• २३ जेठ २०८२, शुक्रबार

‘प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न जरुरी’

blog

वन तथा वातावरण मन्त्रालयले विश्व वातावरण दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री रुपा विक लगायत । तस्बिर गाेरखापत्र

काठमाडौँ, जेठ २२ गते । वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री रुपा विकले प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न जरुरी रहेको बताउनुभएको छ । 

वन तथा वातावरण मन्त्रालयले विश्व वातावरण दिवसको अवसरमा ‘प्लास्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

राज्यमन्त्री विकले भन्नुभयो, “प्लास्टिक प्रदूषण घटाउन ल्याइएको कार्यक्रम समय सान्दर्भिक छ । प्लास्टिक प्रदूषण विश्वमा नै गम्भीर चुनौतीको रूपमा देखा परेको छ । गाउँघरमा समेत प्लास्टिक प्रदूषण बढेकोले यसको न्यूनीकरणमा जुट्नुपर्ने छ ।”

उहाँले प्लास्टिक प्रदूषण न्यूनीकरणको जिम्मेवारी वन तथा वातावरण मन्त्रालयको मात्र नभएको र यो सबैको दायित्व रहेको बताउनुभयो । प्लास्टिक विस्थापनका लागि बास, काठ लगायतका सामानको उपयोगमा जोड दिनुपर्ने उहाँको भनाइ छ । 

मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले मानिसको दैनिक जनजीवनसँग जोडिएको प्लास्टिकसँग छुटकारा पाउन सजिलो नहुने बताउनुभयो । सचिव मिश्रले भन्नुभयो, “हाम्रो जीवनसँग प्लास्टिक कति जोडियो ? यसले छुटकारा पाउन सजिलो छैन जस्तो छ । तर, यसले प्रदूषणको रूप लियो ।”

प्लास्टिक आविष्कार भएदेखि हालसम्म एक सय १५ वर्षको यात्रा तय भएको भन्नुहुँदै उहाँले प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न नसकिए मानव जीवन नै जोखिममा पर्ने भनाइ समेत राख्नुभयो । 

वातावरण विभाग, त्रिविका प्रमुख प्राध्यापक डा. उद्धवराज खड्काले यो वातावरण प्रदूषणको विषयसँगै राजनीतिक र सामाजिक विषय पनि रहेको बताउनुभयो । उहाँले प्रदूषण न्यूनीकरणका लागि सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले वनका कुरा विकाससँग सम्बन्धित रहेको विषयलाई राम्रोसँग व्याख्या गर्न सक्नुपर्ने बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले  वातावरण संरक्षण र अर्थतन्त्र विकासको विषय सँगसँगै अघि लानुपर्ने बताउनुभयो । विकासका विषयलाई नकारात्मक दृष्टिकोणले मात्रै हेर्न नहुने उहाँको भनाइ छ ।