• ४ जेठ २०८१, शुक्रबार

तिहारका लागि डेढ अर्ब बराबरको भाइमसला आयात

blog

बजारमा बेच्न राखिएको भाईमसला । तस्बिर : सागर बस्नेत

काठमाडौं, कात्तिक २८ गते । भाइपूजामा प्रयोग हुने भाइ मसला डेढ अर्ब मूल्य बराबरको आयात भएको छ । भाइपूजामा दिदीबहिनीले दाजुभाइलाई सगुनका रुपमा भाइमसला दिने प्रचलन छ ।

दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई (नरिवल, काजु, बदाम, ओखर, किसमिस, पिस्ता) लगायतका भाइमसला दिने प्रचलन रहेको छ ।

चालू आर्थिक वर्षमा भाइमसला आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गतवर्षको तुलनमा यस आर्थिक वर्षको तीन महिनामा भाइमसला आयात ३४ करोडले बढि भएको छ ।


गत आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा भाइमसलाको आयात एक अर्ब १५ करोड छ लाख ५७ हजारको भाइमसला आयात भएको थियो भने चालू आर्थिक वर्षको सोही समयमा एक अर्ब ५० करोड ३४ लाख ७१ हजारको भाइमसला आयात भएको छ ।

३१ करोडको नरिवल अयात
भाइमसलाको रुपमा प्रयोग हुने नरिवल चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३१ करोड बराबरको आयात भएको छ । गत आर्थिक वर्षको सोही समयमा नरिवल १९ करोड बराबरको आयात भएको थियो ।

७६ करोडको ओखर आयात
भाइमसलाको रुपमा प्रयोग हुने ओखर ७६ करोड बराबरको आयात भएको छ । गतर्षको पहिलो दुई महिनामा २५ करोडको आयत भएकोमा यस वर्षको पहिलो तीन महिनामा बढेर ७६ करोडको आयात भएको हो ।

काजुको आयात घट्यो
गतवर्षको तुलनामा यस वर्ष काजुको आयात घटेको छ । गतवर्ष ३० करोडको काजु आयात भएकोमा यसवर्ष १३ करोड बराबरको मात्र काजु आयात भएको तथ्याङ्क छ ।


छोकडाको आयात केही बढ्यो
गतवर्ष थोरै मात्रामा भएको छोकडाको आयात यस आर्थिक वर्षमा केही बढेको छ । गतवर्षको पहिलो तीन महिनामा छ हजारको मात्र भएको छोकडाको आयात यस आर्थिक वर्षमा दुई लाख बराबरको आयात भएको छ ।

१९ करोडको बदाम आयात बढ्यो
भाइमसलाको रुपमा प्रयोग हुने बदामको आयात केही बढेको छ । गत आर्थिक वर्षको सुरुको तीन महिनामा १४ करोड बराबरको बदाम आयात भएको थियो । चालू आर्थिक वर्षको सुरुको तीन महिनामा १९ करोड बराबरको बदाम आयात भएको छ ।

नौ करोडको किसमिस आयात
भाइमसलाको रुपमा प्रयोग हुने किसमिस नौ करोड बराबरको आयात भएको छ । गत आर्थिक वर्षका सुरुको तीन महिनामा किसमिस छ करोड बराबरको आयात भएको थियो ।

पिस्ता आयात घट्यो
भाइमसलाको रुपमा प्रयोग हुने पिस्ताको आयात घटेको छ । चालू आर्थिक वर्षको सुरुको तीन महिनामा पाँच लाख बराबरको पिस्ता आयात भएको छ । गत वर्षको सोही समयमा ८९ लाख बराबरबमे पिस्ता आयात भएको थियो ।


सुपारी आयात नै भएन
सुपारीमा आयात प्रतिबन्ध लगाएकाले यसपालि सुपारी आयात भएको छैन । तिहारमा भाइमसलाको रुपमा प्रयोग हुने सुपारीको आयात भएको छैन ।

भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काका अनुसार सुपारी आयातमा अहिले कोटा प्रणालीमा मात्र आयात भएकाले अहिले बजारमा सुपारी पाउन समस्या भएको छ ।

उहाँले भन्नुभयो, “अहिले सुपारीमा कोटा प्रणाली लागू भएकाले सुपारी आयात भएको छैन । मन्त्रालयस्तरीय निर्णय भएपछि मात्र धेरै आयात हुन्छ ।”

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।