• ११ मंसिर २०८१, मङ्गलबार

ध्वनि प्रदूषणको जोखिम

blog

पृथ्वीमा बढ्दो तापक्रम, प्राकृतिक सम्पदाहरूको क्रुर दोहन, जीवनशैलीमा आएको बढ्दो सुविधाभोगी प्रवृत्तिले मानिसलाई अनेक समस्याको चपेटामा पारेको छ । वातावरणमा उत्पन्न प्रतिकूल अवस्था र मानिस आफैँले सिर्जना गरेका, उपभोग गरेका भौतिक सामग्रीका कारण तत्कालका लागि केही सुविधा देखिए पनि कालान्तरमा यसले अनेक जटिल समस्या निम्त्याइरहेको पत्तो पाउन सकेका छैनन् । हामी सुखको नाममा प्रदूषण बढाएर भावी सन्ततिलाई दुःखको खाडलमा हालिरहेका छौँ । प्रदूषणको कुरा गर्दा हावापानीलाई बढी जोड दिने गरिएको छ र प्रदूषण भनेको सडकको धुलो, धुवाँ वा पानीमा हुने फोहोर आदिलाई लिइन्छ तर विश्वमा आजभोलि हरेक क्षेत्र प्रदूषित बनिरहेको छ र यसले मानव स्वास्थ्यलाई मात्र होइन, आर्थिक, सामाजिक जीवनमै असर गरिरहेको छ । हावा, पानी, ध्वनि, दृश्यलगायतका प्रदूषणका कारण मानिसको मानसिकतासमेत प्रदूषित हुँदै गएको छ । जलवायु परिवर्तनका कारण मानिसलगायत जीवजन्तुमा हिंसाभाव बढेको विभिन्न अध्ययनले देखाइरहेको छ ।

संसारमा एउटा गम्भीर समस्याका रूपमा रहेको छ– ध्वनि प्रदूषण । यसमा सवारीसाधनको इन्जिनको आवाज र हर्न सबभन्दा डरलाग्दो हुन्छ । यसैलाई लिएर अमेरिकी पूर्वजनरल सर्जन डा. विलियम एच स्विवर्टले भनेका छन् कि “ठुलो आवाज एउटा यस्तो असर हो; जसले हरेक ठाउँका मानिसको स्वास्थ्यलाई जोखिममा पारिरहेको छ ।” त्यसै भएर गाडी निर्माताहरूले निश्चित मापदण्डमा आवाज र हर्न मिलाएका हुन्छन् । 

काठमाडौँ उपत्यकालगायत ठुला सहरहरूमा हर्न निषेध गर्नुको प्रमुख कारण यही हो । त्यस्तै दशकौँअघिदेखि विद्यालय तथा अस्पताल, स्वास्थ्य संस्थाका वरिपरि हर्न निषेध गरिनुको कारण यही हो । आजभोलि ट्राफिक प्रहरीले गाडी तथा मोटरसाइकललाई ‘मोडिफाई’ गरी आवाज ठुलो आउने नबनाएकाहरूलाई कारबाही गरिरहेको छ । यो सहरी सभ्यतासँगै मानव स्वास्थ्यको दीर्घकालीन असरलाई ध्यानमा राखेर गरिएको हो । किनभने सवारीसाधनको उच्च आवाजले मानिसमा रक्तचाप बढाउनेदेखि लिएर तनाव र माइग्रेन टाउको दुखाइका साथै प्रजनन क्षमता र गर्भको शिशुमा समेत असर पु¥याउने वैज्ञानिक पुष्टि भइसकेको छ ।

मानिसका श्रवण क्षमता सामान्यतः ० देखि २५ डेसिबल (डिबी) को बिचमा हुन्छ । औसतमा सडकमा आउने आवाज ८५ डिबी हुन्छ, जो निकै खतरनाक मानिएको छ । यो चरम ध्वनि प्रदूषण हो र यसले गर्दा समाजमा कैयौँ स्वास्थ्य समस्या र प्रभाव परिरहेको छ । आवाज (स्वर, ध्वनि) कुनै कर्णप्रिय लाग्दछन् भने कुनै कर्णकटु । कर्णप्रिय आवाजका रूपमा गीत/सङ्गीतलाई लिइन्छ तर त्यो पनि चाहिने र मानिसको श्रवण गर्ने क्षमताभन्दा बढी आवाजको भयो भने त्यो कर्णकटु हुन्छ । यस्तैमा पर्दछ– मोबाइल फोनको प्रयोग । हामी धेरैले स्मार्ट फोन बोक्ने गर्छौं, त्यसमा हेडसेट लगाएर गीत सुन्छौँ । आवाजको मात्रा बढाउन खोज्दा मोबाइलले नै “योभन्दा ठुलो आवाजमा सुनेमा स्वास्थ्यमा असर गर्छ” भन्ने सन्देश पनि देखेकै छौँ । 

