• १८ फागुन २०८०, शुक्रबार

ट्राफिक व्यवस्थापन र नागरिक

blog

सवारीचालकले सवारीसाधन चलाउँदा अनावश्यक हर्न बजाउने, तीव्र गतिमा सवारीसाधन चलाउने र मोबाइल फोनको प्रयोग गर्ने जस्ता व्यवहार आमरूपमा देख्न पाइन्छ । यसै गरी कतिपय चालकले सवारीसाधन चलाएकै बेला पनि मादक पदार्थ तथा लागुऔषध सेवन गर्ने गरेको समेत भेटिन्छ । जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता नदिने, सडक लेन उल्लङ्घन गर्ने तथा अव्यवस्थित पार्किङ गर्ने जस्ता व्यवहार पनि हामीले देखेकै छौँ । यति मात्र होइन भाडाका सवारीले निर्धारित दरभन्दा बढी सवारी भाडा लिने, रोक्न नपाउने ठाउँमा यात्रु चढाउने तथा ओराल्ने, सवारीसाधनको नियमित रूपमा मर्मत तथा सरसफाइ नगर्ने जस्ता कारणले आमसर्वसाधारण तथा यात्रुले दुःख पाउने तथा ट्राफिक व्यवस्थापनमा समस्या आउने गरेको पाइन्छ । अर्कोतर्फ जेब्रा क्रसिङको प्रयोग नगरी जथाभावी बाटो काट्ने तथा जहाँ मनलाग्यो त्यहीँ चढ्न र ओर्लिन खोज्ने प्रवृत्ति पनि पैदल यात्रुमा छ । 

गतहप्ता मात्रै महानगरीय ट्राफिक प्रहरी कार्यालयले १२,७११ जना चालकलाई कारबाही गरेको छ । यी त ट्राफिक प्रहरीको आँखाअगाडि भएका उल्लङ्घनका अवस्था हुन् । ट्राफिक प्रहरीले नदेखेका यस्ता घटना कति भएका होलान् हामीले कल्पना नै गर्न सक्दैनौँ । एक पटक ट्राफिक प्रहरीबिना काठमाडौँ उपत्यकाको सडकको कल्पना गरौँ त । के ट्राफिक व्यवस्थापन प्रहरीको मात्र जिम्मेवारी हो । सडकमा सवारीसाधनको प्रभावकारी र सहज सञ्चालनको जिम्मेवारी ट्राफिक प्रहरीको हो भनेर हामी नागरिक आफ्नो जिम्मेवारीबाट उम्किन मिल्छ र ? ट्राफिक प्रहरीबाट पनि नागरिक परिचालनका लागि ट्राफिक सप्ताह, विद्यालयमा सचेतनामूलक कार्यक्रम, विद्यार्थी तथा स्वयम्सेवकलाई सडकमै परिचालन गर्ने जस्ता केही नमुना अभ्यास गरे पनि सारभूत रूपमा नागरिकलाई जिम्मेवार गराउने गरी नागरिक परिचालनको अभ्यास गरेको भने पाइँदैन । बढीभन्दा बढी सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेबापत कारबाही गरियो भन्नुभन्दा ट्राफिक उल्लङ्घनका घटनालाई कमभन्दा कम कसरी गराउने भन्नेतर्फ ट्राफिक प्रहरीले आफ्नो भूमिका निर्वाह गर्नु पर्छ ।

ट्राफिक व्यवस्थापन

यातायात व्यवस्था विभागका अनुसार २०७५/७६ को फागुन मसान्तसम्म ३५ लाख ३९ हजार ५१९ सवारीसाधन दर्ता भएका छन् । काठमाडौँ उपत्यकामा मात्रै करिब २० लाख सवारीसाधन गुड्छन् भन्ने अनुमान छ । यी सबै सवारीसाधनको समग्र व्यवस्थापन उपत्यकामा रहेका नौ वटा ट्राफिक प्रहरी कार्यालयमा कार्यरत करिब ११ सय ट्राफिक प्रहरीबाट हुने गरेको छ । दिनरात, घामपानी, धुवाँधुलो नभनी, कोभिड–१९ लगायतका विषम परिस्थितिमा पनि अरोरात्र खटिएको ट्राफिक प्रहरीको भूमिकालाई प्रशंसा र 

सम्मान गर्नु पर्छ । काठमाडौँको ट्राफिक व्यवस्थापन प्रहरीको परिचालन र निगरानीबाट मात्र सम्भव हुँदै हुँदैन । यसमा नागरिक, स्थानीय तह तथा निजी क्षेत्र सबैको समन्वयात्मक कार्यको खाँचो छ ।

नागरिक परिचालनको अभाव

सभ्य सडक सहरको परिचय र सभ्यताको द्योतक पनि हो । माथि उल्लिखित तथ्य र तथ्याङ्कले हामी नेपालीको सडक सभ्यता र संस्कृति कस्तो छ आकलन गर्न सक्छौँ । सडक प्रयोगकर्ता हामी आफैँले चिन्तन÷मनन गरी कम्तीमा आफ्ना यस्ता व्यवहार तथा प्रवृत्तिलाई आजैबाट सुधार गर्नु पर्छ किनकि आत्मानुशासन नै सुधारको प्रमुख र उत्तम उपाय हो । अर्कोतर्फ ट्राफिक व्यवस्थापनका लागि सडकमा आफैँ खटिएर बढीभन्दा बढी सङ्ख्यामा कारबाही गरेर आफ्नो कार्यक्षमता पुष्टि गर्न चाहने आमट्राफिक प्रहरीको मनोविज्ञानमा पनि सुधार हुनु पर्छ । हामीले समय/समयमा देखेका छौँ महानगरीय ट्राफिक प्रहरी कार्यालयको नेतृत्व परिवर्तन हुनासाथ एउटा नयाँ विषय (जार्गन) ल्याई प्रसिद्धि कमाउन खोज्ने तर त्यस्ता सुधारका विषयलाई संस्थागत गर्नेतर्फ अर्को नेतृत्वले चासो नै नदेखाउने अवस्था पनि छ । कहिले डमी ट्राफिक प्रहरी चोकमा राख्ने, कहिले प्रहरी प्रमुख नै सर्वसाधारणको भेषमा त कहिले मादक पदार्थ मात्र होइन लागुऔषध सेवनको पनि परीक्षण गरी वास्तविक समस्या पहिचान गर्न खोजे जस्तो गर्ने विगतका यस्ता अभियान अहिले कता हराए ? जब नेतृत्व फेरिन्छ ती अभियान पनि आफैँ हराएर जाने गरेका छन् । 

