• ११ मंसिर २०८१, मङ्गलबार

त्रिपुरासुन्दरी मेला र भावी पुस्ता

blog

हात्ती आइ मचरकाइ लइग्यो, लालाझाडीका केला ।

तेरो मेरो भेट होला कि, कठै त्रिपुरा सुन्दरीका मेला ।।

नेपालीहरूले दुई महान् चाड दसैँ र तिहार मनाइसकेका छन् । तराईमा बस्ने मुख्य गरेर मैथलीबासीले धूमधामका साथ छठपर्व पनि मनाउँदै छन् । पानीका मुहानहरू सफा गरेर तन, मन, धनले श्रद्धापूर्वक छठपर्व मनाएको अन्य जातजातिका मानिसहरूले पनि हेरेर रमाइलो गर्दैं साथ पनि दिँदैछन् । वर्षमा एकचोटि भए पनि पानीका मुहानहरू सफा गरेर छठ मनाउने जातिहरूले अरूलाई ठुलो गुन लगाउँदै आएका छन् । पानीका मुहानहरू सफा भए मात्रै स्वच्छ पानी पिउन पाइन्छ र सुक्खा यामबाट बच्न पाइने कुरा सबैलाई थाहा नभएको होइन । जसरी छठपर्व मनाउनुअघि पानीका मुहान सफा गरिन्छन् । त्यसै गरी छठ मनाइसके पछि पानीका मुहान वरिपरि फोहोरमैला फाल्नु हुँदैन भन्ने सचेतना व्रतालुहरूमा हुनु पर्छ । देशका धेरै जसो भागमा चाडपर्वको रौनक सकिए पनि सुदूरपश्चिमको बैतडीमा भने विभिन्न ठाउँमा जात (मेला) लागिरहेका छन् । भाइटीकाको झन्डै एक हप्ता पछि अष्टमी र नवमीको दिनमा बैतडी दशरथचन्द नगरपालिका पुजारागाउँमा रहेको त्रिपुरासुन्दरी देवीको मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ । त्रिपुरासुन्दरी देवीको मन्दिरलाई पर्यटकीय क्षेत्रका रूपमा गणना गरिएको छ । पुजारा गाउँको टुप्पोमा चारैतिर डाँडाले घेरिएको, सलल बगेको महाकाली नदीको दृश्य, भारतका विभिन्न ठाउँको सजिलै अवलोकन गर्न सकिने अति नै रमणीय रातो रङ्गमा सजिएको छ त्रिपुरासुन्दरी देवीको मन्दिर छ । 

जिल्ला सदरमुकाम गढीबाट बसमा करिब १५ मिनेटको दुरीमा रहेको मन्दिर पर्यटकीय क्षेत्रको रूपमा सूचीकृत छ । त्रिपुरासुन्दरी भगवती मातालाई सात बहिनीमध्ये सबैभन्दा सुन्दर मानिन्छ । साथै मन्दिरको सुन्दरता र वरिपरिको वातावरण पनि अति नै मनमोहक छ ।

कार्तिकमा लाग्ने जातका लागि जिल्लाका विभिन्न ठाउँबाट राँगा, बोका भाकल गरेकाहरू बाजागाजासहित दुई दिन अगाडिबाटै मन्दिर आउने क्रम सुरु हुन्छ । विशेष गरी त्यहाँका चन्द (ठकुरी)हरू बिहानै नुहाइधुवाइ गरी सेतो लुगामा चिटिक्क परेर हातमा पुजा गर्ने सामग्रीहरू बोक्दै गाउँगाउँबाट खाली खुट्टा हिँंड्दै मन्दिर प्रवेश गरेर दृश्य हेर्नलायक हुन्छ । यो मन्दिरमा आफ्नो मनोकामना पूर्ण होस् भन्ने मनसायले या मनोकामना पूरा भइसकेपछि बलि दिने चलन छ । कोही भने आफ्ना इच्छा, आकाङ्क्षा पूर्ण होऊन् भनेर मन्दिरमा होम भइराखेको ठाउँमा बलेको दियो हातमा लिइ घण्टाँैसम्म उभिने गर्छन् । नुहाइधुवाइ गरी व्रत बसेर तीन दिन अगाडिबाट मन्दिरमा औराद (जाग्रम) बस्न थाल्छन् । यो मन्दिरमा नानी जात् (सानो मेला) अष्टमीको दिनमा लाग्छ । यो दिनमा भाकल गर्नेहरू भाकल गरेको सरसमान, पैसा, राँगा, बोका वा देउकी जे भए पनि बाजागाजासहित मन्दिरमा आइपुग्छन् । यो दिन पनि मन्दिरमा ठुलो मेला लाग्दछ । रातभरि मन्दिरभित्र देवीको पूजा गरिन्छ । धेरै टाढाबाट आफन्तकोमा बस्ने गरी आउनेहरू यही दिन मेलामा आइपुग्ने गर्छन् । भारतका विभिन्न ठाउँबाट समेत मेला हेर्न र भगवती माताको दर्शन गर्न सयौँको सङ्ख्यामा भक्तालुहरू आउने गर्छन् । 

