तनहुँ समाचारदाता
तनहुँ, असार १६ गते । कवि क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार वरिष्ठ साहित्यकार सरुभक्तलाई प्रदान गरिएको छ ।
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले सरुभक्तलाई आइतबार पुरस्कार प्रदान गरेको हो । नेपाली साहित्यको उन्नयनमा पुर्याएको योगदानको कदर गर्दै प्राज्ञ सरुभक्तलाई पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुभयो । पुरस्कारको राशि २५ हजार रुपियाँ रहेको छ ।
क्षेत्रप्रताप अधिकारी स्मृति दिवस चैत ३० गते वितरण गर्ने भनिए पनि सरुभक्त विशेष कारणवश उपस्थित हुन नसक्नु भएकाले नेपाल प्राज्ञ–प्रतिष्ठान साहित्य काव्य विभाग विभागको आयोजना र मञ्चको सहआयोजनामा भएको दुईदिने गण्डकी प्रदेशस्तरीय प्रज्ञा नारी काव्य गोष्ठीका अवसरमा पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठान अध्यक्ष बालहरि अधिकारी, प्राज्ञ बाबा बस्नेतलगायतले संयुक्त रूपमा सम्मानपत्र र नगद प्रदान गर्नुभयो ।