सिराहाको ऐतिहासिक धार्मिक स्थल सहलेस फूलबारी छेवैमा एक महामना दाताले दिएको १० धुर जमिनमा विश्व दलित इतिहासका एक अविस्मरणीय एवं प्रेरक व्यक्तित्व भारतीय संविधानका सर्जक डा. भीमराव अम्बेडकरको प्रतिमा स्थापनाका लागि मधेश प्रदेश सरकारले एक करोड रुपियाँको लागतमा निर्माण गर्न शिलान्यास गर्यो । सो ऐतिहासिक कार्यको मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंह, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत साक्ष्य बन्नुभयो तर शिलान्यास कार्यक्रम सम्पन्न हुनासाथ सहलेस फूलबारीमा किन अम्बेडकर भन्दै विरोधका आवाज उछालिए, मलिन स्वरमा केही समर्थनको कित्तामा पनि उभिए । आश्चर्य त के भने दलित समुदायका र सचेत मान्छेहरूले समेत सलहेसको छेउमा डा अम्बेडकरको प्रतिमा किमार्थ हुँदैन भन्दै र उहाँलाई विदेशी करार गर्दै विरोध गरेको देखियो । बुझ्नु पर्ने कुरा के छ भने विरोध गर्ने कैयौँलाई न त सलहेसप्रति कुनै सम्मान छ न अम्बेडकरप्रति । यसलाई उनीहरूले दलितमाझ फुट पैदा गर्ने अस्त्रसमेत बनाउन खोजेको देखियो ।
सङ्कुचित सोच भएका पूर्वाग्राही केही मानिसका लागि अम्बेडकर विदेशी होलान् तर धेरैका लागि उहाँ मानवतावादका एक जाज्वल्यमान व्यक्तित्व हुनुहुन्छ । जात, नस्ल, वर्णभेदका सिकार करोडौँ वञ्चित, प्रताडितहरूका लागि एक मुक्तिपथ हुनुहुन्छ । भारतीय उपमहादीपको महाकलङ्कका रूपमा रहेको मनुवादी जात व्यवस्थाको जाँतोमा हजारौँ वर्षदेखि पिसिन बाध्यहरूका एक मात्र आशाका पुञ्ज हुनुहुन्छ, मानवताका एक सच्चा पुजारी, लोकतन्त्रका पथप्रदर्शक हुनुहुन्छ उहाँ । यसर्थ, उहाँ विदेशी होइनन् । ६० लाख दलितका लागि त उहाँ सबैभन्दा आदरणीय प्रेरणा पुञ्ज हुनुहुन्छ, देवतुल्य मुक्तिदाता पनि । यसर्थ, सहलेस फूलबारीको छेवैमा डा. अम्बेडकरको मूर्ति स्थापना गर्नु जत्तिको अर्थपूर्ण अरू के हुन सक्छ । यो त सुनमा सुगन्ध थपिएको हो । दलित मात्रै होइन, सम्पूर्ण शोषित, अपहेलित एवं वञ्चितीकरणमा परेका सीमान्तकृतले त यो कार्यको मुक्त कण्ठले प्रशंसा गर्नु पो पर्ने हो । हामी किन विरोध गर्दै छौँ, हामीलाई विरोध गर्न कसले उक्साउँदै छ ? हामीमा यस कार्यको विरोध गर्नुपर्ने विचार कसरी पलायो ? यी प्रश्नहरूमा हामीले गम्भीर चिन्तन मनन गर्नु जरुरी छ ।
नेपालको छुट्टै दलित इतिहास छ, थुप्रै दलित सहिद पनि छन । सलहेसलगायतका दलितका धार्मिक ऐतिहासिक स्थल छन् । यिनको कुनै संरक्षण छैन । भारतमा जन्मिएका र भारतीय संविधानका (सन् १९४७) प्रणेता अम्बेडकरको सालिक नेपालमा किन बनाउनु पर्यो भन्ने तर्क सुन्दा कुरा ठिकै हो जस्तो पनि लाग्छ तर हामी के बिर्सिन्छौँ भने केही दशक अघिसम्म नेपालका दलितलाई ठुला जातकाले मार्दासमेत खतबात लाग्दैन थियो । हाम्रो जीवनको कुनै मूल्य थिएन । हामीलाई सम्पत्ति राख्ने हक थिएन । राखे दण्डनीय अपराध हुन जान्थ्यो । हामीले पढ्नु महाअपराध मानिन्थ्यो । किनकि पढेलेखे, जान्ने बुझ्ने भए मनुवादी वर्ण व्यवस्थाको भेद खुल्थ्यो । दलित समुदायले चुकाएको मूल्य, सहेको दलन, सकस, प्रताडन बेहिसाब थियो, छ र अझै रहने निश्चित छ ।
विसं १९१० को मुलुकी ऐनको धङ्धङी अझै नेपालको कानुनी प्रणालीमा विद्यमान छ । प्रहरी, प्रशासन अझै पनि दलित विरोधी छन । सामाजिक प्रणालीमा छुवाछुत, उचनिचको भाव उत्तिकै जिउँदो छ । यस्तो अवस्थामा जात व्यवस्थाका कट्टर आलोचक एक दलित महामानव कतिपयका लागि पाच्य हुने कुरै भएन । विरोध गर्ने दलितले भने कुरा नबुझेकाले विरोध गरेका हुन् । दोस्रो कुरा केहीको नजरमा दुसाध जातिको धार्मिक लोकनायक सलहेशको आफ्नै मौलिक इतिहास छ, उनको ठाउँमा अम्बेडकर पार्क किन ? अन्य ठाउँमा स्थापना गरे पनि हुन्थ्यो भन्ने पार्न खोजिएको छ । यो दलितभित्रै लडाउने, भिडाउने, फुटाउने र राजनीतिक रोटी सेक्ने काम हो । त्यो पनि थोरै जमिनमा जस्ता तर्क दिएर नकारात्मक हुन उक्साउन खोजिएको छ । धेरै र अझ राम्रो स्थानमा दलित आन्दोलनका अभिप्रेरणा बाबा साहेब अम्बेडकरको प्रतिमा राखी बगैँचा किन नबनाएको र किन यही बनाउनु परेको भनी भ्रम सिर्जना गर्ने प्रयास गरिएको छ ।
यो देशमा १३ प्रतिशत दलित छन् । मधेश प्रदेशमा दलितको सङ्ख्या अझ धेरै छ । यहाँ १८ प्रतिशतभन्दा बढी जनसङ्ख्या दलितको छ । दलितको यो सङ्ख्या अहिलेका सत्तासीन राजनीतिक दल र शासक वर्गको लागि आकर्षक भोट हो तर पनि दलित नेतृत्व र समुदाय पाइला, पाइलामा चुक्दा उनीहरू उपल्ला जातका शासकका गोटीमै सीमित हुन पुगेका छन् । दलितका सम्पदाको संरक्षण उनीहरूको प्राथमिकतामा होइन, हेलाको विषय बन्दै आएको यथार्थ हामीसामु छ । सहलेस माथि अम्बेडकर थपिँदा त्यो उच्च जातका शासकका लागि बिझ्ने कुरा हुने नै भयो । सहलेसको अस्तित्व मेट्न अम्बेडकर ल्याइयो भने पार्न सकिन्छ, दलितबिच फुटको राम्रै बीजारोपण हुने पनि केहीलाई लागेको छ । दलित समुदायले सहलेस र अम्बेडकर दुवै हाम्रा लागि उत्तिकै ग्राह्य, उत्तिकै सम्माननीय हुन् । त्यसमाथि अम्बेडकर त हाम्रा लागि मुक्तिपथका एक जाज्वल्यमान दीपक जो हुन् ।
अम्बेडकर पार्क अहिले जुन ठाउँमा बन्दै छ, त्यो ठाउँको हिसाबले सानो भएकाले पनि केहीलाई चित्त नबुझेको हुन सक्छ, जुन जायज कुरा हो तर ठुलो ठाउँका लागि पहल नभएको भने होइन । हामीलाई ठुलो र राम्रो स्थान कसले उपलब्ध गराइदिन्छ ? नेपाली दलित समुदायको अवस्था त्यसमा पनि मधेशी दलितको अवस्था आमरूपमा सोचेभन्दा फरक र दयनीय छ । यहाँ अझै पनि दलित अनागरिककै पशुतुल्य जीवन बाँच्न विवश छन् । भूमिहीन सुकुम्बासी तथा बेरोजगारीको अवस्था उस्तै विकराल छ । अझै पनि यहाँका दलित र दलित बस्तीहरू