वायु प्रदूषणले आँखा, श्वासप्रश्वासको रोग बढाइरहेको छ । जल प्रदूषणले त तत्काल ज्यान लिनेसम्मका घटना बढाइरहेका छन् भने ध्वनि प्रदूषणले मानिसको हृदय र मस्तिष्कमा प्रत्यक्ष असर पु¥याइरहेको छ । अनुसन्धानकर्ताहरूले सवारीसाधनले उत्पन्न गर्ने ध्वनि प्रदूषण नै तनावको प्रमुख कारण रहेको र यसमा पनि ‘हर्न’ सबभन्दा खतरनाक मानेका छन् । चर्को आवाजले मानिसमा उत्पन्न गर्ने तनावका कारण हृदयको गतिमा परिवर्तन, उच्च रक्तचाप, रक्त कोलेस्ट्रोलको वृद्धि, पाचन शक्तिमा ह्रास हुनसक्छ । अर्कातिर निरन्तर चर्को आवाजमा बस्नेहरूमा उच्च रक्तचापका साथै आक्रामक मनस्थितिमा समेत पु¥याइदिन सक्छ । त्यसैले ध्वनि प्रदूषणलाई हृदयरोगको कारण पनि मानिएको छ । 

एक दशकअघि युटेक्ट विश्वविद्यालय नेदरल्यान्ड्समा गरिएको अध्ययन अनुसार “ध्वनि प्रदूषणबाट उत्पन्न अनियन्त्रित तनावले व्यापक रूपमा ‘कोर्टिसोल’ उत्पादन गर्दछ, जो प्रतिरक्षा प्रणालीमा दबाब सिर्जना गरी लामो समयसम्म हानिकारक प्रभाव पार्न सक्छ । ध्वनि प्रदूषण एड्स तथा क्यान्सर जस्ता रोगका बिरामीका लागि अरू बढी खतरनाक हुन्छ भने जन्मदोष अर्को खतरा हो । ध्वनि प्रदूषणको असर नवजात शिशुमा अरू बढी पर्न सक्छ ।”

सन् १९७० मा अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले गरेको एक अध्ययन अनुसार “गर्भावस्थामा अत्यधिक आवाजको सम्पर्कमा रहँदा नवजात शिशुमा उच्च आवृत्ति (फ्रिक्वेन्सी) सुन्ने क्षमतामा कमी हुनसक्छ । यसको कारणमा गर्भावस्थामा उच्च आवाज वा अचानकको आवाज रहेको पाइएको छ, जसले हृदयको गति बढाउँछ । यसले शिशुको विकाससम्बन्धी समस्या पनि उत्पन्न गर्न सक्छ, जो अपरिवर्तनीय हुन्छ, जुन गर्भधारणको पहिलो १४ देखि ६० दिनभित्र हुन्छ । यो त्यतिबेला हुन्छ, जतिबेला गर्भावस्थामा शिशुको इन्द्रिय र अन्य अङ्गहरूको विकास भइरहेको हुन्छ । यो समयमा जन्मदोष तथा जन्मभार पनि उत्पन्न हुनसक्छ ।”

अर्को तथ्य के पनि पत्ता लागेको छ भने “ध्वनि प्रदूषणका कारण गर्भमा रहेका शिशुको पोषक तìव र अक्सिजन पु¥याउने गर्भाशयका रक्तनलीहरूलाई साँघुरो बनाउन सक्छ । यी कुराबाट वञ्चित शिशुको जन्म जटिल बन्न सक्दछ ।” ध्वनि प्रदूषण भनेको चाहिनेभन्दा बढी मात्राको आवाज हो । यसमा सवारीसाधनकै मात्र चर्चा किन बढी भन्ने उत्सुकता हुनु स्वाभाविक हो । सङ्गीतको चर्को आवाज किन प्रदूषण मानिँदैन भन्न नसकिने हैन तर सङ्गीतको चर्को आवाजबाट उत्पन्न हुने असर अस्थायी हुन्छ । अनुसन्धाताले पत्ता लगाए अनुसार “राँक कन्सर्ट, बन्दुकको आवाज, ठुलो आवाजको विस्फोटलाई पनि प्रदूषण मन्न त सकिन्छ तर यसको असर अस्थायी हुन्छ तर यसो भन्दैमा लामो समयसम्म यसैको निकट रहनु भने हानिकारक नै हुन्छ । 

यति गम्भीर समस्याको कारक बनेको ध्वनि प्रदूषण नियन्त्रणका लागि हर्न निषेध, गाडीको आवाज र प्रदूषण जाँच तथा निश्चित मापदण्ड तय गरिएको छ । यी नियमहरू काठमाडौँलगायत विश्वका ठुला सहरहरूमा लागु भएको छ र कडाइका साथ पालना पनि गरिएको छ । यति गर्दा पनि ती सहरहरूको ध्वनि प्रदूषणको मात्रा मानिसको श्रवण क्षमताभन्दा कता हो कता बढी छ । ध्वनि प्रदूषणको असर मानिसको सक्रिय जीवनदेखि गर्भको शिशुसम्मलाई पर्ने गम्भीर प्रकृतिका नकारात्मक असरहरूबारे व्यापक चेतना जागृत गराउनु पर्दछ । 

  

Author

यादव देवकोटा