यातायात समितिको जिम्मेवारी

मुलुकभरि सञ्चालित सार्वजनिक सवारीसाधन कुनै न कुनै समितिमा आबद्ध छन् । ट्राफिक प्रहरीले गरेको कारबाहीको प्रकृति विश्लेषण गर्दा ठुलो सङ्ख्यामा यस्ता सवारीसाधन परेको पाइन्छ । चालक ट्राफिक प्रहरीप्रतिभन्दा सवारी धनी तथा समितिप्रति प्रत्यक्ष रूपमा बढी उत्तरदायी हुने भएकोले सुधारका लागि यातायात समिति क्रियाशील हुनु पर्छ । यसका लागि समितिमा सम्बद्ध चालकलाई ट्राफिक नियम पालनासम्बन्धी प्रशिक्षण दिने, ट्राफिक नियम पालना गर्ने उत्कृष्ट चालकलाई सम्मान गर्ने तथा उल्लङ्घन गर्नेलाई कारबाही गर्न ट्राफिक प्रहरीसँग हातेमालो गर्ने जस्ता कार्य गर्नु पर्छ । भाडा वृद्धि गराउन सवारीसाधन सडकमा तेर्साउनेदेखि यातायात ठप्प पारी सरकारलाई दबाब दिन अग्रसर हुने तर ट्राफिक नियमलाई व्यवस्थित गराउने अभियानमा यस्ता समिति कति अग्रसर भएका छन् समीक्षा गर्नुपर्ने अवस्था छ । 

नमुनाका रूपमा सरकारी सवारीसाधन 

मुलुकभर दर्ता भएका सवारीसाधनमध्ये करिब १० प्रतिशत सरकारी साधन रहेको पाइन्छ । यसरी हेर्दा चार लाखभन्दा बढी सरकारी सवारीसाधनले सडकमा आफूलाई नमुनाका रूपमा प्रस्तुत गरेका छन् त ? पक्कै छैनन् यद्यपि कारबाही गरिएका सरकारी सवारीसाधन अलग्गै तथ्याङ्क सार्वजनिक हुने गरेको भने छैन । यस्तो तथ्याङ्क सार्वजनिक गर्न सकिएमा सरकारी साधन प्रयोगकर्तालाई थप नैतिक दबाब दिन सकिन्थ्यो कि ? चाहे सिंहदरबार होस् वा प्रदेश राजधानी कतै पनि सरकारी सवारीचालकलाई ट्राफिक नियम परिपालना, सडक अनुशासनमा उनीहरूको दायित्वको विषयमा नियमित प्रशिक्षण दिने गरेको नै पाइँदैन ।

आगामी दिशा

विगतदेखि अभियानकै रूपमा ट्राफिक प्रहरीले सञ्चालन गरेका कार्यक्रमलाई संस्थागत गरी निरन्तरता दिन जरुरी छ । सामुदायिक प्रहरीको अगुवाइमा घर/घरसम्म नागरिक सचेतनाका अभियान व्यापक रूपमा सञ्चालन गरी ट्राफिक व्यवस्थापनमा नागरिक सहभागिता वृद्धि गर्नु उत्तिकै आवश्यक छ । सवारीचालक मात्र होइन पैदल यात्रुबाट सडकमा प्रदर्शित हुने अनुशासनहीन क्रियाकलापको फोटो र भिडियो सामाजिक सञ्चालमा सार्वजनिक गर्ने तथा यस्ता गतिविधिलाई कारबाहीको दायरामा पनि ल्याउने । सडक अनुशासन उल्लङ्घनका घटनामा उजुरी गर्न नागरिकलाई उत्प्रेरित गर्ने । यसका लागि सडक अनुशासन उल्लङ्घनका घटना सम्बन्धमा नागरिकबाट आउने तथ्य÷प्रमाणसहितका सूचनालाई ट्राफिक प्रहरीले चासो र प्राथमिकता दिई सम्बोधन गर्ने तथा सूचना दिने नागरिकलाई सम्मान गरी उनीहरूलाई प्रेरित गरिरहने । 

सडक प्रयोग गर्ने सबैले ट्राफिक नियमको पालना गर्नु पर्छ । समयको उचित व्यवस्थापन गर्न नसकी नियमित काममा निस्किँदासमेत हतारको बहानामा सडक अनुशासन उल्लङ्घन गर्ने उच्च पदस्थबाट नागरिकले के सिक्ने ? नियम बनाउनेबाटै नियम उल्लङ्घन गर्दै जाने हो भने नागरिकबाट मात्र अनुशासनको अपेक्षा गर्नु किमार्थ न्यायोचित र नैतिक हुँदैन । ट्राफिक नियम उल्लङ्घन गर्ने सबैप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्नु जरुरी छ । 

  

Author

कवीन्द्र नेपाल