सामाजिक विभेदको हिसाबले बस्तीको छेउकुनामै सीमित छन् । खोलानालालगायत सार्वजनिक जग्गामै कैद छन् । जनताआवास र सुरक्षित आवास आदिका नाममा चलेको राज्यको राजनीतिक व्यापार पनि त्यतै दृष्टिगोचर हुन्छ । हो, अम्बेडकर पार्क निर्माणका लागि जुनस्तरबाट पहल र चिन्तन हुनुपथ्र्याे, त्यसको विमर्शमा निकै कमी देखिन्छ । तसर्थ यो पार्क निर्माणको अभियान पनि जातीय विभेदको मनोविज्ञानबाट ग्रसित हुन पुगेको छ । तथाकथित शासक समुदाय वा विरादरीको कुनै व्यक्ति सालिक भइदिएको भए यस्तो पक्कै हुने थिएन तर यो प¥यो उनीहरूको नजरमा अछुत दलितको सालिक । त्यसैले यसलाई अतिरन्जित गर्ने काम भएको छ ।
डा. अम्बेडकर जन्मदा हिन्दु सनातनी घरकै हुनुहुन्थ्यो । पछि आफ्नो जातीय र धार्मिक सामाजिक विभेदविरोधी सङ्घर्षको क्रममा विद्रोह गरेर बौद्ध विचारलाई अनुसरण गर्नुभयो । त्यो पनि दलित विपन्न समाजमाथि हिन्दु सनातन संस्कृतिले गरेको विभेदबाट आजित भएर । कैयौँलाई नेपालका दलितले पनि कतै यस मामिलामा अम्बेडकरकै सिको गर्ने हुन कि भन्ने भय पनि छ । दलित समुदायमाथि केही कथित हिन्दु अतिवादीहरू योजनाबद्ध ढङ्गले दलित समुदायलाई विभेदको सिकार बनाउने गरी दलित विरोधी गतिविधिमा सामेल छन् । यसले दलित हिन्दुत्वलाई समेत उनीहरूको विभेदकारी गतिविधिले हिन्दु परित्याग गर्न प्रेरित गरिरहेको छ । धर्मका नाममा विभेदलाई जोगाउने कार्य किमार्थ उचित होइन । यस्ता कुसंस्कार र संस्कृतिलाई भत्काउँदा मात्रै धर्म जोगिन्छ । धर्म अधर्म होइन, धर्म जस्तै देखिने छ ।
भारतसँग नेपाल र नेपाली जनताको सम्बन्ध त्यसमा पनि मधेशी जनताको सम्बन्ध सामाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक, सांस्कृतिक तथा भौगोलिक रूपमा समेत अर्गानिक किसिमको छ । बेटीरोटीको सम्बन्धको रूपमा हरेक वर्ष राम सीता विवाह सम्बन्धलाई विवाहपञ्चमीको रूपमा मनाइन्छ । यो सम्बन्ध र इतिहासलाई जीवित राख्न दुवै देशले हरेक वर्ष ठुलो धनराशि खर्च गर्छन् । केही अगाडि धार्मिक सांस्कृतिक प्रगाढताका लागि नेपालले देवशिला दानको रूपमा भारत सरकारलाई दिएको थियो । त्यो शिला अयोध्यामा पुगेको छ । नेपाललगायत धेरै देशमा गान्धी, मन्डेला, माओ, लेनिन, माक्र्स, राम, सीता, लक्ष्मण, जनकलगायतका सालिक र प्रतिमाहरू छन् । के उनीहरूमाथि यस्ता प्रश्न छन् ? कुरा त्यति मात्र छैन, सन् १९५६ मा अम्बेडकर कानुन मन्त्रीका रूपमा नेपाल आउनुभएको थियो । तत्कालीन राजा महेन्द्र उहाँको भाषणबाट प्रभावित भएर नेपालमा जातीय छुवाछुत कम गर्नेतर्फ अभिप्रेरित भएका थिए ।
