजनीतिक व्यवस्थाको उपज पनि थियो । शासन व्यवस्था निर्देशित र निरङ्कुश थियो, व्यङ्ग्य प्रतीक प्रयोगबाट नै तत्कालीन समाजको चित्रण गर्न र शासन व्यवस्थालाई घोच्न सकिन्थ्यो । 

जगदीशका लघुकथा सूत्रात्मक संरचनामा व्यङ्ग्यले भरपुर छन् । वंश परम्परा जाला र ? सम्झना १, सम्झना २, चोरगोठालो, अपराधी को ? इमानदार भारदार जस्ता लघुकथाहरू रूप र आकारमा सङ्क्षिप्त र साना छन् तर सन्देश र समाजलाई प्रतिनिधित्व गर्ने सन्दर्भमा निकै गहन र फराकिला छन् । उनका कथाको भावभूमि त्यतिखेरको समाज, शासन र प्रशासन हो । उनले जीवनकालमा कथालाई पुस्तकाकारमा लैजाने चाख देखाएनन्, भनौँ समय र सन्दर्भले प्रकाशन प्राथमिकतामा परेनन् । उनका सिर्जना कहाँ कहाँ छरिएर रहेका छन् भन्ने पनि खोजको विषय छ । उनको अरू व्यक्तित्व र वृत्तिले पनि रचना सङ्ग्रह प्रकाशन गर्ने सन्दर्भ नमिलेको देखिन्छ । 

उनको अर्को व्यक्तित्व शैक्षिक साधक र सुधारकका रूपमा रहेको छ । धेरैले उहाँलाई मास्टर बाजेकै रूपमा पनि चिन्ने गरेका थिए । शिक्षामार्फत असल नागरिक निर्माण गर्न सकिन्छ, शिक्षाले चेतना, सिप र संस्कार दिन्छ । उनको समयमा शिक्षाको ज्योति गाउँगाउँमा फैलिसकेको थिएन । शासन पनि शिक्षाको विरोधी थियो । सुरुमा भारतको आसामदेखि नेपालको इलामको करफोक, भोजपुर, धरानको पिण्डेश्वर संस्कृत महाविद्यालय, शारदा बालिका विद्यालय, त्रिभुवन विद्यापीठ रात्रि स्कुललगायतका विद्यालयमा उनले शिक्षकका रूपमा अमूल्य सेवा समर्पण गरे । धरानको पब्लिक हाइस्कुल र श्री शारदा बालिका विद्यालय स्थापनामा उनको सक्रियता थियो । पब्लिक माध्यमिक विद्यालय र शारदा बालिका माध्यमिक विद्यालय अहिले पनि पूर्व, विशेष त धरानका शैक्षिक विकासका धरोहरका रूपमा रहेका छन् । शारदा बालिका विद्यालयले नारी शिक्षा र सशक्तीकरणमा गरेको योगदान हामी कल्पना गर्न सक्छौँ । धरान मात्र होइन, भोजपुरलगायत पूर्वी पहाडी क्षेत्रमा उनले शैक्षिक चेतना फैलाउन गरेको निःस्वार्थ समर्पणले उनलाई पूर्वाञ्चलका शैक्षिक अभियान्ताका रूपमा चिनाएको छ । शिक्षक त जो पनि बन्छन्, विद्यालय स्थापना गर्न चन्दा सहयोग त जोकुनैले गर्न सक्छन् तर शिक्षा भनेको सेवा हो भन्ने आत्मिक समर्पण र निष्ठाभाव राख्ने त्यो पनि आफैँलाई भुलेर, परिवारलाई भुलेर जोकुनैले गर्न सक्दैनन् । यस अर्थमा जगदीश महान् शैक्षिक अधिष्ठाता थिए । 

चेतनशील व्यक्ति नागरिक ज्ञान, सिप र चेतनामा पनि जागरुक हुन्छ नै । सोक्रेटस युनानको चोक–चौबाटोमा रहेर नागरिक चेतना फैलाउथे, जसका कारण शासकबाट कठोर सजाय भोग्नु प¥यो । जगदीशको जीवनमा पनि त्यो देख्न सकिन्छ । कलिलो अवस्थामा नै घरपरिवार र पूर्वका राजनीतिक अभियान्तासँग उनको सङ्गत थियो । बाल्यकालमा आसामदेखि नै उनको राजनीतिक चेतना जागेको थियो । राणाविरोधी आन्दोलनमा जगदीशले भोजपुरलाई स्वतन्त्र बनाउने मोर्चाको नेतृत्व गरेका थिए । नेपाली कांग्रेसको युवाफ्रन्टमा लागेर राजनीतिक अभिभारा लिएका थिए । उनले मजदुर आन्दोलनको नेतृत्व पनि गरेका थिए । नेपालको टे«ड युनियन आन्दोलन राणा शासनको विरुद्धमा थियो । सात सालपछि भने मजदुर अधिकार र लोकतन्त्रलाई साथसाथ लैजाने अभियानमा रूपान्तरित भयो । जगदशीले यो कालखण्डलाई नेतृत्व दिएका थिए । अन्तर्राष्ट्रिय श्रम सङ्गठनका संस्थापक सदस्यका रूपमा पनि जगदीशले सक्रियता देखाइ नेपाली श्रमिक आन्दोलनलाई समृद्ध बनाउन, श्रमिकको हकहित विस्तार गर्न आफ्नो क्षेत्रबाट लागिरहे । 