कामको खोजीमा भारत पसेका युवासमेत एक्लै वा परिवारसहित नै मेलाका लागि घर आउने गर्दछन् । तिहारको लागि छुट्टीमा घर आएका युवासमेत मेला नहेरी काममा फर्कन रुचाउँदैनन् । वैशाख लागेसँगै गहुँ काट्ने, मकै लगाउने, रोपाइ गर्ने, असोजमा धान काट्ने, अन्नबाली थन्काउने, गाईबस्तुलाई खर काट्नेदेखि गहुँ लगाउने, खेतमा मल हाल्ने जस्ता कठिन कामहरू सकाएर केही दिनका लागि छुटकारा पाएपछि गाउँलेहरू हर्षोल्लासका साथ मेला हेर्न बिहानै मन्दिर पुगिसक्छन् । गाउँघरमा मनाइने यस्ता चाडपर्वले देश, विदेशमा बस्नेहरूलाई झलझली गाउँको याद गराइरहेको हुन्छ । गाउँघरको स्वच्छ वातावरण, एकअर्कालाई मद्दत गर्ने बानी, चाडपर्वहरू, ताजा आफ्नै खेतमा फलेका फलफूल तथा अन्नबाली, मूलको शुद्ध पानी कसैको अधीनमा नरही स्वतन्त्र रूपले काम गर्ने वातावरण नै गाउँघरका अमूल्य सम्पत्ति हुन् ।

साँच्चिकै भन्ने हो भने गाउँमा लाग्ने मेलापर्व नै मनोरञ्जनका साधन हुने गर्छन् । वर्षौंसम्म भेट नभएका माइती, आफन्त, इष्टमित्रसँग भेट गर्ने बहाना पनि हुन् सुदूरपश्चिमका मेला पर्व र जात्राहरू । मेलाबाटै उमेर पुगेका युवायुवतीले आफू सुहाउने वर खोजेर विवाह गरी घरजमसमेत गर्ने गरेका छन् । स्थानीय बासिन्दाका लागि आफ्नो बारीमा फलेका उत्पादन आदि बेचेर घरखर्च चलाउन पनि मेलाहरू अति नै महìवपूर्ण हुने गरेका छन् । मन्दिरमा पूजा गर्नकै लागि लाग्ने मेला, जात्राहरू आस्थाका धरोहरसमेत हुन् । मन्दिरमा भगवान्को अगाडि गएर कतिपय मानिसहरूले कुलतहरू छोड्ने, झुट नबोल्ने, गलत काम नगर्ने, घरपरिवारसँग झकडा नगर्ने वाचा कसम खाएर सुध्रिनेसमेत गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा घुम्नलायक ठाउँहरू पनि थुप्रै छन् । खप्तडका ठुला फाँटहरू, टे«किङका लागि बाजुराको बडीमालिका, साइपाल हिमाल, उराई भन्ज्याङ, सुर्मा सरोवर, अपि हिमालको मनोरम दृश्य, रामारोसनका तालहरू, मङ्गलसेन दरबार, उग्रसेन, निङलासैनी, त्रिपुरासुन्दरी देवीको मन्दिर, कञ्चनपुरको झोलुङ्गे पुल, चराहरूको मुख्य बासस्थान मानिएको रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल, रङ फेरिरहने झिलमिल ताल, मुख्य गरेर हरिण तथा कृष्णासारले भरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत क्षेत्रहरू रहेका छन् । सुदूरपश्चिम प्रदेशको छुट्टै भाषा, कला, संस्कृति, रहनसहन रहेको छ । बच्चादेखि बुढासम्म सबैले गाउन सक्ने, सबैका मनमा बसिरहने डेउडा गीत, गौरा पर्व पनि सुदूरपश्चिमका अमूल्य सम्पत्ति हुन् ।

