काठमाडौँ, कात्तिक २३ गते । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भई हाल काठमाडौँमा बस्ने ३६ वर्षीय मनोज ‘मानव’ भन्ने मनोजकुमार महतो रहेका छन् ।
प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार सामाजिक सञ्जालमा तस्बिर तथा श्रव्यदृश्यको दुरुपयोग गरी चरित्रहत्या गर्ने उद्देश्यले क्याप्सन लेखी टिकटक र फेसबुकमा प्रकाशन तथा प्रसारण गरेको पीडित महिलाको निवेदनमाथि प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणपछि महतोलाई पक्राउ गरिएको जनाइएको छ । महतोलाई सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस