• २७ वैशाख २०८२, शनिबार

सिर्जनशील ऊर्जाको स्रोत चक्र विज्ञान

blog

सामान्य अर्थमा चक्र विज्ञान भनेको हाम्रो शरीरमा सूक्ष्म रूपमा रहेका चक्रलाई सक्रिय बनाई जीवनदायिनी कुण्डलिनी ऊर्जा जागृति गर्ने प्रयोगात्मक विधा हो । चक्र भौतिक शरीरको नभई सूक्ष्म शरीरको अङ्ग हो । यसलाई सक्रिय बनाउनका लागि साधना वा अभ्यास आवश्यक पर्छ । चक्र विज्ञानको सही अभ्यासले व्यक्ति सकारात्मक, स्वस्थ र आनन्दित बन्छ । यसको साथै व्यक्ति कर्मशील, साहसी र प्रेमिलसमेत हुने हुँदा सुख, शान्ति र समृद्धि प्राप्ति हुन्छ । हाम्रो शरीरमा नाभी वरिपरि र तलको भागलाई कुण्डलिनी क्षेत्र भनिन्छ, त्यही नै ऊर्जा केन्द्र रहेको हुन्छ । उक्त कुण्डलिनी नामक विद्युत् ऊर्जा सर्प आकारको छ र घोप्टो परेर बसेको छ, जसलाई जगाउनु आवश्यक छ । ऊर्जाको उत्पत्ति, वितरण र संहारका क्रममा पिङ्गला, इडा र सुषुम्नाका साथमा ७२ हजार नाडी सक्रियतापूर्वक काम गरिरहेका हुन्छन् । चक्रलाई साधनाको माध्यमबाट सक्रिय बनाउनु भनेको कुण्डलिनी जगाउनु मात्र नभएर उत्पन्न भएको ऊर्जाको उध्र्वगमन्, वितरण र प्रयोगलाई वैज्ञानिक बनाउनु पनि हो । 

सात चक्रको सामान्य चिनारी

हाम्रो शरीरको पहिलो चक्र मूलधार चक्र हो । पृथ्वी तत्वसँग सम्बन्धित यो चक्रको रङ रातो हुन्छ । मेरुदण्डको सबभन्दा तल्लो विन्दुमा त्रिकोणाकारमा रहने यो चक्र सक्रिय भएमा काममा सफलता प्राप्त हुनुका साथै स्वास्थ्य राम्रो हुन्छ । यो चक्रको ऋषि कर्म हो भने राक्षस आलस्य हो । मूलाधार चक्र सक्रिय हुनका लागि स्पर्श, ध्वनि, मन्त्र, श्वास र ध्यान गरी पाँच कुरा आवश्यक पर्छ । अञ्जनी क्रियाका साथमा लं ध्वनि निकालेर यो चक्रको साधना गरिन्छ । मूलाधार चक्रलाई जीवनभर सक्रिय राख्नका लागि सदैव ताजा, सात्विक र संयमित भोजन सेवन गर्नु पर्छ भने व्यक्ति सदैव सकारात्मक ढङ्गले सक्रिय रही र आफ्नो काम आफैँ गर्नु पर्छ । त्यस्तै हरेक काम पूरा गर्नुका साथै कर्मयोगलाई नै समृद्धिको मूल आधार बनाउने प्रण गर्नुपर्ने हुन्छ । समय व्यवस्थापन कौशल पनि मूलाधार चक्रसँग सम्बन्ध राख्ने हाम्रो जीवनको अति महत्वपूर्ण विषयमा पर्छ । 

दोस्रो चक्र हो स्वाधिष्ठान चक्र जसको ऋषि सुख (संस्कृतमा पुलत्स्य) र यसको वाधक वा राक्षस असन्तुष्टि हो । सुन्तला रङ हुने यो चक्रको मन्त्र साधाना गर्दा अञ्जनी क्रियासहित वं वाचन गरिन्छ । मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ मा उल्लेख भए अनुसार मनुष्यको पहिलो अधिकार नै खुसी हुनु हो । काम गरेर नतिजा निस्केपछि खुसी हुनुभन्दा काम गर्ने चरणमै खुसी हुनु उपयुक्त मानिन्छ । अमेरिका, स्विजरल्यान्ड र क्यानडामा सन् २०११ मा भएको एक अध्ययनको नतिजाले खुसी व्यक्तिको काम गर्ने क्षमता तीनदेखि आठ गुणा बढी हुने जनाइएको छ । खुसी व्यक्तिको शरीरमा आनन्दामाइट्स नामक रसायन बढी हुने एक अध्ययनले देखाएको छ । स्वाधीष्टान चक्र सक्रिय नहुँदा अरूप्रति गुनासो गर्ने र आफूसँग भएको चिजबाट चित्त नबुझाउने प्रवृत्ति हुन्छ । भनिन्छ कि खुसी व्यक्तिले कसैलाई बिगार्दैन । हार्वड विश्वविद्यालयले सन् २००४ अप्रिलमा गरेको एउटा अध्ययनले के देखाएको छ भने खुसी व्यक्ति मात्र आफ्नो काममा दिगो रूपमा लागि पर्न सक्छ । मानव जीवनको सफलताका चार मापदण्डमा खुसी, उपलब्धिको बोध, आफूले गरेको कामले समाजमा सकारात्मक प्रभाव पारेको छ भन्ने अनुभूति र जसले राम्रोसँग काम गर्छ, उसले सफलता पाउँछ भन्ने आममान्यता वा लिगेसी । आफूलाई सधैँ खुसी राख्न स्वजागरणका तीन वटा प्रतिज्ञा गर्नुपर्ने भनेर सुझाइएको छ । पहिलो ‘म खुसियालीको जिउँदोजाग्दो कारखाना हुँ भन्ने बुझी हरेक काम खुसी हुँदै गर्ने छु” । दोस्रो “म खुसियालीलाई जीवनको आधारविन्दु बनाउँछु ।’ तेस्रो ‘म हरेक भोगलाई पूजाको भावले हेर्ने छु र भोग्य पदार्थप्रति सम्मानले भरिने छु र यसैको माध्यमबाट म ईश्वर साक्षात्कार गर्ने छु ।’ 

तेस्रो चक्र मणिपुर चक्र हो, जुन हाम्रो नाभिस्थल नजिक रहेको मानिन्छ । यो चक्रको ऋषि वा केन्द्र इच्छाशक्ति हो भने राक्षस वा बाधक अव्यवस्थित जीवन हो । पहेँलो रङ हुने मणिपुर चक्रलाई सक्रिय राख्न रं मन्त्रोच्चारण, हुँकार प्राणायम्, ध्यान गर्नु पर्छ । यो चक्रका लागि आचरणका तीन नियम भनेका पहिलो “म जीवनका मूल विषयमा दीर्घकालीन लक्ष्य बनाउने छु र त्यो लक्ष्य हासिल गर्न योजनाबद्ध रूपमा काम गर्ने छु” हो भने दोस्रो “म मेरो हरेक दिनलाई तालिकाबद्ध रूपमा आफ्नो काम सम्पादन गर्ने छु” र तेस्रो “म आफ्नो ऊर्जा पूरै जगाएर र खुसी भएर नियमित ध्यान गर्ने छु” रहेको छ । 

चौथो चक्र भनेको अनाहद चक्र हो । यो चक्रको रङ हरियो हुन्छ । सात वटा चक्रमध्ये यो बिचको चक्र हो । यो चक्रको ऋषि प्रेम र राक्षस अपेक्षा हो । यसमा यं मन्त्रको साथमा प्राणायम् गरिन्छ । यो चक्र सक्रिय हुँदा म सबैको हुँ र सबै मेरा हुन् भन्ने भाव जागृत हुन्छ । अनाहद चक्रका लागि आचरणका नियम भनेको पहिलो “म सबै सम्बन्धमा आफ्नो प्रति रूप देख्ने छु र म अरूसँग ठिक त्यही व्यवहार गर्ने छु जुन म अरूबाट चाहन्छु” दोस्रोे “म प्रेमको आधारमा मेरो जीवनको पुनर्संरचना गर्ने छु र परिवार, छिमेक एवं समाजमा निरन्तर प्रेम फैलाउने छु” र तेस्रो “म लिनुमा भन्दा दिनुमा आनन्द देख्ने छु र यसैको माध्यमबाट सेवा, दान एवं पुण्य कर्म जीवनभर गर्ने छु” रहेका छन् । 

पाँचौँ चक्र विशुद्धि चक्र खास गरी विचार, वाणी, ज्ञानयोगसँग सम्बन्धित छ । यो चक्रको ऋषि वा केन्द्र विचार हो भने अज्ञान यसको राक्षस हो । विशुद्धि चक्रको रङ निलो हुन्छ । खप्तड स्वामीले विचार विज्ञानमा व्यक्तिको स्वास्थ्यसमेत विचारले निर्धारण गर्ने बताउनुभएको छ । विचारको प्रवाह भइरहँदा के कति नियन्त्रण गर्ने र के कसरी लक्ष्यसँग एकाकार गर्ने भन्ने विषय पनि मणिपुर चक्रसँगै सम्बन्ध राख्छन् । यसै सन्दर्भमा जीवन विज्ञानले जीवन निर्माणका लागि खास गरी पाँच वटा पक्ष रहने दाबी गरेको छ । पहिलो भनेको हाम्रो शरीरमा रहेको वा रहन सक्ने ऊर्जालाई जागृत गर्नका लागि ऊर्जा ध्यान गर्ने हो । दोस्रो भनेको ऊर्जा ध्यानको गहिराइमा पुगेपछि आफूले हासिल गर्न खोजेको लक्ष्यको रोजाइ । यस्तो रोजाइ गर्दा लक्ष्य प्राप्त भएको भावसमेत मनमा लिन आवश्यक छ । 

