कबिराज घिमिरे
हिले, मंसिर १२ गते। कोशी राजमार्ग अन्तरगत धनकुटा तमोर नदीको पुल नजिकै सागुरीगढी गाँउपालिका एकमा उखुडाँडा छ। जहाँ सशस्त्र प्रहरीको चेक पोष्टसमेत रहेको छ। चेक पोष्टमा कुनै सवारी नम्बर दर्ता गर्न रोकिने बित्तिकै तँछाडमछाड गर्दै स्थानीय व्यापारीहरु ‘उखु खाम उखु’ भन्दै गाडीका झ्यालमा पुग्छन्।
धरान–धनकुटा सडक खण्डको यो साँगुरी गाउँपालिकाको वडा नम्बर १ र धनकुटा नगरपालिका वडा नम्बर ९ मा रहेको मुलघाटमा वर्षभरी उखु बेच्नेको भीड लागिरहन्छ। राजमार्गमा यातायातमा आउने यात्रुलाई उनीहरुले उखुको टुक्रा बनाएर प्रति मुठा ५० देखि एक सयसम्ममा बेच्ने गरेका छन्।
यहाँ सडकमा बेच्नको जति भीड लाग्छ त्यति नै धेरै यहि गाउँपालिकाको वडा नं. ७ स्थित लेउतीटार गाउँभरी उखु खेती पनि हुने गर्दछ। यहाँ उत्पादित उखु यातायातमा आउने यात्रुहरुलाई बेचेर यहाँका ६० भन्दा बढी घरपरिवार स्वरोजगार बनेको स्थानीय ६५ वर्षीया माघिश्वर लिम्बू बताउनु हुन्छ।
पहिला यहाँ ज्ञमरा जातको रातो उखु पाइए पनि रोगको प्रकोपले नष्ट भएपछि हाल त्यस्तै देखिने पानमारे रातो उखु किसानले लाउने गरेको लिम्बूले जानकारी दिनुभयो।
हाल गाउँमा निजी र भाडामा लिएर ६० भन्दा बढी किसानले उखु खेती गरिरहेको उहाँले जानकारी दिनुभयो। एक रोपनीमा लगाएको उखु ८० हजार ठेक्कामा बेचेको बताउने लिम्बूले आफ्ना दुई छोरा र बुहारी आफ्नो आंशमा लगाएको उखु व्यापार गरेर जीवनयापन गरिरहेको जानकारी दिनुभयो।
एक मात्र व्यवसायिक उखु खेती हुने यो लेउतीटार गाउँ जिल्लाकै पकेट क्षेत्र हो। कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक अनुसार जिल्लामा ५० हेक्टरमा उखु खेती हुने गर्दछ। जसमा ९९ प्रतिशत यहि लेउतीटारमा खेती हुने गर्दछ।