बेरोजगारीका कारणले धेरै जसो युवा गाउँ छोड्न बाध्य भइरहेका छन् । वर्षौं दुःख गरी परदेशमा दुई पैसा कमाएर पहाडबाट तराई झर्ने व्रmम तीव्र रूपमा बढेको छ । यसले कैयौँ गाउँ उजाड हुन पुगेका छन् । गाउँमै बस्न खोज्नेका अन्नबाली रातदिनै जङ्गली जनावरहरू आएर नष्ट गरिरहेका छन् । आफूले दुःख गरी फलाएको अन्नबाली भित्र्याउन नपाउँदा किसानहरू रुनु न हाँस्नुको अवस्थामा पुगेका छन् । जङ्गली जनावरहरूकै कारण बसाइँसराइ गर्नुपर्दा कतिपय विद्यालय विद्यार्थीको अभावमा बन्द भइसकेका छन् भने कतिपय बन्द हुने अवस्थामा पुगेका छन् । जङ्गली जनावरहरूकै कारण गाउँघर रित्तिदै गएका छन् । आफ्नो जमिन बाँझो रहनुभन्दा यत्तिकै कमाएर खाउभन्दा पनि मान्छेहरू पाउन छोडिसकेका छन् । गाउँमै बस्नेहरूले पनि जङ्गली जनावरहरूका कारण आफ्नै जमिन बाँझो छोड्नु परेको छ । एकातिर बिस्तारै गाउँघर खाली भइरहेका छन् भने अर्कोतिर तराईका मलिला फाँटहरू कङ्व्रिmट जङ्गलमा परिवर्तन भइरहेका छन् । यसले देशको खाद्य सुरक्षामा असर पारिरहेको छ । गाउँघरमा पनि बिस्तारै पानी, बिजुली, यातायात, शिक्षा तथा स्वास्थ्य सेवा जस्ता अति आवश्यक वस्तुहरू पुगिरहेका छन् तर बस्ती खाली हुँदैछन् । गाउँघर छोड्नुपर्दा पनि स्थानीय स्तरबाट किसानहरूलाई गाउँमै टिकाइरहन र जङ्गली जनावरबाट अन्नबाली जोगाउन कुनै पनि प्रकारको सहयोग भएको देखिँदैन । जनताका पिर मर्का तथा समस्याहरू बुझेर समाधानतिर लाग्नु जनप्रतिनिधिको काम हो । भविष्यमा गाउँघरमा मनाइने चाडबाड तथा कला संस्कृतिले मात्रै गाउँका नागरिकहरूलाई गाउँघरमा टिकाइराख्न मुस्किल हुने छ । गाउँमा काम गरिखाने वातावरण नभएपछि हातमुख जोड्नकै लागि भए पनि मानिसहरूले गाउँ छोडेर हिँड्दा गाउँहरू पूर्ण रूपमा रित्तिदै जाने क्रम बढिरहेको छ । 

गाउँबस्तीहरू यसरी रित्तिनै जाने क्रम रोकिएन भने पहाडी र हिमाली क्षेत्रमा पुस्तौँदेखि मनाउँदै आएका मेला, जात्रा, पूजा, पाठ, धमेलो, माङल, फाग तथा लोकप्रिय डेउडाको अस्तित्वमाथि नै चुनौती थपिने निश्चित छ । बुढो पुस्ता बाँचुन्जेल पुराना संस्कृतिहरू देखिने छन् भने पछिल्ला पुस्तासम्म आइपुग्दा ती संस्कृतिहरू हराउने हुन कि भन्ने डर भइसकेको छ । ती संस्कार र संस्कृति कसरी मनाइन्थे, कुन तिथिबाट कुन तिथिसम्म के विधि, विधान अनुसार मनाइन्थे भन्ने कुराको जानकारी पछिल्ला पुस्ताले पाउन सक्ने वातावरण नभएपछि हराउन सक्ने सम्भावना छ । सानै उमेरमा शिक्षा तथा रोजगारीका लागि गाउँघर छाडेर वर्षाैंसम्म गाउँघर बाहिर बसेको युवा पुस्ताले आफ्नो पुर्खाले चलाएको संस्कृतिका बारेमा देख्न, भोग्न नपाएपछि त्यसको पुस्तान्तरण कसरी हुन सक्ला भन्ने कुराप्रति सरोकारवाला चिन्तित हुन जरुरी छ । 

  

Author

मञ्जु भट्ट