तेस्रो पक्ष भनेको आचरण हो । यसमा विचार, बोली र व्यवहारमा एकरूपताको अपेक्षा गरिन्छ । निरन्तर साधनाले यो पनि सम्भव हुन्छ । चौथो पक्ष भनेको एकाकार हो । लक्ष्य निर्धारणपश्चात् त्यसको प्राप्तिका लागि सबै खाले तयारी गरी कार्ययोजनासहित प्राप्त गर्नका लागि लागिपर्नु पर्छ र लक्ष्य हासिल भएको सुन्दर कल्पना पनि आवश्यक पर्छ । पाँचौँ तथा अन्तिम पक्ष भनेको पूर्णता हो । आफूले राखेको लक्ष्यको विषयमा स्वीकार, समर्पण र सेवा भाव राख्नु जीवनले पूर्णता पाउने आधार हो । आफ्नो लक्ष्यबाहेक अन्य कुरामा ध्यान दिनु वा समय खर्च गर्नु पाप हो । लक्ष्य प्राप्तिका लागि अरूसँग सञ्चारमा रहने र निरन्तर मेहनत गर्नु उत्तिकै आवश्यक छ । 

छैटौँ चक्र आज्ञा चक्र हो, जुन दुई आँखीभौँको ठिक बिचमा चार इन्चजति भित्र रहन्छ, जहाँ एउटा मासको गेडो जत्रै आकारको पिटुटरी ग्लान्ड रहने गर्छ । मस्तिष्कको एक महत्वपूर्ण भागका रूपमा सम्पूर्ण शरीरलाई प्रोग्रामिङ गर्ने काम आज्ञा चक्रले गर्छ । प्याजी रङ हुने यो चक्रलाई शिव लिङ्ग वा तेस्रो आँखा पनि भन्ने गरिन्छ । हामी ध्यान गर्ने समयमा जब आँखा बन्द गर्छौं तब यही चक्रमा ध्यान केन्द्रित गर्छौं । यसरी ध्यान केन्द्रित गर्दा भित्रभित्रै हजार सूर्य उदाउने सम्भावना रहन्छ भनिएको छ । मूलाधार चक्र र आज्ञा चक्र मिलेर एन्डर्फिन नामक हर्मन उत्पन्न गर्छ, जसले तनाव र पीडाबाट बाहिर आउन सहयोग गर्छ । 

आज्ञा चक्रको एक मात्र भोजन भनेकै ध्यान हो । राजयोगसमेत आज्ञा चक्रमा आधारित हुन्छ । आज्ञा चक्रको सम्बन्ध सङ्कल्प शक्ति सँग छ । आफूले मौखिक वा लिखित रूपमा नै गर्छु भनेका कतिपय काम हामी गरेका हुन्नौँ । हामीसँग एउटै मात्र साझा गुनासो मैले भनेको अरूले मानेन भन्ने हुन्छ । सोँचौँ त के हामीले भनेको कुरा आफैँले पालना गरेका छौँ त ? सङ्कल्प गर्न यसलाई पूरा गर्न एउटा दह्रो अभ्यास र स्वअनुशासन आवश्यक पर्छ । सङ्कल्प गर्ने विधिमा पाँच चरण छन् । पहिलो हो तीन पटकसम्म लामो र गहिरो श्वासप्रश्वास गर्ने । दोस्रो भनेको प्रार्थना हो, जसमा आँखा बन्द गरेर भगवान्, गुरु, पूर्वज, पितृ र मातापितासँग सङ्कल्प पूरा गर्न आशीर्वाद वा मद्दत मागिन्छ । तेस्रो चरण भनेको के विषयको सङ्कल्प गर्ने हो सोको मनमनै घोषणा पर्छ । श्वास फेरेर रोकेको बेला यस्तो सङ्कल्प लिनु उपयुक्त मानिन्छ । जस्तोसुकै विघ्नबाधा आए पनि आफ्नो सङ्कल्पमा अडिग रहन यो खालको साधना उपयोगी हुन्छ । चौथो भनेको आफूले लिएको सङ्कल्पलाई परिवारजन, सरोकारवाला, साथीहरूलाई जानकारी गराउने हो । पाँचौँ तथा अन्तिम चरण भनेको लिएको सङ्कल्पको कार्यान्वयन हो । सङ्कल्प भनेकै समयमा कार्यान्वयन भयो भने आत्मविश्वास बढ्न जान्छ । 

