महेन्द्रनगर (धनुषा), मङ्सिर २ गते । जनकपुरधाममा मधेश मानसको आयोजनामा भएको वैचारिक बहसमा २५ वर्षपछिको जनकपुरधामका बारेमा चर्चा भएको छ । जनकपुरधामको गङ्गासागर डिलमा भएको बहसअन्तर्गत पहिलो सत्रका वक्ताहरूले २५ वर्षपछिको जनकपुरधामबारे चर्चा गरेका थिए ।
कार्यक्रममा जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहले अबको २५ वर्षपछि जनकपुरधामलाई नयाँ रिङ्गरोडमा समेटेर जनकपुरधाम–अयोध्यासम्मको रेलसेवा, राजर्षि जनक विश्वविद्यालयको विस्तार, खानेपानी, पार्क र हराभरा वातावरणका लागि वृक्षारोपणलगायत विविध विषयको कल्पना गर्नुभएको छ ।
उपप्रमुख किशोरी साहले नगरलाई सफा, सुन्दर र हराभरा बनाउनुपर्ने भन्दै यहाँ धेरै सुधारका काम भएको र अझै गर्नुपर्ने धेरै भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । मधेस प्रदेशअन्तर्गत खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता साहले प्रदेशलाई सहयोग गर्ने विषयमा सङ्घीय सरकार बाधक रहेको भन्दै अझै पनि केन्द्रीकृत सोच हाबी रहेकाले चाहेको जस्तो विकास गर्न नसकिएको बताउनुभयो ।
कार्यक्रममा प्रा. डा. भोगेन्द्र झाले अतीत बिनाको योजना काम लाग्न नसक्ने भन्दै योजना बनाउँदा अतीतलाई नबिर्सन आग्रह गर्नुभयो । उहाँले जनकपुरधामको विकास गर्दा फराकिलो सोचका साथ दीर्घकालीन र मजबुत योजना बनाउनुपर्नेमा जोड दिनुभयो । यहाँ बनाइएका सडक तथा ढलहरू दीर्घकालीन रूपमा मजबुत नरहेको झाको भनाइ थियो । उहाँले शिक्षा बिना कुनै पनि योजना अधुरा हुने भन्दै शिक्षाका क्षेत्रमा दीर्घकालीन र प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
‘मधेशको निराशाभित्र लुकेको आशा’
दोस्रो सत्रका वक्ताहरूमध्ये पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादवले सङ्घीयता मधेशका लागि अपरिहार्य रहेको भन्दै यसको अर्को विकल्प नरहेको बताउनुभयो । उहाँले सङ्घीयता पक्ष शक्तिहरू विकास, निर्माणका पक्षमा भन्दा अन्य विवादमा फसेकाले समस्या देखिनुका साथै कतिपयमा असन्तुष्टि देखिएको धारणा राख्नुभयो ।
कार्यक्रममा मधेश मधेश आन्दोलनका अगुवा विभा ठाकुर र सरोजकुमार मिश्रले जनताले सपनामा देखेको सङ्घीयता र अहिलेको सङ्घीयता फरक रहेको बताउँदै विकासका लागि सङ्घीयता मात्रै विकल्प नभएको बताउनुभयो । उहाँहरूले मधेश आन्दोलनका अगुवा युवाहरूको अवस्था अहिले कमजोर बन्दै जाँदा पनि मधेश केन्द्रित दललाई कुनै प्रभाव नपरेको गुनासो राख्नुभयो । उहाँहरूले अहिले युवा पुस्तामा नै सङ्घीयताप्रतिको आकर्षण घट्दै गएको बताउनुभएको थियो । राजनीतिक विश्लेषक राकेश मिश्रले संविधान निर्माणका क्रममा सङ्घीयता पक्षधर केन्द्रित दलहरू कमजोर भएका बताउनुभयो ।
तेस्रो सत्रका एकल वक्ता विचारक सिके लालले छठपर्वको सामाजिक तथा सांस्कृतिक महिमाको बारेमा बयान गर्नुभएको थियो । छठपर्वमा प्रकृतिको पूजा, प्रयोग र पद्धतिका साथै छठले बसाएको सामाजिक सद्भाव, एकता, सहयोगलगायत विशेषताको विषयमा चर्चा गर्नुभयो । लालले छठले देखाएको एकताबाट वर्तमान राजनीतिक दलका नेताले पाठ सिकेर राजनीतिमा पनि सुधार गर्नुपर्ने सुझाव दिनुभयो ।
“परम्परागत छठले विभेदको अन्त्य गरिसक्दा पनि वर्तमान राजनीतिक दल र सरकारले किन गर्न सकिरहेको छैन ?”, उहाँले प्रश्न गर्नुभयो । छठपर्वमा पुरोहित वा मन्त्र पढ्ने कुनै पनि सहजकर्ता नरहेको भन्दै लालले यस पर्वमा बर्तालु र प्रकृति, सूर्य देवता र छठी मैयाँको बिचमा सिधा संवाद हुने बताउनुभयो । “छठमा मन्त्र हुँदैन”, उहाँले भन्नुभयो, “लोकगीत र जनहित हुने पर्व हो यो ।”
समाजमा ठुला र साना जातको वर्गीकरण रहेको अवस्थामा छठले सबैलाई एक ढिक्का पारेकाले यो पर्व वर्ण र लिङ्ग विमुक्त पर्व रहेको लालको भनाइ थियो । उहाँले भन्नुभयो, “पहिला आफूलाई ठुला जात भन्नेले छठ मान्दैनथे । पछि बग्दै गरेको नदीमा गर्न थाले र पानीको बहावअनुसार स्थान व्यवस्थापन गर्थे । पछि पोखरीमा पनि छठ हुन थालेपछि विभेद आफैँ समाप्त भयो र छठ पर्वका रूपमा मनाउन थालियो ।”
तिनै सत्रको सहजीकरण मधेस मानसका अगुवा मनोज साह, नवीन झा र अनुज मिश्रले गर्नुभएको थियो । रासस