विभूति कुनै निश्चित ठाउँ र देशको हुँदैन । त्यो संसारको सम्पत्ति र विचार हो । डा. अम्बेडकर त मानवजातिका लागि नै उदाहरणीय व्यक्ति हुन्, विश्व विचार हुन् । उहाँको विचार, दृष्टि र व्यक्तित्वलाई भारतले मात्र पुज्दैन, संसारले नै पुज्छ । उनी भारतीय संविधानका प्रणेता मात्रमा सीमित छैनन् भन्ने इतिहासको हेक्का राख्न जरुरी छ । अमेरिका, जापान, श्रीलङ्का, बेलायत, अस्ट्रेलिया, क्यानडालगायत संसारका धेरै देशमा उहाँको सालिक, पार्क र प्रतिमाहरू स्थापित छन् । धेरै विश्वविद्यालयमा अम्बेडकरको बारेमा पढाइ हुन्छ । लन्डनको म्युजियममा कार्ल माक्र्सको सालिकसँगै अम्बेडकरको सालिक पनि छ । कोलम्बिया विश्वविद्यालयले सन् २००४ मा विश्वभरिका एक सय एक विद्वान्को नाम सूचीकृत गरेकामा अम्बेडकरलाई पहिलो नम्बरमा राखेको छ । यतिसम्म कि उहाँलाई संसारका विभिन्न धर्मावलम्बीले देउताको रूपमा समेत पुज्छन् । नेपालकै केही महान् व्यक्ति गौतम बुद्ध, अरनिको, भानुभक्त आचार्यलाई, बिपी र धार्मिक रूपमा पशुपतिनाथ, सिद्धगणेशलगायतलाई भारत, थाइल्यान्ड, श्रीलङ्का, जापान, चीन, भियतनाम, म्यानमार, कम्बोडिया, लाओस, दक्षिण कोरिया, अमेरिका, बेलायत, फ्रान्स, अस्ट्रेलिया जर्मनी आदि थुप्रै मुलुकमा पुज्छन् । उनीहरूको सालिक, प्रतिमा, पार्कहरू छन् । के माथि उल्लेखित देश र त्यहाँका नागरिक नेपालीभन्दा चिन्तनमा कमजोर भएर त्यसो भएको हो ? यसर्थ सिराहाको एउटा ऐतिहासिक सलहेसफूलबारी छेउमा अम्बेडकर पार्क निर्माण गर्नुले सहलेस इतिहासमाथि प्रहार वा कमजोर पार्ने काम भएको मान्न सकिँदैन । बरु यसले सहलेस इतिहासलाई जसरी सिंहदरबार र मधेशका नस्लवादी शासकहरूले आजसम्म दबाएर अछूतको रूपमा राखिएको छ यो कार्यले विश्वमा दलित सलहेसको इतिहासलाई झन स्थापित गर्ने छ । सहलेस इतिहास जोडिएका वरिपरिका चार स्थान पोखडीयागढ, मानिकदह, ढोडनालगायतको महत्व झन् बढ्छ । नजिकै सप्तरीसँग जोडिएको मुसहर समुदायका कुल देउता दिनाराम दिनाभद्री जस्ता दलित इतिहासमाथि सांसारिक चासो बढ्ने छ । यसबाट अध्ययन अनुसन्धान गर्ने एउटा ठुलो लहर संसारभर पैदा हुन सक्छ ।
आज अम्बेदकर पार्क बन्दै छ । नेपालमै त्यसमा पनि दलित इतिहास बोकेको सहलेस स्थलमा । सहलेस फूलबारीभन्दा अलग स्थापना गर्दाको महत्व र सँगै स्थापना गर्दाको महत्व पनि फरक हुन्थ्यो । यसलाई कुन दृष्टिले हेर्ने भन्ने कुरा पक्कै हो । ठाउँ साँघुरो भयो भन्ने कुरा बहसको विषय हुन सक्छ तर यो कार्य गलत भएको छैन । यसलाई झन् कसरी विश्वव्यापीकरण गर्न सकिन्छ बरु सबै त्यसतर्फ लागौँ । ठाउँ सानो भयो भनेर यसलाई कसरी ठुलो गर्न सकिन्छ बरु समय त्यतातिर लगाऔँ । नेपालका केन्द्रीकृत शासकहरूले मधेशी दलितलाई न्याय नदिएको अवस्थामा बरु यसले थोरै भए पनि विचार र व्यापकताको हिसाबले सांसारिक न्याय दिने छ । विश्व दलित इतिहासको एउटा ठुलो कडी नेपालबाट जोड्ने छ । यो ऐतिहासिक कार्यले थोरै भए पनि अहिलेको अवस्थामा दलित समुदायले न्याय र गर्वको सास फेर्ने छन् ।