सातौँ तथा हाम्रो शरीरको अन्तिम चक्र सहस्रार चक्र हो । सहस्रार चक्रले अरू बाँकी छ वटै चक्रको मूल्याङ्कन गर्छ । यो चक्रको ऋषि ब्रह्मा वा बोध हो भने राक्षस अहङ्कार हो । हाम्रो शरीरमा भएका पञ्च इन्द्रियको सहायताले जानकारी प्राप्त गर्ने, काम गरेर अनुभव लिने, आफैँले भोगेर अनुभूति लिने सम्मका काम हुन्छन् भने इन्द्रियभन्दा परभित्रबाट जन्मेको ज्ञान हुन्छ, जसलाई हामी बोध भन्छौँ । यही बोधसँग सहस्रार चक्र सम्बन्धित छ । भनिन्छ कि ईश्वर साक्षात्कारको माध्यम सहस्रार चक्रको साधना हो । अस्तित्वमा रहेका दुई कार अर्थात् अहङ्कार र ॐकारमध्ये दुवै एकै पटक सम्भव छैन । निराकार हुनु, मोक्ष प्राप्ति हुनु भनेको हाम्रो शरीरमा रहेका चक्रभन्दा परको विषय हो । हाम्रो शरीरमा रहेका सात चक्रबाहेक पनि एक अर्को चक्र छ त्यो हो सुदर्शन चक्र जुन अन्तरिक्षमा हुन्छ । मोक्षप्राप्तिपछि हाम्रा सबै चक्र यही सुदर्शन चक्रमा समाहित हुने बताइएको छ । 

निष्कर्ष

स्विजरल्यान्डमा तनाव बढी देखिएका कर्मचारीको तलब घट्ने र तनाव कम भएमा बढी हुने गरी तलब नीति लागु गरेको जानकारी प्राप्त भएको छ । हामीकहाँ समेत सामाजिक जटिलता बढ्दै गएको र काम तथा जीवनको उचित सन्तुलनको विषयले ध्यान आकृष्ट गर्न थालेको छ । 

जीवन विज्ञान जीवनलाई ऊर्जाशील र सिर्जनात्मक बनाउन व्यावहारिक प्रयोगको नेपाली माटोमै हुर्केको संस्थागत विधा हो । जीवन विज्ञानले नयाँ वर्ष २०८२ वैशाख २ देखि ८ सम्म भरतपुरमा सञ्चालन गरेको चक्र विज्ञान नामक बृहत् साधना कार्यक्रममा यो लेख तयारकर्तासमेत सहभागी भएको थियो । स्थानीय तहबाट प्रतिनिधित्व गरी आउनुभएका पाँच सयजति सहभागीसहित झन्डै एक हजार तीन सयभन्दा बढी सहभागी थिए । समूहमा साधना गर्दा थप ऊर्जा प्रवाह भएजस्तो महसुस पनि भयो । योग, प्राणायम् र ध्यान सँगसँगै सुमधुर भजन कीर्तन र जीवन विज्ञान गीतमा नृत्य, प्रवचन, जीवन विज्ञानको नयाँ गीत रिलिज गरिनुका साथै आरोग्य पर्यटनको अवधारणापत्र र धादिङको थाक्रेमा बन्न लागेको जीवन विज्ञान धामको डिजाइन नक्सासमेत सार्वजनिक गरिएको थियो । उमेर समूह र मागमा आधारित कार्यक्रमलाई देशव्यापी बनाउन जीवन विज्ञानले योग शिविरहरू, नियमित प्रयोगशाला र प्रशिक्षण सञ्चालन गर्दै आएको छ । 

नेपालभर रहेका आयुर्वेद अस्पतालका साथै पतञ्जली योग, ओशो साधना र ब्रह्मकुमारी राजयोगलगायतका साधनाका माध्यमबाट नेपालमा हाल बढ्दो क्रममा रहेको मानसिक रोगलाई समेत सम्बोधन गर्न सकिने देखिन्छ । चक्र साधनाका साथै नियमित योग, प्राणायम् र ध्यानको माध्यमले व्यक्ति सजग, प्रेमिल र साहसी भएमा कार्यसम्पादनमा सुधार हुने निश्चित छ ।