• १४ असार २०८१, शुक्रबार

चिया प्रविधिकाे पढाइ सुरु

blog

इलामको जसवीरेका रहेको चिया विस्तार आयोजनाको बगानमा चिया टिप्दै । : कोकिला ढकाल ।

कोकिला ढकाल 

इलाम, मङ्सिर १५ गते । नेपालमा चिया व्यवसाय सुरु भएको एक सय ६० वर्षपछि इलाममा पहिलो पटक चिया प्रविधिको पढाइ सुरु गरिएको छ । निर्यात वस्तुमध्ये विदेशी मुद्रा आर्जनका लागि पनि एक हिस्सा बन्न थालेको नेपाली चियाको क्षेत्रमा यो पढाइ निकै महत्त्वपूर्ण मानिएको छ । 

अहिलेसम्म भारत र अन्य मुलुकहरूमा गएर सिकेकै भरमा नेपालीहरूले तयारी चिया बनाउने गरेका थिए । यसपटकदेखि भने नेपालमै चिया प्राविधिक पढाइ सुरु गरिएको इलामको साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयका प्रमुख दीपक खनालले बताउनुभयो । खनालका अनुसार देश भरका ४० विद्यार्थीले पहिलो पटक यो शिक्षालयमा चिया प्रविधि पढ्दैछन् । चिया प्रविधि प्रि–डिप्लोमा तह (अप्रेन्टिशीप मोडिलाटी) मा रहेर चिया प्रविधि सम्बन्धी कक्षा सुरु गरिएको शिक्षालयका प्रमुख खनाल बताउनुहुन्छ । 

चिया प्रविधि पढाइका लागि दुई वर्षे पाठ्यक्रम भने यसअघिनै स्वीकृत भइसकेको थियो । "यो शिक्षामा विद्यार्थीहरूले पहिलो तीन महिना शिक्षालयमा अध्ययन गर्नेछन् । त्यसपछि उद्योगहरूमा चिया प्रविधि सिकाइको अभ्यास हुनेछ," प्रमुख खनालले भन्नुभयो, "यो पढाइमा ८० प्रतिशत चिया कारखानामा अभ्यास र २० प्रतिशत शिक्षालयमा पढाइ हुनेछ ।" विद्यार्थीलाई अभ्यास गराउन इलामका तीनजुरे चिया उत्पादक सहकारी संस्था, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था, हिमालयन साङ्ग्रिला, कञ्चनजङ्घा टी स्टेट लगायतका करिब १५ वटा कारखानामा व्यवस्था मिलाइएको बताइएको छ । 

"नेपालमा चिया सम्बन्धी प्रविधि सिकाइको पढाइ कतै पनि छैन । गुणस्तरीय तयारी चिया निर्माणका लागि भारतबाटै प्राविधिकहरू ल्याउनु पर्ने बाध्यता छ," शिक्षालय प्रमुख खनाल भन्नुहुन्छ, "नेपालमै दक्ष जनशक्ति उत्पादन गर्दा त्यो जनशक्ति देशभित्र खुलेका चिया उद्योगहरूमा खपत हुनसक्छ ।"

विदेशीले मन पराउने राम्रो र गुणस्तरीय चिया कसरी बनाउने भन्ने मुख्य हात भने चिया बनाउने प्राविधिकहरूकै हातमा हुन्छ । अहिलेसम्म भारत र अन्य मुलुकहरूमा गएर सिकेकै भरमा नेपालीहरूले तयारी चिया बनाउने गरेका छन् । गोल्डन, गोल्डन पर्ल, ओलङ, ह्वाइट, लगायत अनेक स्वादका चिया बनाउँदै आउनुभएका इलामस्थित जसवीरे चिया उद्योगका सञ्चालक तथा प्राविधिक शरद सुब्बा अहिलेसम्म अरुबाट सिकेकै भरमा सबै उद्योगहरूमा नेपाली चिया बन्ने गरेको बताउनुहुन्छ । अहिलेसम्म विशेषगरि भारतमा सिकेरै नेपाली उद्योगहरूले चिया बनाउँदैछन् । कतिपय उद्योगहरूमा त भारतीय नागरिकनै चिया प्राविधिक छन् ।

चिया प्रविधि पढाइका लागि यो वर्ष कोशी प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ । मन्त्रालयको सहयोग हुन्जेल यो शिक्षा लिने विद्यार्थीहरूले बिना खर्च अध्ययन गर्न पाउनेछन् । 

चियाको मुख्य क्षेत्र रहेको इलाममै चिया प्रविधि पढाइ हुँदा चिया क्षेत्रका लागि पनि उत्साहजनक विषय रहेको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई बताउनुहुन्छ । "विश्वमै गोल्ड मेडल पाएको नेपाली चियाका लागि अझ गुणस्तरीय चिया उत्पादनका लागि दक्ष जनशक्ति आवश्यक छ," राईले भन्नुभयो, "अब तालिमको सिकाइको भरमा मात्र होइन पढेरै आउने जनशक्तिले त्यो पुरा गर्छ भन्ने अपेक्षा छ ।" विसं १९२० मा इलामबाट सुरु भएको चिया खेती अहिले देशका दर्जन बढी जिल्लाहरूमा पुगेको छ ।