• ६ जेठ २०८१, आइतबार

सरकार समाजवाद उन्मुख दिशामा अघि बढ्यो : प्रधानमन्त्री प्रचण्ड

blog

कीर्तिपुरका जनतासँग साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

कीर्तिपुर, कात्तिक २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार समाजवाद उन्मुख दिशामा अघि बढिरहेको बताउनुभएको छ ।

शनिबार कीर्तिपुरका जनतासँग साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार संविधान, लोकतन्त्रको रक्षा गर्दै समाजवाद उन्मुख दिशामा अघि बढिरहेको बताउनुभयो ।


उहाँले भन्नुभयो, “सरकार संविधान, लोकतन्त्रको रक्षा गर्दै समाजवाद उन्मुख दिशामा अघि बढिरहेको छ । यसको विरुद्ध भइहरेको देश–विदेशी चलखेललाई परास्त गर्दै समाजलाई उन्मुख बनाउने अभिभारा सरकारले लिएको छ । यसलाई सफल पार्छौँ ।”

सरकार कति समय टिक्छ भन्ने कुराभन्दा पनि सरकारमा रहेर जनताका लागि के राम्रो काम गर्न सकियो भन्ने कुरा आफ्नो पहिलो प्राथमिकता रहेको उहाँको भनाइ छ  ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सरकार कति समय टिक्छ भन्ने सोचाई मेरो छैन, सरकारमा रहँदा जनताको पक्षमा के राम्रो काम गर्न सकियो भन्ने कुरालाई प्राथमिकतामा राखेको छु । ”

पछिल्लो समय भएका विदेश भ्रमणका क्रममा नेपालको हितमा थुप्रै सम्झौताहरू भएका उहाँको भनाइ छ । सरकार नेपाली जनताको आर्थिक विकासको पक्षमा समेत रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

तराईमा व्याप्त देखिएको मिटरब्याजका समस्या पनि उच्चस्तरीय आयोग गठन गरेर समाधान गरिरहेकाले अहिले किसानहरूले मुक्तिको सास फेर्न पाएको उहाँले बताउनुभयो । देशमा देखिएको आर्थिक समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको उहाँको तर्क छ ।


उहाँले भन्नुभयो ,“सकार अर्थतन्त्रको समाधान गर्न सरकार लागिपरेको छ । वित्तीय र मौद्रिक नीतिको माध्यमबाट अर्थतन्त्र सुधार गरेका छौँ । जग्गा कित्ताकाट फुकुवा गरेका छौँ, धेरै पर्यटकहरू नेपाल आएका छन् , राजस्व वृद्धि हुँदै गएको छ, विदेशी मुद्रा सञ्चिति बढ्दो छ  । यसलाई अर्थतन्त्रमा देखिएको सफलता मान्नुपर्छ ।”

कीर्तिपुर भित्रका प्रतिनिधिमूलक रूपमा १० जनाले राखेको घरजग्गा सम्बन्धी समस्या, बाटो, व्यापार, अस्पताल, सुख्खा बन्दरगाह व्यवस्थापन सम्बन्धमा राखेको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले केही विषयमा सरकार लागिरहेको र केही विषयमा कार्यदल गठन गरेर समस्या समाधान गरिने बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सरकार सामाजिक न्याय र समानता कायम गर्न प्रयत्नशील रहेको बताउनुभयो ।

राजधानीमै रहेर पनि धेरै कुराको अभाव झेलिरहेको कीर्तिपुरको विकासमा सरकार जानकार रहेको उहाँको तर्क थियो । कीर्तिपुरवासीका समस्याहरूमा सरकार कीर्तिपुरवासीसँग हातमा हात मिलाएर हिँड्न तयार रहेको समेत उहाँले बताउनुभयो ।


Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।