जगदीशको तेस्रो व्यक्तित्व समाज सुधारकका रूपमा छ । उनले शैक्षिक साहित्यिक र सामाजिक अनुष्ठानको स्थापन, सञ्चालन र नेतृत्व गरेका थिए । पूर्वाञ्चल मोटर सिन्डिकेट, कोशी यातायात, मोरङ मोटर सिन्डिकेट, बुढा सुब्बा बस सेवा, साझा यातायात सञ्चालन जस्ता कार्यमार्फत धरानलाई केन्द्रबिन्दु मानी इलाम, झापा, राजविराज, मोरङ, धनकुटासम्म यातायात सेवा र आर्थिक गतिविधि विस्तार गर्ने उत्प्रेरक भूमिका खेलेका थिए । मोती संस्मरण समिति, महानन्द प्रकाशन, भानु प्रतिमा निर्माण र भानुचोकको स्थापना गरी साहित्य सेवामा अनवरत लागिरहे । धरानको आफ्नै घरमा छापाखाना स्थापना गरी साहित्य प्रकाशनलाई सघाएका थिए । अर्को भुलिएको तथ्य के पनि हो भने उनी सामाजिक समावेशिताका पक्षपाती थिए । समाजमा रहेको सामाजिक तहसोपानलाई भत्काउने क्रममा उनले आफ्नो थर सापकोटालाई आमराष्ट्रबासीको थर नेपालीले प्रतिस्थापन गरेका थिए । मानिस जात, वर्ग र सम्प्रदायमा बाँडिनु हुँदैन भन्ने मान्यता उनीमा थियो । सामाजिक स्वभाव र राष्ट्रिय भावनाको एकत्वीकरणका लागि पनि जगदीश सापकोटा ‘जगदीश नेपाली’ बनेका छन् । 

जगदीश निडर, हकी र न्यायिक मनका सामाजिक अभियान्ता थिए तर उनले भौतिक शरीर छाडेको चार दशकपछि मात्र उनको नाममा जगदीश स्मृति प्रकाशन भएको छ । सामान्य व्यक्तिको निधन हुने वित्तिकै वार्षिकीका रूपमा स्मृति ग्रन्थहरू प्रकाशन गर्ने परम्परा नेपाली समाजमा स्थापित भइसकेको छ । तर जगदीश नेपालीलाई न जिउँदोमा समाजले सम्मान ग¥यो, न उनको निधानपछि नै उनलाई यथोचित सम्झना गरियो । 

ढिलै भए पनि उनको निधनको बयालीस वर्षपछि वरिष्ठ साहित्यकार महेश प्रसाईको अगुवाइमा उनको बहुुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्ने काम भएको छ र सीता बस्नेत सापकोटाले पनि यस पुनित कार्यमा सहयोग गरेकी छन् । धरानका चर्चित साहित्यकार गिरिराज आचार्यले यसअघि जगदीशको साहित्यिक योगदानलाई मात्र समेटेर ‘चान्द्रमसी’ साहित्यिक पत्रिकामा विशेषाङ्क प्रकाशित गरेका थिए । महेश प्रसाईले भने उनको सम्पूर्ण व्यक्तित्वलाई प्रकाश पारी पुस्तक स्मृतिग्रन्थ प्रकाशन गरी उनको योगदानप्रति सामाजिक स्तरबाट केही न्याय दिने काम भएको छ । ग्रन्थमा वरिष्ठ साहित्यकार आरडी ‘प्रभास’ चटौत, यादव खरेल, कुमारप्रसाद कोइराला, गिरिराज आचार्य, भीष्म काफ्ले, टङ्कप्रसाद न्यौपाने, खेम कोइराला बन्धु, शैलुन्दप्रकाश नेपाल, कोषराज न्यौपाने, श्रीओम श्रेष्ठ ‘रोदन’, तुलसी भट्राई, दयाराम श्रेष्ठ, अशेष मल्ल, प्रमोद प्रधान, दधिराज सुवेदी, चिन्तक छविलाल पोखरेल, गुरु विश्वविमोहिनी, राजनीतिज्ञहरू गणेशमान श्रेष्ठ, बद्री पालिखे, वरिष्ठ पत्रकार हर्ष सुब्बा, पूर्वप्रशासक सूर्यप्रसाद उपाध्यायलगायत ६३ व्यक्तित्वहरूका सम्झना, विश्लेषण, मूल्याङ्कन समेटिएका छन् । ‘जगदीश नेपाली तीव्र सामाजिक दृष्टि भएका चेतनशील कथा स्रष्टा हुन्’, निडर सामाजिक आन्दोलक हुन्, खरो राजनीतिकर्मी र श्रम अधिकार अभियान्ता हुन् । सरकार र राज्यले उनलाई सम्झनु पर्छ, समाजले उनको चर्चा गरेर विस्मृतिमा पर्न दिनु हुँदैन, यो उनका लागि मात्र होइन, समाज र पुस्तामाथिको न्यायका लागि हो । 

  

Author

गोपी मैनाली